मुस्किलले जोगाएको उम्मेदवारीसहित एएफसी निर्वाचनमा सहभागी हुँदै एन्फा अध्यक्ष नेम्वाङ

मुस्किलले जोगाएको उम्मेदवारीसहित एएफसी निर्वाचनमा सहभागी हुँदै एन्फा अध्यक्ष नेम्वाङ

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङ एसियाली फुटबल महासंघ (एएफसी) को निर्वाचनमा सहभागी हुन मंगलबार बहराइन जाँदैछन्। बहराइनको मनामामा फेब्रुअरी १ मा हुने ३३औं एफसी कंग्रेसले २०२३ देखि २०२७ सम्मका लागि एसियाली फुटबलको नयाँ नेतृत्व चयन गर्नेछ।

त्यसका लागि एन्फा अध्यक्ष नेम्वाङले दक्षिण एसियाबाट सदस्य पदमा उम्मेदवारी दिएका छन्। नेम्वाङसहित सदस्य पदमा १४ जनाको उम्मेदवारी परेको छ। खुल्ला सदस्यका लागि नेम्वाङसँगै दक्षिण एसियाबाट भारतका डा. शाजी प्रभाकरण र माल्दिभ्सका बासाम अडिल जलिल गरी तीन जनाको उम्मेदवारी दिएका छन्।

दक्षिण एसियाबाट सदस्य पदमा उम्मेदवारी दिएका नेम्वाङले आफू उत्साहित भएको बताएका छन्। उनले जित्नेमा आशावादी रहेको बताए। 

त्यसैगरी पश्चिम एसियाबाट इराकका अद्नान दर्जल मोटार, जोर्डनका लोकी कुमेइस युसुफ उमेस, कुवेतका अब्दुल्लाह अहमद अल्साहिन अलाबिया, ओमानका सलिम सइद सलिम अल वाहाइबी र संयुक्त अरब इमिरेट्स (युएई)का अब्दुल्लाह नासिर अल्जनेइबीले उम्मेदवारी दिएका छन्।

खुल्ला सदस्य पदमा मध्य एसियाबाट तुर्कमेनिस्तानका अर्स्लान ऐनाजारोभ र उज्वेकिस्तानका इर्माटोभ राभसान तथा आसियानबाट अस्ट्रेलियाका क्रिस निकोउ, थाइल्यान्डका मोम्योत पुम्पानमुङ र भियतनामका ट्रान कुयोक टुआनले उम्मेदवारी दिएका छन्। पूर्वी एसियाबाट भने हङ्कङका फोक काइ शान इरिकको मात्र उम्मेदवारी परेको छ।

त्यस्तै अध्यक्ष पदमा वर्तमान अध्यक्ष बहराइनका शेख सल्मान बिन इब्राहिम अल खालिफाको एक्लो उम्मेदवारी परेको छ। अध्यक्षमा एकल उम्मेदवारी परेका कारण शेख सल्मान अर्को कार्यकालका लागि निर्विरोध भइसकेका छन्।

यसैगरी पाँचै क्षेत्रका एक–एक गरी पाँच उपाध्यक्षका लागि हुने निर्वाचनमा पश्चिम एसिया, दक्षिण एसिया, आसियान र पूर्वी एसियाबाट एक–एक जनाको मात्र उम्मेदवारी परेको छ। दक्षिण एसियाबाट भुटानका उगेन छेचुप, पश्चिम एसियाबाट लेबनानका हाचिम हैदर, आसियानबाट म्यानमारका जाउ जाउ र पूर्वी एसियाबाट मंगोलियाका गान्बाटार अम्गालान्बाटर निर्विरोध भइसकेका छन्।

मध्य एसियाबाट भने इरानका मेहदी ताज र किर्गिज गणतन्त्रका डास्टानबेक कोनोक्बेभबीच उपाध्यक्ष पदका लागि निर्वाचन हुने भएको छ।

त्यस्तै ६ जना फिफा काउन्सिल सदस्यका लागि हुने निर्वाचनका लागि सात जनाको उम्मेदवारी परेको छ। यसबाट निर्वाचित हुने मध्ये एक जना एएफसीको महिला कार्यसमिति सदस्य पनि हुने व्यवस्था छ।

पाँच महिला कार्यसमिति सदस्य पदका लागि पश्चिम एसियाबाट प्यालेस्टिनकी सुसान रियाद एब्डेल्रहिम अल्सालाबी, दक्षिण एसियाबाट बंगलादेशका माहफुजा अख्तर र आसियानबाट लाओसका केन्या कियोमानीको उम्मेदवारी परेको छ।

मध्य एसियाबाट यो पदका लागि कसैले उम्मेदवारी दिएका छैनन् भने पूर्वी एसियाबाट चाइनिज ताइपेईकी लियो शिह फाङ र उत्तर कोरियाकी हान उन ग्योङले उम्मेदवारी दर्ता गराएका छन्।

