आहा, सफा हिमाल!

आहा, सफा हिमाल!

नेपालका हिमाली क्षेत्रमा आउनेमध्ये सात सयभन्दा बढी सगरमाथा आधारशिविरसम्म पुग्छन्। तीमध्ये ६ सयभन्दा बढी आरोही सगरमाथाको चुचुरोसम्म पुग्न प्रयत्नशील हुन्छन्।

सफलता एवं उपलब्धिका हरेक उचाइमा मानिस आकर्षित हुने गर्छ। धनसम्पत्ति, सुख, वैभवको उचाइभन्दा पनि केहीले आफ्ना लागि उचाइको बेग्लै परिभाषा स्थापित गरेका हुन्छन्। उनीहरूका लागि सफलता वा उपलब्धि, यो धरतीमा अवस्थित अनेकौं उच्चतम भूबिन्दुमा पाइला टेक्ने हुने गर्छ। यस्ता कीर्तिमानी उचाइहरूमा धेरैको रुचि भए पनि यसलाई हासिल गर्ने साहस कमैमात्रले गर्न सक्छन्। यही साहसको सुरुआत एक खेलका रूपमा सन् १८६५ मा स्विट्जरल्यान्डस्थित ३,६९२ मिटर उचाइको वेटरहर्न चुचुरो उक्लेर अल्फ्रेड विल्सले गरेका थिए। 

नेपालको हिमाली क्षेत्रमा भने ‘पिक १५’ (पछि एभरेस्ट र सगरमाथा) संसारकै सर्वाधिक अग्लो चुचुरो भएको पत्ता लागेपछि तिब्बत (चीन) तर्फबाट सन् १९२१ देखि यसको चुचुरोमा पुग्ने प्रयास आरम्भ भयो। त्यस्तै, विश्वका ८ हजार मिटरभन्दा माथि १४ मध्येका ८ चुचुरो नेपालमा छन् भन्ने निश्चित भएपछि स्वाभाविक रूपमा नेपालका अन्य चुचुरा पनि पर्वतारोहीका लागि आकर्षणको विषय हँुदै गयो। सम्झनयोग्य तथ्य के छ भने सन् १९२१ मा एभरेस्ट (त्यतिबेला सगरमाथा नामकरण भैसकेको थिएन) मा पहिलो अनुसन्धान आरोहण नहुँदासम्म कुनै पनि पश्चिमा आरोही हिमाली क्षेत्रको ४० माइल घेराभन्दा बाहिरै थिए।

मतलव पूर्णत: अनभिज्ञ, पाँच हजार मिटरभन्दा कम उचाइहरूमा पुगेको अनुभवमात्र उनीहरूसँग थियो। त्यसभन्दा उच्च भूभाग आरोहणसम्बन्धी ज्ञान उनीहरू कसैसँग थिएन। त्यसैले साढे ३ हजार मिटरमा उक्लँदा गरिने तयारी नै पाँच हजार मिटरभन्दा माथि उक्लन पर्याप्त छ ? ८ हजार मिटरभन्दा बढी उचाइमा अक्सिजनबिना बाँच्न उक्लन सम्भव छ वा छैन ? छैन भने अक्सिजनको व्यवस्था कस्तो हुने ? कस्तो खाने कुरा लैजाने ? कति दिनसम्मका लागि लैजाने ? अन्य आवश्यक उपकरण एवं सरसमान के कति लैजाने ? यस्ता प्रश्नहरू यथावत् नै थिए।

आरोहणमा आउने थुप्रै पर्वतारोहीले हिमाली क्षेत्रमा थुप्रिएका फोहोरलाई ‘संसारको सर्वाधिक उचाइमा रहेको कबाडीस्थल’समेत भन्ने गरेका थिए। आशा छ, सफा हिमाल अभियानले उनीहरूको यो भनाइलाई विस्तारै गलत साबित गर्दै जानेछ।

यसैक्रममा सन् १९५० मा फ्रेन्च पर्वतारोहीद्वय मोरिस हर्फाग र लुई लासिनले पहिलोपल्ट नेपालको अन्नपूर्ण–१ हिमालको सफल आरोहण गरे। त्यसपश्चात् सन् १९५३ मा तेन्जिग नोर्गे र एडमण्ड हिलारी सर्वोच्च शिखर एभरेस्टमा पुगे। त्यसउप्रान्त आजसम्म नेपालका आठ हजार मिटरमाथिका अनेकौं हिमाल उक्लनेहरूको फेहरिस्त लामै छ। कुनै विशेष परिस्थिति वा घटनाका कारण यदाकदा रोकिनेबाहेक नेपालमा पर्वतारोहण हरेक वर्ष हुँदै आएको छ। हरेक वर्ष वसन्त ऋतु आरम्भसँगै संसारभरबाट पर्वतारोहणका लागि नेपाल आएका आरोहीलाई चुचुरोमा पुग्न सफा मौसमको पर्खाइरहने गर्छ। यस दौरानमा सर्वाेच्च शिखरमाथि विजय हासिल गर्ने होडमा नयाँनयाँ कीर्तिमानहरू रचिँदै र तोडिँदै जाने गर्छन्।

