चन्द्रगुप्तदेखि उपराष्ट्रपतिसम्म बन्दा...

चन्द्रगुप्तदेखि उपराष्ट्रपतिसम्म बन्दा...
उपराष्ट्रपतिमा निर्वाचित भएपछि रामसहायप्रसाद यादव । तस्बिर : अशोक दुलाल

बाराको कलैया उपमहानगरपालिका ५ मा बस्दै आएका यादव बारा– २ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित सांसद हुन्।

काठमाडौं/सिमरा : २०६४ सालसम्म शिक्षण पेसा नै आफ्नो जीवन जिउने आधार सम्झने रामसहायप्रसाद यादवको मन त्यतिबेला राजनीतिमा ढल्कियो, जतिबेला २०६२/२०६३ को जनआन्दोलन र मधेस आन्दोलन भए। २०६४ सालको मधेस आन्दोलनबाट सक्रिय राजनीतिमा कोल्टिएका उनी यस्तै आन्दोलन र परिवर्तनकै कारण स्थापित उपराष्ट्रपति पदमा शुक्रबार निर्वाचित भएका छन्। 

२०४७ सालमा गजेन्द्रनारायण सिंहको नेतृत्वमा रहेको सद्भावना पार्टीसँग आबद्ध हुँदै राजनीतिक यात्रा सुरु गरेका उनी यस बीचमा जन्मिएका मधेस केन्द्रित मुद्दा बोकेका धेरै पार्टीमा आबद्ध भए। अन्ततः जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको विश्वासपात्र नेताका रूपमा रहँदै मुलुकको तेस्रो उपराष्ट्रपति पदसम्म पुगे। उनी पार्टीको संसदीय दलका नेतासमेत हुन्।

शुक्रबार भएको उपराष्ट्रपति निर्वाचनमा ३० हजार ३ सय २८ मतसहित उनी निर्वाचित भएका हुन्। उनलाई सत्ता गठबन्धन दलहरूको साथ रहेको थियो। यादवले संघीय संसद्तर्फ १४ हजार ५ सय ३६ र प्रदेशसभातर्फ १५ हजार ७ सय ९२ मत पाए। प्रतिस्पर्धी एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले १६ हजार ३ सय २८ मतभार प्राप्त गरिन्। यस्तै जनमतकी ममता झाले २ हजार ५ सय ३७ मतभार प्राप्त गरिन्।

यादवलाई सत्ता गठबन्धन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन रह्यो। निर्वाचन आयोगका अनुसार निर्वाचनमा संघीय संसद्का ३ सय ३२ र प्रदेशसभाका ५ सय ५० सांसद मतदातामध्ये ८ सय २९ जनाले मतदान गरेका थिए। संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको ४८ छ।

उपराष्ट्रपति निर्वाचनमा ५३ सांसद अनुपस्थित रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका संघ र प्रदेश गरी ४२, नेमकिपाका ४ सांसदले मतदान गरेनन्।  जनता समाजवादी पार्टीका सांसद सनाज रहमान (निधन), राष्ट्रपति रामचन्द्र पौडेल, सांसद चन्द्र भण्डारी, वर्षमान पुन, लक्ष्मी कोइरी महतो र मनोरमा शेरचनले मतदान गरेनन्। सत्तारूढ गठबन्धनबाटै तीनजनाको उम्मेदवारी परेकामा जसपाकी प्रमिलाकुमारी यादवले राम सहायललाई उपराष्ट्रपतिमा समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएकी थिइन्।

उपराष्ट्रपति निर्वाचनमा संघीय संसद्का सदस्यले रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको थियो। बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो। यादवलाई निर्वाचन आायेगले शुक्रबार नै उपराष्ट्रपतिको प्रमाणपत्र प्रदान गरेको छ।
यादवलाई निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपराष्ट्रपति पदमा विजयी भएको प्रमाणपत्र प्रदान गरेका थिए। नयाँ बानेश्वरस्थित संसद्‌ भवनमा आयोजित प्रमाणपत्र प्रदान एवं नतिजा घोषणा कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, जसपाका नेताहरू र निर्वाचन आयोगका निर्वाचन आयुक्तहरूको उपस्थिति थियो।

शिक्षकदेखि उपराष्ट्रपतिसम्म

बाराको कलैया उपमहानगरपालिका ५ मा बस्दै आएका यादव बारा– २ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित सांसद हुन्। उनी मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनबाट दोस्रो पटक प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए। यसअघि २०७४ सालमा पहिलो पटक प्रत्यक्ष चुनाव लडेका उनी त्यसअघि २०६४ सालमा समानुपातिक सूचीबाट संविधानसभामा प्रवेश गरेका थिए। 

२०७८ सालमा उनी वनमन्त्रीसमेत बने। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री रहेका यादव पूर्णकालीन राजनीतिक जीवनको उत्तराद्र्धमा मुलुकको उपराष्ट्रपति बनेका छन्। 

जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको विश्वासपात्रका रूपमा रहँदै आएका यादव शिक्षण क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका थिए। साबिकको कचोर्वा गाविस ८ बसवरियामा जन्मिएका उनले २०४८ सालदेखि शिक्षण पेसा सुरु गरेका थिए। पन्नादेवी कन्या माध्यमिक विद्यालयमा शिक्षण पेसा गर्नुअघि नै उनी राजनीतिसँग जोडिएका थिए। 

२०४७ सालमा गजेन्द्रनारायण सिंहको नेतृत्वमा रहेको सद्भावना पार्टीसँग आबद्ध उनी शिक्षक मञ्चमा रहेर राजनीति सुरु गरेका हुन्। उनी पहिलो पटक सिंहले सुरु गरेको मधेस एकता रथयात्रा अभियानमा सहभागी भएका थिए। त्यसयता उनी सद्भावना पार्टीको विभिन्न कार्यक्रममा सहभागी हुन थाले। यादव २०६४ सालदेखि सक्रिय राजनीतिमा होमिएका हुन्। सक्रिय राजनीतिमा होमिने क्रममा २०४८ साल असार ९ गतेदेखि सुरु गरेको शिक्षण पेसालाई उनले २०६४ साल फागुन १६ गते त्यागेका थिए। 

शिक्षण पेसामै रहेका बेला दुईपटकसम्म शिक्षा सेवा आयोगको मौखिक परीक्षामा असफल बनेका उनी २०६० सालमा नाम निकाल्न सफल भए। तर, त्यतिबेलासम्म उनी राजनीतिमा निकै अघि बढिसकेका थिए। २०६२/०६३ को जनआन्दोलन र २०६४ सालको मधेस आन्दोलनपछि उनले शिक्षण पेसामा भन्दा राजनीतिमा बढी रुचि देखाए। 

शिक्षण पेसाबाट बिदा लिनुअघि उनले २०६० सालमा तत्कालीन मधेसी जनअधिकार फोरमका संस्थापक उपेन्द्र यादवसँग भारतको रक्सौलमा भेट गरेका थिए। उक्त भेटपछि उनी पूर्णकालीन राजनीतिमा सक्रिय रहने अठोट गर्दै अघि बढे। सद्भावना पार्टीको राजनीतिमा सक्रियता देखाएका कारण रामसहाय त्यसैबेला संस्थापक यादवको नजरमा परेका थिए। 

भूमिगत राजनीति गर्दै आएका संस्थापक यादवसँग रामसहायको भेट गराउने वातावरण बनाइयो। संस्थापक यादवका सहयोगीले रामसहायलाई रक्सौल लिएर गए। रामसहाय र उपेन्द्रबीच रक्सौलमा भेट भयो। उक्त भेटपश्चात् रामसहायले उपेन्द्रको साथ छाडेका छैनन्। उक्त भेटमा मधेसी जनअधिकार फोरमलाई अघि बढाउने विषयमा छलफल भयो। यादवलाई भेटेर फर्किएपछि रामसहायले सेना र प्रहरीसँग लुकेर पार्टीको गतिविधिलाई अघि बढाए। उनले २०६० साल फागुन ७ गते बारामा मधेसी जनअधिकार फोरमको ९ सदस्यीय जिल्ला कार्यसमिति आफ्नै नेतृत्वमा गठन गरे। 

प्रहरी र सेनाबाट लुकेर जिल्ला कार्यसमिति बनाएका यादवले आफ्नो नाम चन्द्रगुप्त राखे। जिल्ला कार्यसमिति गठन गरेको केही समयमै उनलाई संस्थापक यादवले फोरमको केन्द्रीय सदस्य बनाए। त्यसपश्चात् दुबैबीच भेटघाट बाक्लिँदै गयो। उनीहरूबीच भारतको विभिन्न स्थानमा भेट हुने गरेको थियो। 

पटनामा बसेको फोरमको केन्द्रीय समिति बैठकले जनआन्दोलनमा सहभागी हुने निर्णय गरेपछि रामसहाय नेपालमा आएर आन्दोलनमा सहभागी बने। जनआन्दोलनपछि २०६३ सालमा फोरमको प्रथम जिल्ला अधिवेशन सम्पन्न भयो र यादव अध्यक्ष चुनिए। त्यसैबेला उनलाई पर्सा जिल्लाको इन्चार्जको समेत जिम्मेवारी दिइयो। अन्तरिम संविधान जलाउने फोरमको निर्णयपछि उनी २०६३ साल माघ ३० गते वीरगन्जबाट पक्राउ परे। उनीसहित ९ जनालाई पक्राउ परेपछि मधेस आन्दोलन थप चर्कियो र केही दिनमै उनी रिहा भए। 

एक महिनापछि गौरमा फोरम र नेकपा माओवादी निकट मधेसी राष्ट्रिय मुक्ति मोर्चाका कार्यकर्ताबीच झडप भयो। २५ जनाको ज्यान जाने गरी भएको उक्त घटनापछि अध्यक्ष यादवले रामसहायलाई रौतहटको जिम्मेवारी सुम्पिए। रामसहायले रौतहटको जिम्मेवारी लिएर पार्टी गतिविधि अघि बढाए। मधेस आन्दोलनपछि २०६४ सालमा सम्पन्न संविधानसभाको निर्वाचनबाट उनी समानुपातिक सूचीबाट संविधानसभा सदस्य चयन भए। २०६५ साल जेठ १९ गते सम्पन्न फोरमको केन्द्रीय कमिटी बैठकबाट उनी केन्द्रीय महासचिव चयन भए। 

