चोभार सुक्खा बन्दरगाहको आन्तरिक टर्मिनल सञ्चालनमा
काठमाडौं : चोभार सुक्खा बन्दरगाहको आन्तरिक टर्मिनल सञ्चालनमा ल्याउन तयारी भएको छ।
आयात निर्यात (एक्जिम) टर्मिलन गत चैत २२ गतेदेखि सञ्चालनमा रहेको भए पनि डोमेस्किट टर्मिनल सञ्चालनमा आएको थिएन। मंगलबार वाणिज्य तथा आपूर्ति मन्त्रालय सचिव मधुकुमार मरासिनीको अध्यक्षतामा बसेको बैठकले आन्तरिक टर्मिनल सञ्चालनको अनुमति तथा दररेट स्वीकृत गरेसँगै केही दिनमै आन्तरिक टर्मिनल सञ्चालनमा ल्याउन सकिने भएको हो।
नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार सुक्खा बन्दरगाह सञ्चालनमा आएको १० महिनापछि आन्तरिक टर्मिनल (आन्तरिक आयात-निर्यात क्षेत्र) सञ्चालनमा आउँदै छ। ‘समिति सञ्चालकको बैठकले गरेको निर्णय प्राप्त भएसँगै अब सरोकारवालाई सुविधा प्राप्त गर्न आह्वान गर्दै पत्र लेखेका छौं,’ कार्यकारी निर्देशक गजुरेलले अन्नपूर्ण पोस्ट्लाई भने, ‘एक–दुई दिनभित्रै टर्मिनल सञ्चालन हुनेछ।’ भएको पूर्वाधारको अधिकतम उपयोग गर्ने अभिप्रायले आन्तरिक टर्मिनललाई लजिस्टक्स हबको कन्सेप्टबाट सञ्चालन गने लागिएको हो। कुल २ सय ३० रोपनीमा बनेको बन्दरगाहको १ सय ३० रोपनीमा भन्सारका गतिविधि (आयात निर्यातको काम) सञ्चालन भइरहेको छ। समितिले ९० रोपनीमा आन्तरिक टर्मिनल चलाउने भएको हो। कार्यकारी निर्देशक गजुरेलका अनुसार आयात-निर्यातकर्तालाई सडक किनारामा सवारी साधन रोकी मालसामान पल्ट गर्नुपर्ने, चर्को मूल्यको गोदाम शुल्क तिर्नु पर्ने बाध्यताको पनि अन्त्य भएको छ। ‘टर्मिनल सञ्चालनमा आएपछि हाल उपत्यकामा भइरहेको अव्यवस्थित मालवाहक सवारी पार्किङ कमी हुनेछ,’ गजुरेलले भने, ‘अव्यवस्थित पार्किङका कारण निम्तिने दुर्घटनाको जोखिम पनि न्यूनीकरण हुनेछ।’
नेपालमा सरकारी लजिस्टिक्स हबको अभावमा मालवाहक गाडी विभिन्न स्थानमा रोकेर राख्ने गरिएको छ। निजी क्षेत्रबाट सञ्चालित लजिस्टक्स सेन्टर निकै महँगो पर्न जान्छ। अव्यवस्थित रूपमा भइरहेको काम व्यवस्थित गर्ने, मालवाहक सवारीलाई पार्किङ सुविधा दिने, व्यापारीलाई गोदाम प्रयोग गर्न दिने, प्याकेजिङ लेबलिङजस्ता काम पनि यही यार्डमा गर्न मिल्ने गरी विकास गरिएको गजुरेलको भनाइ छ।
‘हामीले बन्दरगाहको अधिकतम उपयोग गर्ने तयारी गरेका छौं, पार्किङ, गोदाम प्रयोग र स्पेस प्रयोग गर्ने दररेट पनि सार्वजनिक भइसकेको छ,’ उनले भने। सुक्खा बन्दरगाहको आन्तरिक टर्मिनलमा १५० वटा गाडी पार्किङ गर्न सकिन्छ। यस्तै व्यापारीले १३ सय वर्ग मिटर क्षमताको गोदामघरमा आफ्ना सामान भण्डारण गर्न सक्नेछन्। टर्मिलनमा ८० मेट्रिकटन क्षमताको सवारी नापतौल, लोड-अनलोड सेड, चालक तथा कामदारका लागि शौचालयको व्यवस्था छ।
गजुरेलका अनुसार उक्त टर्मिनल प्रयोगको लागि प्रवेश शुल्क निःशुल्क गरिएको छ। सकेसम्म न्यूनतम शुल्कमा सवारी साधनहरूको पार्किङ, मालसामानको लोडिङ-अनलोडिङ, सामान राख्ने गोदामघर, लगायतका सुविधा दिइनेछ। नयाँ टर्मिनलमा कन्टेनर र ट्रकका लागि पाँच वर्षसम्म लोडिङ-अनलोडिङ सुविधा सित्तैमा पाइन्छ। अन्य शुल्क पनि निकै सस्तो रहेको गजुरेलको दाबी छ। २०७५ माघ ३ गते शिलान्यास भएको ३८ महिनापछि काठमाडौंको चोभारमा सुक्खा बन्दरगाहको निर्माण कार्य सम्पन्न भई २०७८ चैत्र २२ गते उद्घाटन भई सञ्चालनमा आएको हो।
काठमाडौंमा व्यापार सम्बद्ध भौतिक पूर्वाधारको अभावमा लजिस्टिक व्यवस्थापनमा समस्या भएकाले व्यापार सहजीकरणका लागि एकद्वार प्रणालीबाट आयात-निर्यातकर्तालाई सेवा प्रदान गर्ने एवं काठमाडौं प्रवेश गर्ने ढुवानी साधनलाई व्यवस्थित गर्ने उद्देश्यले सरकारले चोभारमा सुक्खा बन्दरगाह बनाएको हो। चोभार सुक्खा बन्दरगाह परिसरमा एक्जिम क्षेत्र (आयात-निर्यात हुने सामान लिएर आउने-जाने मालवाहक सवारी साधनको लागि) डोमेस्टिक क्षेत्र (मुलुकभरबाट काठमाडौं आउने मालवाहक सवारी साधनको लागि लोडिङ-अनलोडिङ, पार्किङ, गोदामलगायतका सुविधाको लागि) गरी दुई भागमा विभाजन गरी संरचना निर्माण भएको छ।