तथ्यांकअनुसार नेपालका हिमाली क्षेत्रमा आउनेमध्ये सात सयभन्दा बढी सगरमाथा आधार शिविरसम्म पुग्छन्। तीमध्ये ६ सयभन्दा बढी आरोही सगरमाथाको चुचुरोसम्म पुग्न प्रयत्नशील हुन्छन्। सफलता वा असफलता उनीहरूको मेहनत, मौसम र भाग्यको विषय भयो। आरोहणको हरेक मौसममा चुचुरोमा पुग्ने सही समयको पर्खाइमा पर्वतारोहीले हप्तांैको समय आधारशिविर र विभिन्न क्याम्पमा बिताउनुपर्ने हुन्छ। आफूलाई हिमालयको वातावारण अनुकूल बनाउन आधार शिविरदेखि विभिन्न क्याम्पका बीच उक्लनेओर्लने क्रम चलिरहन्छ। हिमाली क्षेत्रमा यस्ता गतिविधि हुँदै आएको १०२ वर्ष पुगिसकेको छ। यहींबाट प्रस्तुत आलेख आफ्नो मुख्य विषयवस्तुमा प्रवेश गर्छ। 

हिउँका यी चुचुराहरूले मानवलाई चुनौती दियो, आफूमाथि विजय हासिल गर्नका लागि। वर्षौंको प्रयासपछि मानवजाति  हिमालहरूमा विजय पाउन सफल पनि भयो। सफलतासँगै पर्वतारोहण एक खेलका रूपमा विकसित भयो। यसमाथि जित हासिल गर्ने लालसा मानिसमा बढ्दै गयो। यही बढेको लालसासँगै मानिसलाई चुनौती दिने यिनै हिमाल स्वयंले चुनौती व्यहोर्नु पर्ने अवस्था आयो। के हो त्यो चुनौती ? चुनौती के हो भने सगरमाथालगायत आरोहणका लागि खुला गरिएका आठ हजार मिटर माथिका नेपालका हिमाली क्षेत्र हरेक वर्ष प्रदूषित बन्दै गएका छन्। हाम्रा हिमालहरूमा फोहोर थुपँ्रदै गएका छन्। त्यो पनि एक सय वर्षभन्दा अघिदेखि। कसरी ?

सदैव हिउँले ढाकिने सगरमाथालगायत अन्य हिमाली क्षेत्र जहाँ न कहिले केही कुहिन्छ, न गल्छ, न त बिग्रन्छ। विशेषगरी आरोहणमा गएकाहरूले त्याग गरेको मलमूत्रका साथै उनीहरूले छाडेर हिँडेका विभिन्न सरसमानजस्तै अक्सिजन तथा खाद्य कन्टेनरलगायत उक्लँदा प्रयोग हुने उपकरणहरू। जस्तो छोड्यो सधैं त्यस्तै। स्वाभाविकै हो प्रयोगविहीन भइसकेपछि त्यस्ता सरसमान हिमालको त्यो कष्टकर उकालोमा बोक्ने जाँगर कसले चलाओस् ? यसरी पूरै आरोहण अभियान सम्पन्न हुन करिब दुई महिना लाग्छ। यही अवधिमा आरोहणमा गएका प्रत्येक व्यक्तिबाट पुगनपुग ९ किलो फोहोर उत्पादन हुन्छ।

कल्पना गर्न सकिन्छ कि विगत १०२ वर्षदेखि कति आरोही हिमाल चढ्न गए होलान् ? उनीहरूले कति फोहोर ती हिमाली क्षेत्रमा छोडेर आए होलान् ? त्यतिमात्र हैन, आरोहणकै क्रममा मृत्युवरण गर्नुपरेका आरोहीहरूका शव पनि लामो समयसम्म उही अवस्थामा रहन्छ। यो नै आरोहणका लागि खुला हिमाली क्षेत्रले भोग्दै आएको चुनौती हो। जुन अवश्य पनि जलवायु परिवर्तनको असर देखिन थालेको परिदृश्यमा नजरअन्दाज गर्न सकिन्न।

