नेपालको कीर्तिमानी जित

नेपालको कीर्तिमानी जित

पहिलो इनिङमा रोहित पौडेलको अर्धशतक प्रेरित नेपालले यूएईलाई २ सय ४९ रनको लक्ष्य दिएको थियो। आठौं ओभरमा दुवै ओपनरसहित तीन विकेट गुमाएको नेपालका लागि कप्तान रोहित र भीम सार्कीले ५४ रनको महत्वपूर्ण साझेदारी गर्दै इनिङ उकासेका थिए।

काठमाडौं  : यूएईविरुद्ध १ सय ७७ रनको कीर्तिमानी जितसँगै नेपालले आगामी चार वर्षका लागि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाएको छ। आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत अन्तिम शृंखलाको दोस्रो खेलमा आइतबार नेपालले घरेलु दर्शकलाई शानदार जितको खुसी दिलाएको हो। अब बाँकी दुई खेलमा पनि जित निकाल्दै शीर्ष तीनमा रहेर विश्वकपको ग्लोबल छनोटमा पुग्नु नेपालको लक्ष्य बनेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार टस जितेर ब्याटिङ थालेको नेपाली टोलीले ४९.२ ओभरमा सबै विकेट गुमाएर २ सय ४८ रनको योगफल तयार गरेको थियो। दोस्रो इनिङमा २ सय ४९ रनको लक्ष्य पछ्याएको यूएईले २२.५ ओभरमा सबै विकेट गुमाउँदै ७१ रन मात्रै बनाउन सक्यो। जुन यूएईले एकदिवसीय अन्तर्राष्ट्रियमा भोगेको सबैभन्दा ठूलो हार हो।

नेपालका लागि शानदार बलिङ गरेका ललित राजवंशीले ७.५ ओभरमा २० रन खर्चेर दुई मेडनसहित सर्वाधिक पाँच विकेट लिए। यस्तै, सन्दीप लामिछानेले चार ओभरमा १४ रन खर्चेर दुई विकेट लिए। त्यसबाहेक दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र गुल्सन झाले एक–एक विकेट लिए। नेपालको कसिलो बलिङसामु सम्हालिन नसकेको यूएईका आयान खानले २९ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

पहिलो इनिङमा रोहित पौडेलको अर्धशतक प्रेरित नेपालले यूएईलाई २ सय ४९ रनको लक्ष्य दिएको थियो। आठौं ओभरमा दुवै ओपनरसहित तीन विकेट गुमाएको नेपालका लागि कप्तान रोहित र भीम सार्कीले ५४ रनको महत्वपूर्ण साझेदारी गर्दै इनिङ उकासेका थिए। भीम ३७ बलमा चार चौकासहित २९ रन बनाएर आउट भए। पाँचौं नम्बरमा क्रिजमा उत्रिएका आरिफ शेखले रोहितसँग ८६ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक योगफलतर्फ डोर्‍याएका थिए। 

रोहित १ सय १२ बलमा ९ चौकासहित ७७ रनको अर्धशतकीय इनिङ खेलेर पेभेलियन फर्के। आरिफ शेख ५२ बलमा पाँच चौकासहित ४३ रन जोडेर आउट हुँदा गुल्सन झाले ३२ बलमा एक चौका र तीन छक्कासहित ३७ रनको आक्रामक इनिङ खेले।

ओपनर आसिफ शेख शून्य, कुशल भुर्तेल आठ र कुशल मल्ल ९ रन बनाएर आउट भएका थिए। सन्दीप लामिछाने दुई रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरी १९ बलमा तीन चौका र दुई छक्कासहित ३४ रन जोडेर पेभेलियन फर्के। ललित राजवंशी शून्यमा अविजित रहँदा सोमपाल कामी २ रन जोडेर पेभेलियन फर्केका थिए। यूएईका लागि आयान खान, जहुर खान, रोहन मुस्तफा र जवार फरिदले दुई–दुई विकेट लिए। आर्यान लाक्रा र जुनेद सिद्धिक्वीले एक–एक विकेट लिए। 

यस जितसँगै नेपालले लिग २ मा दुई खेल बाँकी रहँदै एकदिवसीय मान्यता जोगाएको हो। नेपालले सन् २०१८ को मार्च १५ मा पहिलो पटक एकदिवसीय मान्यता पाएको थियो। त्यस क्रममा जिम्बाब्वेको हरारेमा भएको आईसीसी क्रिकेट विश्वकप छनोटको प्ले–अफमा पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गरेको थियो।

