युरेनियम उत्खननमा बेवास्ता
युरेनियम नामको धातु विश्वमै दुर्लभ र बहुमूल्य छ। नेपालका तीन-तीन ठाउँमा यसको खानी रहेको पत्ता लागिसके पनि देशले त्यसबाट कुनै मूल्य सिर्जना गर्न सकेको छैन। मुस्ताङको उपल्लो क्षेत्र, मनाङ, गोरखा, बैतडी, बझाङ र मकवानपुरको तीन भँगालेमा युरेनियमको खानी पत्ता लागेको वर्षौं भइसक्यो। ११३२ डिग्री सेल्सियस तापक्रममा मात्रै पग्लने ‘हेभिमेटल’ युरेनियम आणविक भट्टीहरूको कच्चा पदार्थ हो। ऊर्जाका रूपमा यसको प्रयोग गर्न सकिन्छ।
युरोपियन न्युक्लियर सोसाइटीको अध्ययनअनुसार एक किलो युरेनियमबाट २ करोड ४० लाख किलोवाट ऊर्जा उत्पादन हुन्छ जब कि एक किलो कोइलाबाट आठ किलोवाट र एक किलो तेलबाट करिब १२ किलोवाट मात्रै ऊर्जा निस्किन्छ। त्यसैले एक किलो शुद्ध युरेनियमकै बजार भाउ बीसौं करोड रुपैयाँ छ भनिन्छ।
अन्तको युरेनियम खानी चुपचाप भूगर्भमै छ, तर मकवानपुरको बकैयाँ गाउँपालिकाको तीनभंगालेको खानी भने स्थानीयका लागि अभिशापजस्तो भएको छ। युरेनियमनबाट उत्पन्न हुने विकीकरणले स्थानीयको स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ। युरेनियम खानी भएको डाँडाकै पानीको मुहानमा स्थानीय भर पर्नु स्थानीयको बाध्यता हो। त्यही पानकै कारण क्यान्सर लागेर दर्जनौंले ज्यान गुमाएको स्थानीय बताउँछन्।
युरेनियम उत्पादन गर्ने विश्वका मुलुकहरू धनी छन्। तिनीहरूको प्रतिव्यक्ति आय हजारौं डलर छ। ताजकिस्तान, क्यानडा, अस्ट्रेलियाजस्ता देशहरूले युरेनियम बिक्री गर्छन्। युरेनियम प्रशोधन अत्यधिक महँगो हुन्छ। त्यसमाथि नेपाल संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) को पनि सदस्य हुनुका नाताले उसले तोकेका मापदण्डहरू पूरा गर्नुपर्छ।
लगानी र क्षमताका हिसाबले कमजोर भएकैले युरेनियम वा सुन, पेट्रोल, फलाम वा तामा कुनै पनि खानीजन्य वस्तु उत्खनन नगर्ने हो भने देश उँभो लाग्छ चाहिँ कसरी ? के खाडी मुलुकहरूले पहिला आफ्नो क्षमता र लगानी सामथ्र्य भएरमात्रै तेल उत्खनन गरी धनी भएका हुन् र ? होइनन्, आफूसँग नभएको सामथ्र्य जसरी उनीहरूले सापटी लिए, साझेदारी गरे, त्यसो त हामीले पनि गर्न सक्नुपर्छ। गर्न सकिन्छ। बहुमूल्य धातु युरेनियम नेपाललाई प्रकृतिले दिएको अमूल्य वरदान हो। तर सदुपयोग गर्ने खुबी नहुँदा अभिशाप जस्तो भएको हो।
वरदानमा बदल्ने राज्यले हो।