उम्मेदवारी जोगाउनै सकस
एन्फा अध्यक्ष नेम्वाङले गत असोजमा उम्मेदवारी दर्ता गराएका थिए। यद्यपि, उनको उम्मेदवारीको खबर बाहिरिएसँगै एन्फाका उपाध्यक्ष दीपक खतिवडा नेतृत्वको संस्थापनइत्तर समूहले उनको उम्मदेवारी खारेजीको माग गर्दै एएपफसीलाई ई-मेलमार्फत पत्राचार गरेको थियो। त्यो समूहका १४ कार्यसमिति सदस्यले समर्थन (१२ जनाले हस्ताक्षर) गरेको पत्रसहित खतिवडाको उम्मेदवारी कायम राख्न आग्रहसमेत गरिएको थियो। ‘अध्यक्षले कार्यसमितिलाई थाहै नदिई आफू खुशी ढंगले उम्मेदवारी दिएको’ आरोपसमेत उनीहरूले लगाएका थिए।

जसको जवाफमा एएफसीले असोज २५ गते एन्फालाई पत्राचार गरेर ध्यानाकर्षण भएको बताएको थियो। एएफसीको निर्वाचन कमिटीका सचिव एन्ड्रयु मेर्करले एन्फा उपाध्यक्ष विराटजंग शाहीलाई पठाएको पत्रमा ‘एएफसीको निर्वाचन कमिटीले नेम्वाङको उम्मेदवारीमाथि समिक्षा गर्दै प्रतिक्रिया जनाउनका लागि’ एन्फालाई पत्राचार गरिसकेको उल्लेख छ। उनले आगामी फेब्रअरी एक र दुईमा बहराइनको मानामामा हुने एएफसीको ३३औं चुनावी साधारणसभामा उम्मेदवारी दिने व्यवस्थाबारे अगस्ट १५ मै सबै सदस्य संघलाई जानकारी गराइसकिएको उल्लेख गरेका थिए।

त्यसपछि एन्फाको कात्तिक २९ गते दशरथ रंगशालामा बसेको बैठकले अध्यक्ष नेम्वाङले नै प्रतिनिधित्व गर्ने मौखिक सहमती भएको एन्फाका प्रवक्ता सुरेश साहले जानकारी गराए। 

‘यो विषयमा एन्फाको विधानमै अध्यक्षले नेतृत्व गर्ने व्यवस्था छ, तर, बैठकबाट निर्णय गर्नु अझै व्यवस्थित हुन्छ,’ उनले अन्न्पूर्णसँग भने, ‘अरू कार्यसमिति सदस्यहरूले एएफसीमा पत्र लेखेपछि दशरथ रंगशालामा बसेको बैठकमा अध्यक्षले नै प्रतिनिधित्व गर्ने मौखिक सहमती भएपछि यो विषय त्यहीँ क्लोज भयो।’

खतिवडाको ‘च्याप्टर क्लोज’

यद्यपि, चुनावका आकांक्षी उपाध्यक्ष खतिवडा भने अध्यक्षले केही सदस्यलाई विभिन्न प्रलोभनमा पारेर आफूतर्फ उक्साएको आरोप लगाएका छन्।

‘यो विषय कार्यसमितिमा छलफल गरेर बहुमतले निर्णय गरेर पठाउनु हो,’ खतिवडाले भने, ‘अध्यक्षले आफूखुशी गरेपछि मेरो नेतृत्वमा १४ जनाले एएफसीलाई पत्र पठाएको सर्वविधितै छौं। तर, त्यसपछि एन्फा अध्यक्षले मेरो समर्थनमा रहेका केही साथीहरूलाई विभिन्न प्रलोभनमा पारेर आफू १३ र मलाई ९ को अवस्थामा पुर्याएपछि म फेरि हस्ताक्षर बटुल्नमा लागिँन।’

खतिवडालाई सुरुमा १३ जना कार्यसमिति सदस्यले समर्थन गरेका थिए। तीमध्ये उपाध्यक्ष विराटजंग शाही, महिला सदस्य सरिला श्रेष्ठ र सदस्यहरू रोबिन चन्द, पुरुषोत्तम थापा, विकासनारायण श्रेष्ठ, मणी विष्ट, मनिष जोशी, महेन्द्र क्षेत्री, टिका लामा, रमेश व्यन्जनकार, कुमार केसी (दीर्घबहादुर)को हस्ताक्षर थियो। उपत्यकाबाहिर रहेका कारण सदस्य भोजराज साहीले हस्ताक्षर गर्न सम्भव नभएको तर सहयोगको बाचा गरेकाले नाम उल्लेख गरेको खतिवडाले बताएका थिए।

तर, पछि एएफसीले उत्तर खोज्दा पाँच जना सदस्यहरु- मनिष जोशी, सरिला श्रेष्ठ, विकास नायारायण श्रेष्ठ, पुरुषोत्तम थापा र मनिणराज विष्टले समर्थन नगरेपछि खतिवडाको च्याप्टर क्लोज भएको थियो।

भोलि अध्यक्ष नेम्वाङ दुई सदस्यहरु- अनिल मल्ल र मनिष जोशी गरी तीन सदस्य बहराइन जाँदैछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.