तोडियो १५१ रनको कीर्तिमान

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन निर्णायक बनेको आइतबारको खेल महत्वपूर्ण त थियो नै। त्यसमाथि नेपाली क्रिकेट जगतले नबिर्सिने जित पनि बनेको छ यो। किनभने, एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालले हासिल गरेको यो जित सबैभन्दा फराकिलो हो। नेपालले सन् २०२१ मा पपुवा न्युगिनीविरुद्ध १ सय ५१ रनको जित हासिल गरेको थियो। त्यसको करिब दुई वर्षपछि यूएईविरुद्ध नयाँ कीर्तिमान रचेको हो। विकेटका आधारमा भने नेपालले अमेरिकालाई आठ विकेटले पराजित गरेको थियो। कीर्तिपुरमै सन् २०२० मा भएको खेलमा नेपालले अमेरिकालाई ३६ रनमा अलआउट गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले दुई विकेट गुमाएर लक्ष्य पूरा गर्दा आठ विकेटको शानदार जित हासिल गरेको थियो।

देशाईको जादू

नेपाली राष्ट्रिय टिम धेरै विदेशी प्रशिक्षकका लागि ‘ट्रान्जिट’ हो। र, पछिल्लो समय नेपाली टिममा प्रशिक्षकको समस्या विकराल थियो। यद्यपि, अन्तर्राष्ट्रिय क्रिकेट वृत्तमा सुपरिचित प्रशिक्षक मोन्टी देशाईको जादु नेपाली टिममा देखिएको छ। उनी नेपाली राष्ट्रिय टिमका प्रशिक्षक नियुक्त हुँदा नेपालले शीर्ष तीनमा रहेर विश्वकप खेल्ने सपना त परको कुरा, एकदिवसीय मान्यता जोगाउन नै चुनौतीपूर्ण देखिन्थ्यो।

तर, ‘ह्याप्पी ड्रेसिङ रुम’ मुल मन्त्र लिएर नेपाल आएका देशाईको नेतृत्वमा नेपालले खेलेका १० मध्ये ९ खेल जितेको छ। एक मात्र खेलमा पराजय यूएईसँग उसकै मैदानमा बेहोरेको छ। नेपाली टिममा आत्मविश्वास जगाउन सफल प्रशिक्षक देशाईको प्रभावले नै नेपालले दुई खेलअगावै एकदिवसीय मान्यता जोगाएको हो। अब बाँकी दुई खेलमा जित निकाल्दै शीर्ष तीनमा रहेर विश्वकपको ग्लोबल छनोटमा पुग्ने सपना देख्दै छ। त्यसका लागि पपुवा न्युगिनी र यूएईविरुद्धका बाँकी खेल निर्णायक हुनेछन्।

अंकतालिकामा फड्को

देशाईले प्रशिक्षक पद सम्हाल्दा नेपाल १८ अंकसहित छैटौं स्थानमा थियो। तर, त्यसपछि घरेलु मैदानमा स्कटल्यान्ड र नामिबियाविरुद्धको शृंखला क्लिन स्विप गर्‍यो। यूएईमा खेलेका चारमध्ये तीन खेलमा नेपाल विजयी भयो। घरेलु मैदानमा जारी शृंखलाका चारमध्ये दुई खेलमा जित निकालेको नेपालले अंक तालिकामा अमेरिका र यूएईलाई पछि पारेको छ। यसको अर्थ ३४ खेलबाट १७ जित, १५ हार, एक बराबरी र एक नतिजाविहीन खेलपछि नेपाल ३६ अंकसहित चौथो स्थानमा उक्लिएको छ। बाँकी दुई खेलमा जित निकाले नेपाल ४० अंकसहित तेस्रो स्थानमा विराजमान हुनेछ। र, भारतमा अर्को वर्ष हुने एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा सोझै पुग्नेछ। एकदिवसीय मान्यता कायम भएसँगै नेपालले फेरि विश्वकप क्रिकेट लिग २ नै खेल्ने निश्चित भएको छ।

तर, बाँकी दुवै खेलमा जित हासिल गर्न नसके नेपालले फेरि छनोटको प्ले–अफ खेल्नुपर्नेछ। लिग २ बाट शीर्ष तीनले सोझै ग्लोबल छनोटमा स्थान बनाउनेछन्। बाँकी चार टिमले प्ले–अफ खेल्नुपर्नेछ। विश्वकप क्रिकेट लिग २ को पुछारमा रहने दुई टिमले प्ले–अफमा पनि पराजित भए क्रिकेट विश्वकप च्लालेन्ज लिगमा खेल्नु घटुवा हुनुपर्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.