शिलान्यासको २ वर्षमा कार्यालय स्थापना

शिलान्यासको २ वर्षमा कार्यालय स्थापना
कञ्चनपुर दैजी–छेला औद्योगिक क्षेत्रको सम्पर्क कार्यालय उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी।
सुन्नुहोस्

महेन्द्रनगर : कञ्चनपुरको बहुचर्चित दैजी–छेला औद्योगिक क्षेत्रको जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा भोगाधिकार प्राप्त नहुँदै दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली शिलान्यास गरे। अढाइ दशकदेखि चर्चामा रहेको यो औद्योगिक क्षेत्र शिलान्यास भएको यही फागुन १० गते २ वर्ष पुग्दैछ। २ वर्षभित्र पूर्वाधार निर्माण गरिसक्ने लक्ष्य लिइएको दैजी–छेलामा भौतिक पूर्वाधारतर्फ अहिलेसम्म कुनै पनि काम सुरु हुन सकेको छैन। अहिले पनि सो जग्गाको भोगाधिकार प्राप्त नहुँदै सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले औद्योगिक क्षेत्रको सम्र्पक कार्यालयको उद्घाटन गरेका छन्। कञ्चनपुरको वेदकोट नगरपालिका–२ स्थित औद्योगिक क्षेत्रको शिलान्यासको दुई वर्षपछि अहिले रूख छपानको काम भइरहेको छ।

औद्योगिक विकास लिमिटेडले शिलान्यास भएको १ महिनाभित्र उद्योग स्थापनाका लागि आशयपत्र आह्वान गर्ने, त्यसको आधारमा ६ महिनाभित्र उद्योगीहरूलाई चाहिने न्यूनतम् पूर्वाधार (अस्थायी सडक, विद्युत्, पानीलगायत)को व्यवस्थापन गरी औद्योगिक क्षेत्रको काम अघि बढ्ने बताएको थियो तर दुई वर्षभित्र उद्यमीका लागि आवश्यक पूर्वाधार तयार गरी सञ्चालनमा ल्याउने र ५ वर्षभित्र सम्पूर्ण पूर्वाधार निर्माण गरिसक्ने लक्ष्य राखेको कम्पनीले आशयपत्र आह्वान र रूख छपानको कामबाहेक अन्य भौतिक प्रगति गर्न सकेको छैन।

वेदकोट नगरपालिकामा २०५१ सालदेखि छेलामा औद्योगिक क्षेत्र स्थापनाको चर्चा हुँदै आएको छ। नगर प्रमुख भोजराज बोहराले औद्योगिक क्षेत्रमा अहिले रूख छपानको काम भइरहेका बताए। ‘अहिले औद्योगिक क्षेत्रमा ४० हजार रूख छपान भइसकेका छन्। यसको वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने बेला करिब २७ हजार रूख थिए’, नगर प्रमुख बोहराले भने, ‘केही प्राविधिक जटिलताले यहाँका जनताको उद्योग स्थापना गर्ने सपना ढिला नहोस।”  उनले अब विकास सुदूरपश्चिमबाट हुनुपर्ने रऔद्योगिक क्षेत्र स्थापनाले यस क्षेत्रका जनताले रोजगारीका प्रसस्त अवसर पाउने दाबी गरे। औद्योगिक क्षेत्रसँगै सडक विस्तार गर्नुपर्ने उनको सुझाव छ। 

सम्पर्क कार्यालयको स्थापना गर्दै उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले कार्यालय स्थापना भएसँगै औद्योगिक क्षेत्रको काम अघि बढ्ने बताए। ‘म जति दिन मन्त्री रहेपनि औद्योगिक क्षेत्रको काम अघि बढाउन लाग्ने छु’, उनले बाचा गरे, ‘जग्गाको भोगाधिकारको एक महिनाभित्र मन्त्रिपरिषदबाट निर्णय गराउँछु।’

सुक्खा बन्दरगाह र यो औद्योगिक क्षेत्रको कामका लागि बजेट अभाव नहुने मन्त्री भण्डारीले आश्वासन दिए। उनले यस क्षेत्रका गौरवका योजनाहरूलाई सम्पन्न गर्नका लागि आफू लागिपरेको बताए।  

२०७७ साउन १८ मा स्वीकृत भएको वातावरण प्रभाव मूल्यांकनअनुसार दैजी–छेलामा करिब २५ हजार रूख कटानी गर्नुपर्नेछ। सो क्षेत्रमा अहिले ४४ हजार रूख रहेकाले पुनःसमस्या आउनसक्ने बताउँदै नगर प्रमुख बोहराले मन्त्रीको ध्यानाकर्षण गराए। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक संजयलाल मानन्धरले रूख छपानको काम सकिएर मन्त्रिपरिषद्बाट भोगाधिकार दिने निर्णय भएपछि मात्र रूख कटानदेखि भौतिक संरचना निर्माण अघि बढ्ने उनले बताए।

औद्योगिक क्षेत्र लिमिटेडका अनुसार उक्त औद्योगिक क्षेत्रमा एक उद्योगका लागि पाँच कठ्ठादेखि पाँच बिघा जमिन छुट्टयाइएको छ। ‘औद्योगिक क्षेत्र निर्माणका लागि ९ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ’, महाप्रबन्धक मानन्धरले भने, ‘उद्योग स्थापना भएमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी २२ हजारले रोजगारी पाउँनेछन्।’ सयवटा औद्योगिक प्लट रहने दैजी–छेला औद्योगिक क्षेत्रमा साना उद्योगका लागि २३, मझौला उद्योगका लागि ४४ र ठूला उद्योगका लागि ३३ प्लट छुट्टयाइएको छ। यो औद्योगिक क्षेत्रको निर्माण सम्पन्न भएर उद्योगहरू सञ्चालनमा आए सुदूरपश्चिमकै आर्थिक विकासले फड्को मार्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.