राष्ट्रपति उम्मेदवारमा महन्थको नाममा सहमति खोज्दैछौं, प्रतिस्पर्धा गर्न पनि तयार छौँ (भिडियो वार्ता)
काठमाडौं: लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता डा.सुरेन्द्र झाले अबको राष्ट्रपतिमा महन्थ ठाकुरका नाममा सहमति जुटाउन पहल गरिरहेको बताएका छन्।
अन्नपूर्ण पोस्टको कार्यक्रम 'द न्यूज मेकर'मा भूपाल लुइटेलसँग कुरा गर्दै नेता झाले सदनका सबै दल र सदनबाहिरका नागरिक अगुवादेखि बुद्धिजिवीसम्म छलफल अघि बढाउने बताए ।
'केपी ओली-प्रचण्ड र शेरबहादुर देउवाले अरूले सहमति जनाए महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन सकिनेमा आश्वस्त पार्नु भएको छ,' उनले भने, 'हामी अब सदनका सबै दल र सदनबाहिरका नागरिक अगुवादेखि बुद्धिजिवीसम्मलाई भेट्छौँ।'
महन्थ ठाकुरलाई निर्विरोध राष्ट्रपति बनाउने उद्देश्यका साथ आफूहरू जुटेको बताउँदै उनले प्रतिस्सपर्धा हुने अवस्था आयो भने पनि पछि नहट्ने बताए। दुई पक्षबीच मात्रै प्रतिस्पर्धा हुने भयो भने राष्ट्रपति पदका लागि चाहिने कुल मतभार विभाजित हुँदा नेट टु नेट प्रतिस्पर्धा हुने अवस्था आउने झाले बताए।
'महन्थ ठाकुरजीको व्यक्तित्व र उहाँले नेपाली राजनीतिमा दिएको योगदानले राष्ट्रपति पदको गरिमा जोगिन्छ। राष्ट्रपति पद राजनीति गर्ने थलोको रूपमा विकसित भइरहँदा उक्त पदमा भएको चरम राजनीतिबाट त्यो संस्थाको गरिमा जोगाउन महन्थ ठाकुरजी सबैभन्दा उपयुक्त पात्र हुनुहुन्छ,' उनले भने, 'हामी विश्वस्त छौँ। उहाँ नै राष्ट्रपति बन्नुहुन्छ। राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति सन्तुलन र विश्वासका दृष्टिले पनि महन्थजी उपयुक्त हुनुहुन्छ। दलीय राजनीति र द्वन्द्वबाट जोगाउन पनि सन्तुलिन भूमिका खेल्न सक्ने पात्र भएकाले महन्थजीको नाम उपयुक्त हुन्छ।'
प्रतिक्रिया दिनुहोस !