​​​​​​​सगरमाथाको उचाइमा वास्वतमा कति फोहोर थुप्रिएको छ ठ्याक्कै भन्न सकिने अवस्था छैन तर कयौं टन फोहोर थुप्रिएको सम्भावना नकार्न पनि सकिन्न। जलवायु परिवर्तनका कारण हिउँ पग्लदै दसकांैदेखि हिउँमा दबिएर रहेका फोहोर फेरि सतहमा उत्पन्न हुँदै गर्दाको अवस्थामा अनुमान गर्न सकिन्छ, सेतो हिउँको कार्पेटमुनि अथाह फोहोर छ भनेर। वास्तवमा यस्तो अवस्था विशेषगरी उनीहरूका लागि जोखिमपूर्ण हो, जसको बसोबास हिमाली क्षेत्रमा हुन्छ। किनकि हिउँ पग्लँदै जाँदा ती फोहोर बग्दै गएर कुनै न कुनै रूपमा जब स्थानीय पानीको स्रोतसम्म पुग्ने गर्छ, तब स्थानीय जनस्वास्थ्यमा संक्रमणको खतरा बढ्दै गएर अनेकौं अप्रिय अवस्था आउने हुन सक्छ।

सन् १९९० अघिसम्म हिमाली क्षेत्रमा उल्लेख्य मात्रामा पर्यटक आवागमन नहुँदाको अवस्थासम्ममा यी क्षेत्रको सरसफाइ स्थानीयस्तरमै सीमित थियो। पछि पर्यटक आगमनमा वृद्धिसँगै यस्ता क्षेत्रहरूको सरसफाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासोको विषय बन्दै गयो।  हालका वर्षहरूमा स्थानीय समुदाय पनि हिमाली क्षेत्रहरू थप प्रदूषित हुन नपाओस् भनेर सचेत छन्। विशेषगरी सगरमाथा क्षेत्रका गाउँबस्ती वरपरको फोहोर प्रबन्धका साथै आगन्तुकलाई हिमाली क्षेत्रको सरसफाइमा उनीहरूले गर्न सक्ने योगदानका बारेमा सचेत गराउने काम हुँदै आएको छ। तर उचाइ बढ्दै जाँदा यस्ता प्रयासका प्रभाव घटदै जान्छन्।  त्यसैले विशेष पहलहरू आवश्यक हुने नै भयो।

यस्तै पहलस्वरूप नेपाली सेना पनि उच्च भूमिहरूको सरसफाइ आबद्ध हुँदै आएको छ। सन् १९७६ मा बेलायती सेनासँग मिलेर सगरमाथा आरोहण थालनी गरेदेखि नै नेपाली सेना हिमालयमा आयोजना हुने विभिन्न अभियानमा संलग्न रहँदै आयो। यसैक्रममा पहिलोपटक सन् २०१९ मा वन तथा वातावरण मन्त्रालयसँगको सहकार्यमा ४५ दिने सफा हिमाल अभियान सञ्चालन गरेर करिब १० टन फोहोर संकलन गरिएको थियो। चारवटा शव व्यवस्थापन पनि गरिएको थियो। पहिलो प्रयासको सफलतासँगै २०२१ मा हिमाल सरसफाइ अभियान सगरमाथाका साथै ल्होत्से, पुमरी, अमादब्लाम, धवलागिरी र मकालुमा समेत विस्तारित भयो। उल्लेखित हिमालहरूबाट करिब २८ टन फोहोर संकलन गरिएको थियो। अभियानकै निरन्तरता स्वरूप २०२२ मा पनि ३४ टन फोहोर संकलन गरियो।

जे होस, यो संगठित प्रयासबाट सगरमाथालगायत हिमाली क्षेत्र तीन वर्षकै अन्तरालमा करिब ७२ टन फोहोरबाट मुक्त भइसकेको छ। यसलाई अवश्य पनि एक उपलब्धि मान्न सकिन्छ। १०२ वर्षदेखिको फोहोर ७२ टनमात्र अवश्य पनि छैन होला। त्यसैले सन् २०२३ का लागि पनि सफा हिमाल अभियान निरन्तर छ। यस वर्ष ३५ टन फोहोर संकलन गर्ने लक्ष्य सेनाको छ। आरोहणका बेला पर्वतारोहीलाई आफ्नै शरीरको बोझ धान्न गाह्रो हुने अवस्थामा केही उत्साहित पर्वतारोहीबाट दुई, चार किलो फोहोर चाहिँ आफैंले व्यवस्थापन गर्न सक्ला। तर त्यसले खासै ठूलो फरक नल्याउने निश्चितै छ। त्यसैले पनि यस्ता संगठित प्रयास अपरिहार्य हुन्छन्।

आरोहणमा आउने थुप्रै पर्वतारोहीले हिमाली क्षेत्रमा थुप्रिएका फोहोरलाई ‘संसारको सर्वाधिक उचाइमा रहेको कबाडीस्थल’समेत भन्ने गरेका थिए। आशा छ, सफा हिमाल अभियानले उनीहरूको यो भनाइलाई विस्तारै गलत साबित गर्दै जानेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.