राजनीतिमा इमान र नैतिकता देखिएन (भिडियो वार्ता)
काठमाडौं: अधिवक्ता जगदीश दाहालले राजनीतिमा इमान र नैतिकताको संकट देखिएको बताएका छन्।
अन्नपूर्ण पोस्टको कार्यक्रम 'द न्यूज मेकर'मा भूपाल लुइटेलसँग कुरा गर्दै अधिवक्ता दाहालले दुई महिनाभित्रै सरकारलाई विश्वासको संकट उत्पन्न हुनु राम्रो संकेत नभएको बताए।
उनले भने, 'राजनीतिमा इमान र नैतिकता देखिएन। दुई महिनाभित्रै सरकारलाई विश्वासको संकट उत्पन्न हुनु राम्रो संकेत होइन्।'
अहिलेको राजनीतिक परिघटनाले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई मात्रै होइन नेपाली कांग्रेसलाई पनि संकट पर्ने दाहालले बताए।
'सरकारलाई विश्वासको मत दिएर समर्थन गरेको कांग्रेस यही समयमा प्रमुख प्रतिपक्षका लागि दाबी गर्दै पत्र नै लेख्यो। अब कुन नैतिकताले उसले फेरि सरकारमा जाने ? अप्ठ्यारो देखिन्छ,' उनले भने, 'त्यही दल प्रमुख प्रतिपक्षी भन्ने बैधता हुँदाहुँदै प्रधानमन्त्रीले सरकारमा लानु नैतिक देखिन्न। यो ठूलो संवैधानिक प्रश्न त होइन, तर प्रश्न उठ्ने ठाउँ नराख्ने हो भने प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिएर पुनर्नियुक्ती लिदा राम्रो हुन्छ।'
सरकार अल्पमतमा नभएसम्म संविधानको धारा १०० मा किटान नै गरेर जे लेखिएको भए पनि विश्वासको मत लिन जरूरी नरहेको दाहालले बताए। उनले भने, 'धारा १०० मा भएको व्यवस्थाको मनसाय सरकार अल्पमतमा परेको खण्डमा मात्रै विश्वासको मत लिने भन्ने हो।'
नेपाल कानूनी छिद्रकै पछाडि लाग्दा अगाडि बढ्न नसकेको बताउँदै उनले नेताहरूको मनसाय ठिक नभएसम्म जतिसुकै संवैधानिक र कानूनी व्यवस्था गरे पनि मुलुकले समृद्धिको बाटो नसमाउने बताए।
प्रतिक्रिया दिनुहोस !
