रंगहीन रंगशाला

रंगहीन रंगशाला
सुन्नुहोस्

चितवनमा थालिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरासर बनेको भए आईसीसी मेन्स क्रिकेट वल्र्डकप लिग–टु त्यहीं हुन सक्थ्यो।

दुःखम्सुखम् कीर्तिपुरमा आयोजित प्रतियोगिता नेपाली खेलाडीले सानदार उपलब्धि हासिल गरिदिए। एकदिवसीय विश्वकपको छनोट चरणमा नेपालले प्रवेश पाउनु ठूलो उपलब्धि हो। रूखमा चरा झैं टाँसिएर दर्शकले खेल हेरे।

त्यो दृश्य देख्ने सामान्यजनमात्रै होइन देशकै बागडोर सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहालसमेत थिए। तर प्रधानमन्त्री दाहालको मात्रै होइन, यसअघिका उनका थुप्रै पूर्ववर्तीले खेल, खेलाडी र खेल पूर्वाधारलाई फुटेको आँखाले पनि हेर्ने प्रयास गरेका छैनन्। त्यसैले नै देशमा खेल पूर्वाधारको सबैभन्दा महत्वपूर्ण थलो रंगशालाहरू नै बन्न सकेका छैनन्। प्रधानमन्त्री दाहालकै गृहजिल्ला चितवनमै छ, सबैभन्दा कन्तबिजोग अवस्थामा निर्माणाधीन क्रिकेट रंगशाला।

कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेले धुर्मुस–सुन्तली फाउन्डेसनमार्फत चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण थालेका थिए। ऋण लागेको भन्दै फाउन्डेसनले हात उठाएपछि डेढ वर्षयता निर्माण ठप्प छ। ठडिइसकेका पिल्लरका रडमा खिया लागेको छ। मैदानभरि झाडी मौलाएको छ। फाउन्डेसनकै भनाइमा ५८ करोड रुपैयाँ खर्च भइसकेको रंगशालालाई साढे १८ करोड रुपैयाँ त ऋणै लागेको छ। 

ऋण लागेको निर्माणाधीन रंगशालाको रंग उडेको छ। रंगशाला रंगहीन भएको छ। ऋणको दायित्व प्रस्ट नहुँदा र फाउन्डेसन आफैंले तिर्न नसक्दा रंगशालाको स्वामित्व सरकारी निकायले लिन पन्छिएका छन्। चितवनमा मात्रै होइन २०६० सालमै सुरु भएर पनि काठमाडौंको मूलपानीमा क्रिकेट रंगशाला अझै बन्न सकेको छैन। रूपन्देहीमा पनि अलपत्रै छन् निर्माणाधीन क्रिकेट रंगशाला। पोखरामा गण्डकी प्रदेश सरकारले भनेको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण अघि बढ्न सकेको छैन। घरेलु क्रिकेटको विकास र प्रवर्द्धन लाग्नुपर्ने क्रिकेट संघ सधैंजसो विवाद र झमेलाको चक्रव्यूहमा हुन्छ। त्यसैले त अन्तर्राष्ट्रिय प्रतिबन्धमा पनि पर्छ।

राजनीतिक दलहरूलाई खेलकुदको विकास सोच्ने फुर्सदै देखिन्न, सत्ताकै खेलकुदमा उछलकुद गर्दैमा उनीहरू व्यस्त छन्। खासमा खेल पूर्वाधार र खेलाडीको सर्वाङ्र्गीण विकासमा राज्यले पटक्कै ध्यान नदिनुको परिणाम नै खेल पूर्वाधारको यो गति हुनु हो। आईसीसी मेन्स क्रिकेट वल्र्डकप लिग–टुमा नेपालले हासिल गरेको ऐतिहासिक उपलब्धिबाट सरकारले पाठ लिनुपर्छ र खेल पूर्वाधारहरूलाई गति दिनुपर्छ। रंगशालाहरूलाई रंगहीन छाडिरहनु हुँदैन। रंगशालाहरूमा रंग भर्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.