चौथो अन्तर्राष्ट्रिय बायोटेक्नोलोजी सम्मेलन सुरु

काठमाडौं : चौथो अन्तर्राष्ट्रिय बायोटेक्नोलोजी सम्मेलन काठमाडौंमा सुरु भएको छ। नेपाल बायोटेक्नोलोजी एशोसिएसन र अन्नपूर्ण अनुसन्धान केन्द्रको आयोजनामा सम्मेलन सुरु भएको हो।
वरिष्ठ नेत्ररोग विशेषज्ञ तथा तिलगंगा आँखा विज्ञान प्रतिष्ठानका संस्थापक तथा निर्देशक डा. सन्दुक रुइतले पानसमा दियो बालेर सम्मेलनको उद्घाटन गरे।
समारोहमा डा. रुइतले तिलगंगा प्रतिष्ठानले गरेको अनुसन्धान र त्यसले विश्वभर आँखा उपचारमा पुर्याएको महत्वपूर्ण योगदानबारे प्रस्तुति दिएका थिए।
‘आँखाको कन्ट्याक्ट सर्जरी गरी सहज रुपमा इन्ट्राकुलर लेन्स राखिएपछि विश्वभरका लाखौं मानिसले फेरि आँखाको ज्योति पाएका छन्। आँखाको उपचारलाई सर्वसुलभ र सजिलो बनाउन प्रविधिको ठूलो भूमिका छ,’ डा. रुइतले भने।
बायोटेक्नोलोजी सम्मेलनबाट प्राप्त निचोडले प्राज्ञिक ज्ञानका साथै उद्यमशीलता विकास गर्न उल्लेखनीय भूमिका खेल्ने उनको धारणा थियो।
सम्मेलनमा युवा वैज्ञानिक, अनुसन्धाता, विद्यार्थी, प्राध्यापकलगायतको उल्लेखनीय उपस्थिति रहेकोमा खुसी व्यक्त गर्दै निरन्तर लगनशीलता, दृढ इच्छाशक्ति, आत्मअनुशासन, सकारात्मक सोच आदिले वैज्ञानिक अनुसन्धानमा सफलता पाउन सकिने विचार व्यक्त गरे।
वरिष्ठ न्युरो सर्जन वसन्त पन्तले बायोटेक्नोलोजीको माध्यमबाट चिकित्सा क्षेत्रमा आमूल परिवर्तन आएको उल्लेख गर्दै मुलुकलाई समृद्ध बनाउन विज्ञान तथा प्रविधि तथा अनुसन्धानमा पर्याप्त बजेट आवश्यक रहेको बताए।
सीमित स्रोत–साधनका बाबजुद पनि न्युरो साइन्स तथा सर्जरीका क्षेत्रमा विभिन्न उल्लेखनीय कार्यहरू गरिँदै आएको उनले स्पष्ट पारे।
युनेस्कोका नेपाल प्रतिनिधि माइकल क्रप्टले नेपालमा अन्तर्राष्ट्रिय बायोटेक्नोलोजी सम्मेलन भएकोमा खुसी व्यक्त गर्दै सम्मेलनमा वैज्ञानिक तथा अनुसन्धानदाताहरूबाट प्रस्तुत गरिएका कार्यपत्रले बायोटेक्नोलोजीको विकासमा योगदान पुर्याउने धारणा राखे।
सम्मेलनका संयोजक प्रा. डा. विजया पन्तले कृषि, चिकित्सा क्षेत्र, वातावरण संरक्षण, उद्योग र खाद्य प्रविधिमा नवप्रवर्तन तथा नवीन खोजको माध्यमबाट राष्ट्रको विकासका लागि बायो टेक्नोलोजी (जैविक प्रविधि)को महत्वलाई प्रवद्र्धन गरी त्यसलाई उद्यमशीलतासँग जोड्न यो सम्मेलन उपयोगी हुनसक्ने बताइन्।
‘प्राज्ञिक क्षेत्र र उद्योगबीच सहकार्यको महत्व र बायोटेक्नोलोजीका अनुसन्धानलाई कसरी उद्यमशीलतासँग जोड्न सकिन्छ भन्ने बारे सम्मेलनले मार्गप्रश्स्त गर्न सक्छ ,’ उनले भनिन्।
एशोसिएसनका अध्यक्ष प्राडा त्रिविक्रम भट्टराईले विभिन्न देशका वैज्ञानिक र विद्यार्थीहरूबीच आफ्ना अवधारणा र अनुभव आदानप्रदान गर्न सम्मेलनले उचित अवसर सिर्जना गर्ने अपेक्षा गरे।
उक्त अवसरमा प्रमुख अतिथि डा. रुइतले जर्नल अफ नेपाल बायोटेक्नोलोजी एशोसिएसनको विमोचन गरेका थिए।
समारोहमा नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठान (नास्ट)की प्राज्ञ डा. सानुदेवी जोशी, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापा, नास्टका सचिव डा. महेशकुमार अधिकारी, डा. हरिदत्त भट्टलगायतले मन्तव्य दिएका थिए।
‘प्राज्ञिक ज्ञान देखि उद्यमसम्म’ थिमका साथ सुरु भएको सम्मेलनमा विश्वविद्यालय अनुदान आयोग, शिक्षा र विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले सहयोग गरेका छन्।
सम्मेलनका अन्य साझेदारमा काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, कृषि तथा वनविज्ञान विश्वविद्यालय, सिएमडिएन, सिनासलगायत संस्था रहेका छन्।
सम्मेलनमा अस्ट्रेलिया, बंगलादेश, जर्मनी, भारत, इन्डोनेसिया, जापान, मलेसिया, नेपाल, कतार, दक्षिण कोरिया, थाइल्यान्ड र अमेरिका गरी १२ देशका करिब २ सय सहभागीको उपस्थिति रहेको छ।
सम्मेलनमा १०० वटा शोधपत्रमध्ये ७० वटा शोधपत्र नेपाली विद्वान र युवा अनुसन्धानकर्ताले प्रस्तुत गर्नेछन्।
प्रतिक्रिया दिनुहोस !
