हङकङमा उदाए तुलसी
_20230131100521.jpg)
हङकङ : हङकङ नेप्लिज तेक्वान्दो संघले स्थापनाको २०औं वार्षिकोत्सव मनाएको छ। हङकङको जोर्डनस्थित मल्टी कल्चरल एक्टिभिटी सेन्टरमा आयोजित कार्यक्रममा संघमा आवद्ध सदस्य तथा खेलाडीहरूले दुई दशक लामो यात्राको शुभकामना आदनप्रदान गरेका थिए।
वार्षिक उत्सव कार्यक्रममा हङकङ नेप्लिज तेक्वान्दो संघका अध्यक्ष तुलसीकुमार गुरुङको आत्मकथा ‘तुलसी’को लोकार्पण गरिएको थियो। नेपालमा केही महिना अघि विमोचन गरिएको पुस्तकलाई गुरुङ अध्यक्ष रहेको संघले गौरवमय २०औं वर्ष पूरा गरेको खुसीयालीमा नेपाल बाहिर पनि लोकार्पण गरेको हो।
पुस्तकलाई गंगा गुरुङ, हङकङ नेपाली महासंघ अध्यक्ष रीता गुरुङ, हङकङ नेपालीब् यापार संघका अध्यक्ष प्रकाश पुन, विभिन्न संस्थाका प्रतिनिधी, ब्यवसायी, स्थानीय संघसस्थाका प्रतिनिधिलगायतले संयुक्त रुपमा लोकार्पण गरेका थिए।
कार्यक्रमलाई थप रौनकता दिन नेपालबाट लोक गायिका सुनिता दुलाल हङकङ आएकी थिइन्। फाउन्डेसनको पब्लिक रिलेसन डाइरेक्टरसमेत रहेकी दुलालले आधा दर्जन गीतमार्फत कार्यक्रममा सहभागीहरूलाई नचाएकी थिइन। सार्वजनिक पुस्तकमा मास्टर गुरुङको जन्म गाउँ वार्चोकदेखि हङकङसम्मका जीवनका आयामलाई समेटिएको छ। हङकङेली नेपाली समाजमा निडर, साहसी, कर्तब्यनिष्ठ र इमान्दारिताको छवि बनाएका तुलसीकुमार गुरुङ बहुआयामिक ब्यक्तित्व हुन्। भूतपूर्व ब्रिटिस आर्मी गुरुङ हङकङ राष्ट्रिय तेक्वान्दो टोलीका प्रमुख प्रशिक्षकसमेत रहिसकेका छन्। उनी अन्तर्राष्ट्रिय निर्णायक पनि हुन्।
तेक्वान्दोका आठौं डान गुरुङ समाज सेवामा पनि उत्तिकै सक्रिय छन्। उनकै अग्रसरतामा नेपालमा भूकम्प पीडितहरूको सहयोग हेतु वि विल राइज फाउन्डेसन सञ्चालन गरेका थिए। फाउन्डेसनका अध्यक्षसमेत रहेका उनले सामाजिक सहयोगका विभिन्न कार्यक्रम पनि सञ्चालन गरिरहेका छन्। फाउन्डेसनले नेपालमा पर्यटकीय सम्भावनाको खोज अभियानलाई सहयोग पुर्याउन ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस !
