एकैसाथ हाइकुका आठ पुस्तकको विमोचन
काठमाडौं: नेपाल हाइकु केन्द्रले एकैसाथ आठ जना हाइजिनका आठ पुस्तक विमोचन गरेको छ।
शुक्रबार आयोजित विशेष हाइकु गोष्ठी तथा पुस्तक विमोचन कार्यक्रममा अमेरिका बसोबास गर्दै आएका पुरु सुवेदीको हाइकु संग्रह 'कमल', कोरियामा बसोबास गर्ने प्रमोद सारङको 'असर्फी', बिमल गिरीको 'सुनाखिरी', पशुपति कर्मचार्यको 'जाई', डा यादव ढुङ्गानाको 'सूर्यमुखी', दिव्य गिरीको 'भुइँकुहिरो', मन्जु ज्ञवालीको 'ट्युलिप' र निता श्रेष्ठको 'नित्य नूर' विमोचन गरिएको हो।
विमोचन कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका पूर्वउपकुलपति तथा जापानका लागि नेपाली राजदूत केदार भक्त माथेमाले हाइकु जापानीजहरूको जीवनशैलीमा नै जोडिएको साहित्यक विधा भएको स्मरण गराए। जीवनको अनुभूतिलाई प्रकृतिसँग जोडेर प्रस्तुत गर्न सक्नु नै हाइकुको खास सीप हुने उनको भनाइ छ।
नेपाल हाइकु केन्द्रका अध्यक्ष प्राध्यापक राम कुमार पाँडेले जापान र कोरियामा चर्चित साहित्यक विधाहरू :हाइकु, हाइगा, सेन्र्यु र सिँजोको महत्त्व बारे चर्चा गर्दै साहित्यले विश्व समुदायलाई जोड्न सकिने बताए।
विमोचित कृति बारे समीक्षा गर्दै डा.मित्रबन्धु पौडेलले प्रकृति, अध्यात्म, मानवीय अनुभूति, धर्म, संस्कार लगायतका समाजका विविध पक्षको खँदिलो प्रस्तुतिका कारण कृतिहरूले न्याय गरेको चर्चा गरे।
हाइजिन शान्ति सापकोटाले हाइकु सजिलो मात्र नभइ खँदिलो लेखन विधा रहेको उल्लेख गरे। कार्यक्रममा विमोचित पुस्तकका सर्जकहरूले आआफ्ना कृतिबाट ५-५ वटा हाइकु वाचन गरेका थिए।
हाइजिन शिरोमणि दवाडीले हाइकु वाचन कुशलता बारे प्रस्तुति दिएका थिए। कार्यक्रममा नेपाल हाइकु केन्द्र कोरिया च्याप्टरका तर्फबाट प्रा.राम कुमार पाँडेलाई सम्मान गरिएको थियो।