कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै लान्छ: विश्लेषक भट्टराई (भिडियो वार्ता)
काठमाडौं: विश्लेषक लोककृष्ण भट्टराईले पछिल्लो विकसित घटनाक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एकीकृत समाजवादका अध्यक्ष माधवकुमार नेपालले भूल गरेको बताएका छन्।
अन्नपूर्ण पोस्टको कार्यक्रम 'द न्यूज मेकर'मा भूपाल लुइटेलसँग कुरा गर्दै भट्टराईले प्रचण्ड र माधव नेपालले महाभूल गरेको बताए। उनले भने, 'पछिल्लो विकसित घटनाक्रममा प्रधानमन्त्री प्रचण्ड र माधवकुमार नेपालले महाभूल गरेका छन्। जुन तत्काल एमालेले क्षमा दिने विषय छैन। तर अभिभावक दल भएकाले केपी ओलीले समेट्नुपर्छ।'
अब एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने विश्लेषक भट्टराईले बताए। उनले भने, 'प्रचण्ड-माधवले धोका दिएकाले राष्ट्रपति चुनावपछिको केही महिनाभित्रै ओलीले देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्छन्। कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै लान्छ।'
प्रचण्डलाई अब कांग्रेसकै सहयोगमा हेग पुर्याइने पनि उनले बताए। उनले भने, 'प्रचण्डलाई हेग जानबाट कांग्रेसले जोगाउने होइन। हेग पुर्याउन सहयोग गर्छ। कांग्रेसबाट सरकार सुरक्षित हुँदैन। तत्काल लाभ देखिए पनि माओवादी अन्तत्वगत्वा सकिने बाटोमा गएको छ।'
प्रतिक्रिया दिनुहोस !