अशोक राई नेतृत्वको संघीय समाजवादीसँग पार्टी एकता गर्दै बनेको संघीय समाजवादी फोरमको छैटौं अधिवेशनबाट पुनः यादव महासचिव बने। बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग एकता हुँदा उनलाई पहिलो वरीयताको महासचिवको जिम्मेवारी दिइयो। महन्थ ठाकुर नेतृत्वको राजपासँग पार्टी एकता गर्दै संघीय समाजवादी फोरमलाई जनता समाजवादी पार्टी (जसपा) मा रूपान्तरण गरियो। 

हाल उनी जसपाका संसदीय दलका नेता हुन्। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग पराजित भएपछि केन्द्रीय अध्यक्ष यादवले आफ्नो विश्वासपात्र रामसहायलाई संसदीय दलको नेता बनाएका हुन्। त्यससँगै जनता समाजवादी पार्टीको भागमा परेको उपराष्ट्रपति पदमा रामसहायलाई नै उम्मेदवारी बनाउने निर्णय अध्यक्ष यादवले गरे, जसअनुसार रामसहाय देशको तेस्रो राष्ट्रपतिमा निर्वाचित भए। रामसहाय उपराष्ट्रपतिमा निर्वाचित भएसँगै अध्यक्ष यादव बारा— २ को उपनिर्वाचन लड्ने निश्चित भएको छ। अध्यक्ष यादव उपनिर्वाचन लडेर प्रतिनिधिसभामा प्रवेश गर्ने तयारीमा छन्। 

शिक्षण पेसा छोडेको १६ वर्षमा उपराष्ट्रपति

उपराष्ट्रपतिमा निर्वाचित यादव जिल्लामा अत्यन्तै शालिन नेताका रूपमा परिचित छन्। पत्नी र तीन सन्तानका पिता अहिले कलैया—५ स्थित गोरुबजार छेउमा रहेको घरमा बस्छन्। शिक्षण पेसा सुरु गरेपछि उनी जन्मस्थल कचोर्वाको बसवरिया छोडेर कलैया आएका थिए। कलैयामा किनेको १२ धुर जमिनमा सानो झुपडी र गोठ बनाए। 

आर्थिक जोहो गर्न गोठमा गाईबस्तु पाल्न सुरु गरे। गाईबस्तु पत्नी चम्पादेवी स्याहार्थिन् भने यादव शिक्षण पेसामा व्यस्त हुन्थे। उनले ट्युसन र कोचिङ पढाउन सुरु गरे। शिक्षण पेसाबाट आएको तलब खाद्यान्न र सन्तानको शिक्षामा खर्च हुन्थ्यो। 

२०६४ सालमा संविधानसभा सदस्य चयन भएपछि उनले आफ्नो तलब तिनै सन्तानको शिक्षाका लागि खर्चिए। हाल उनका तीन सन्तान शिक्षाका लागि काठमाडौंमा छन्। पत्नी चम्पादेवी गाईबस्तु स्याहार्छिन्। उनी बारा आउँदा त्यही गोठसँगै रहेको घरमा बस्छन्। 

‘संविधानको रक्षा गर्नेछु’

शुक्रबार उपराष्ट्रपतिका लागि मतदान चलिरहेको बेला उनले संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै संविधानको पालना गर्ने कुरालाई पहिलो प्राथमिकतामा राख्ने र इमानदारीपूर्वक जनताको पक्षमा काम गर्ने बताए। यादवले उपराष्ट्रपतिमा आफू विजयी भएमा राष्ट्रिय एकताको प्रवद्र्धन र संविधानको रक्षा गर्ने बताएका छन्।  उनले भने, ‘संविधानमा राष्ट्रपति/उपराष्ट्रपतिको काम कारबाहीको बारेमा उल्लेख गरिएको छ। राष्ट्रिय एकताको प्रवद्र्धन, संविधानको रक्षा गर्नेछु। संविधानको पालना गर्ने कुरामा मेरो प्राथमिकता हुनेछ। नेपाललाई समतामूलक समृद्ध मुलुकको रूपमा विकसित गर्न मेरो भूमिका रहनेछ। म इमानदारीपूर्वक जनताको पक्षमा काम गर्नेछु।’

प्रहरी र सेनाबाट लुकेर जिल्ला कार्यसमिति बनाएका यादवले आफ्नो नाम चन्द्रगुप्त राखे। जिल्ला कार्यसमिति गठन गरेको केही समयमै उनलाई संस्थापक यादवले फोरमको केन्द्रीय सदस्य बनाए। त्यसपश्चात् दुबैबीच भेटघाट बाक्लिँदै गयो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.