अशक्तलाई घरमै नागरिकता

नुवाकोट : नुवाकोटको बेलकोटगढी नगरपालिका-३ कुमरी झ्याङ्लीपोखरीकी अशक्त किशोरीले घरमै नागरिकता पाएकी छिन्।
शारीरिक तथा मानसिक रूपमा अशक्त १७ वर्षीया रोजिना बजगाईंलाई जिल्ला प्रशासन कार्यालय नुवाकोटले शनिबार घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीको नेतृत्वमा गएको टोलीले किशोरीलाई नागरिकताको प्रमाणपत्र प्रदान गरेको कार्यालयले जनाएको छ।
वडाध्यक्ष कौशिला पुडासैनीले आवश्यक कागजपत्रसहित जिल्ला प्रशासन कार्यालयमा गत माघ २२ गते नेपाली नागरिकताका लागि सिफारिस गरेकी थिइन्। कार्यालयमा आउन असमर्थ रहेकाले घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको सहायक प्रजिअ अधिकारीले बताए।
नागरिकता पाएपछि खुसी हुँदै रोजिनाका परिवारले अपांगता प्रोत्साहन भत्ता र अन्य सुविधाका लागि सहज भएको बताएका छन्। तीन वर्षमा १२ जनालाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिसकिएको कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
