गिद्ध संरक्षणको बाटो

गिद्ध संरक्षणको बाटो
सुन्नुहोस्

पोखरा विमानस्थल वरिपरिको ठाउँ चरामध्ये पनि गिद्धको बासस्थान हो। जसै विमानस्थल बन्यो र जहाजहरू आउजाउ गर्न थाले। गिद्ध पनि जहाजमा ठोक्किन थालेका छन्।

चराहरू उडेको देखासिकी गर्दै मानिसले जहाज बनायो। अनि चराहरूझैं आकाशमा निस्फिक्री उड्ने रहर पूरा गर्‍यो। जहाजको आविष्कारले मानिसलाई त सजिलो भयो तर निस्फिक्री हावामा कावा खाँदै आएका तिनै चराचुरुंगीलाई अप्ठेरो पर्‍यो। यसै त पृथ्वीका वनजंगल र बुटबुट्यान मास्दै मानिसले घर बनाए। र, चराहरूले गुँड बनाउने ठाउँ विस्थापित भएको थियो। झन् विज्ञानको आविष्कार जहाजले चराहरूको आकाश पनि अतिक्रमण गर्‍यो। मानव जातिले जहाज आविष्कार गर्नुअघि आकाशमा एकछत्र राज चराहरूको मात्रै हुन्थ्यो। अचेल भने चराहरू जति उड्छन्, त्यति नै जस्तै संख्यामा जहाज उड्न थालेका छन्। अनि आकाशमा कहिले चराको बाटोमा जहाज ठोक्किन आइपुग्छ त कहिले जहाजको बाटोमा चरा। यस्तो द्वन्द्व पछिल्लो समय पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि देखिन्छ ।

पोखरा विमानस्थल वरिपरिको ठाउँ चरामध्ये पनि गिद्धको बासस्थान हो। जसै विमानस्थल बन्यो र जहाजहरू आउजाउ गर्न थाले। गिद्ध पनि जहाजमा ठोक्किन थालेका छन्। पोखरा उपत्यका सिमलका प्रशस्त रुखहरू हुने ठाउँ हो। गिद्धलाई गुँड बनाउन मन पर्ने रुख नै सिमल हो। पोखरामा नेपालभर पाइने गिद्धमध्ये सबै ९ थरी नै पाइन्छन्। मुलुकभर पाइने सबै ६ थरी महाचिलहरूको पनि मनपर्ने बासस्थान हो, पोखरा। यी चराहरूलाई पोखरामा पनि मन पर्ने ठाउँ त्यही विमानस्थल वरिपरि नै हो। नजिकै सेतीनदी र विजयपुर खोला, पारि भरतपोखरीको वनजंगल र प्रशस्त सिमलका रुखहरू हुँदा यी चरा यहीं रत्तिएका हुन्। झन् खोलानालामा सिनो र फोहोरहरू पाइँदा यिनले आहारा पनि सजिलै भेट्छन् ।

केही समयअघिसम्म पोखराको ल्यान्डफिल साइट पनि विमानस्थल नजिकै थियो। त्यसैले चराहरू यहीं बस्न बानी परे। तर हठात् विमानस्थल सञ्चालनमा आयो र जहाजहरू उड्न थाले, चराहरूले बसाइ सर्नसमेत भ्याएनन्। त्यसैले आफ्नै थाँतथलोमा आएको दुश्मनयन्त्रसँग उनीहरू नजानीनजानी र नसकीनसकी पौंठेजोरी पनि खोज्छन्। खासमा चराहरूलाई पहिल्यै बसाइसराइको वातावरण बनाउनु पथ्र्याे। जहाज आउजाउअघि नै ल्यान्डफिल साइट सार्नुपथ्र्याे। खोलानालामा सिनोलगायत चराचुरुंगीका आहार नभेटिने गरी सरसफाइ गर्नुपथ्र्याे ।

यी सबै काम समयमै नगर्दा नै रैथाने चराहरू किंमकर्तव्यविमूढ भएका हुन्। उडी जाऊँ भने म पन्छी होइन भन्ने मान्छेचाहिँ जहाजमा उड्छ, तर जहाजकै हस्तक्षेपले गर्दा चरा उड्नै पाउँदैनन्। जहाज पनि उड्नुपर्छ, त्यो मानवीय आवश्यकता हो। चराहरूको पनि संरक्षण गर्नुपर्छ, त्यो मानवीय दायित्व हो। नजिकका खोलानाला सुग्घर पार्ने, गिद्ध र चिललाई मनपर्ने सिमलहरू अन्तका जंगलहरूमा रोपेर हुर्काउँदै जाने गर्नुपर्छ। नवलपुरमा झैं जटायु रेस्टुरेन्ट नै अन्त कतै स्थापना गरेर पनि गिद्धहरूलाई पोखराको विमानस्थलभन्दा पर बसाइ सार्न सकिन्छ। पोखरा विमानस्थलमा देखिएको चरा र जहाजको द्वन्द्व निरूपणको बाटो त्यही हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.