जिल्ला उपसचिव श्रेष्ठसहित पाँच जनाले छाडे एमाले
झापा : नेकपा (एमाले)मा सत्ता र गुट स्वार्थको हाबी बढेको भन्दै एमालेकी झापा जिल्ला उपसचिव चन्द्रमाया श्रेष्ठसहित पाँच जनाले पार्टीबाट सामूहिक राजीनामा दिएका छन्।
झापाको भद्रपुरमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै भद्रपुर नगरपालिकाकी निवर्तमान उपप्रमुख समेत रहेकी श्रेष्ठ, एमाले कोशी प्रदेश कमिटी सदस्य पदम थापा, झापा क्षेत्र नम्बर ३ का सदस्य सज्जाद आलम, एमाले बाह्रदशी गाउँपालिका सदस्य हवालोदिन मियाँ र बाह्रदशी सचिवालय सदस्य रहिम मियाँले सामूहिक रूपमा पार्टीबाट राजीनामा दिएका हुन्।
भद्रपुर–८ निवासी श्रेष्ठले एमालेमा लागेको ३० वर्ष लामो यात्रालाई आजबाट टुंगाएको बताएकी छिन्।
‘पार्टीका नेताहरूमा आफूलाई राजा, महाराजा, शासक ठान्ने संस्कार संस्कृति देखियो,’ उनले भनिन्, ‘नेतृत्वमा देवत्वकरण हुन थाल्यो, आफूलाई अन्धाधुन्ध समर्थन गर्ने कार्यकर्ताहरूलाई काखी च्याप्ने र ठिकलाई ठिक, बेठिकलाई बेठिक भन्ने तथ्यबाट सत्य खोज्ने र हरेक घटना र परिवेशलाई द्वन्द्वात्मक भौतिकवादी ढंगले विश्लेषण गर्ने कार्यकर्ताहरू भेदभाव र पक्षपातको सिकार बन्न थालेकोले पार्टीमा बसिराख्नु उचित देखिन्।’
समाजमा अन्याय र विभेदविरुद्ध लड्ने एमाले पार्टीमा हामी जस्ता कार्यकर्ताहरू नै अन्याय र भेदभावबाट प्रताडित भइरहँदा समेत अन्तर पार्टी संघर्ष गर्दै पार्टीलाई एकताबद्ध बनाई राख्न र यसमा देखिएका विकृति, विसंगति अन्त्य गर्न निरन्तर रूपमा हामी लागि परेको बताउँदै उनले भनिन्, ‘हुँदा हुँदा आज आएर पार्टीमा रहेर टेक्ने ठाउँ र सुधारका प्रयत्न गर्ने आधारहरू समेत समाप्त पार्ने प्रयास भइसकेको छ।’
अब पार्टीबाट अलग भई स्वतन्त्र बस्ने उनको भनाइ छ। पार्टी नेतृत्वको दम्भ, घमन्ड र अहंकारको कारण म मात्र नभई अब विस्तारै झापाबाट अधिकांश कार्यकर्ताहरूले क्रमशः पार्टी छाड्दै जाने उनको दाबी छ।
त्यस्तै प्रदेश कमिटी सदस्य तथा बाह्रदशी गाउँपालिकी थापाले पार्टीलाई केही सिन्डिकेट र ठेकेदारले कब्जामा लिएर चलाएकाले त्यस्तो पार्टीमा बस्नु उचित नदेखिएको बताए।
रातलाई रात भन्न नसकेर दिन भन्ने जस्तो परिपाटी एमालेमा मौलाउँदै गएको उनको भनाइ छ। यता उनीहरूले सामूहिक राजीनामा दिँदै जारी गरिएको प्रेस विज्ञप्तिमा पार्टीप्रति १८ बुँदे असहमति उल्लेख गरेको छ।
एमाले झापा जिल्ला कमिटीको सिफारिसमा पार्टीका उपसचिव श्रेष्ठ, प्रदेश कमिटी सदस्य थापालाई पार्टीको हित विपरीत गतिविधि गरेको आरोप लगाउँदै केही दिनअघि मात्र साधारण सदस्य समेत नरहने गरी पार्टीले निष्कासन गरिसकेको एमाले स्रोतले जनाएको छ।