हङकङमा मनाईयो टोपी दिवस
हङकङ: जनवरी १, अन्तराष्ट्रिय टोपी दिवस। विश्वमा रहेका नेपालीले साझा पहिचानको रुपमा टोपी दिवस मनाउँदै आईरहेका छन्। नेपाली पहिचानस्वरुप राष्ट्रिय पोशाककोरुपमा टोपीलाई सगरमाथासँग तुलना पनि गर्ने गरिन्छ ।
५ बर्षदेखि हङकङमा रहेका नेपालीहरुले पनि टोपी दिवस मनाउँदै आएका छन्। आईतबार हङकङकै पर्यटकीय क्षेत्र स्टारफेरिमा एक कार्यक्रमकाबीच टोपी दिवस मनाईयो। विभिन्न संघसस्थाका प्रतिनिधि, व्यवसायीका साथमा स्थानीयले टोपी प्रर्दशनी गरेका थिए।
टोपी दिवस कार्यक्रमका संयोजक तथा हङकङ चेम्बर्स अफ कर्मसका अध्यक्ष लवकुमार गुरुङ भन्छन्, 'विदेशमा हामी नेपालीहरु विभिन्न क्षेत्र, समुदाय र सम्प्रदायबाट आएका छौ, तर विदेशीहरुले हामीलाई चिन्ने भनेकै नेपाली भनेर हो । हाम्रो साझा पहिचान र राष्ट्रको गौरवको प्रतिक टोपीलाई विदेशी भूमिबाट संरक्षण गर्न पाउँदा राष्ट्र र राष्ट्रियताप्रतिको सम्मान महशुस भएको छ।'
कार्यक्रममा हङकङस्थित महावाणिज्यदूत उदयबहादुर राना मगरले नेपालीको पहिचानलाई यहाँ हुर्किरहेका पुस्तामा स्थानान्तरण गर्न पनि यस्ता प्रकारका कार्यक्रमको आयोजना गर्नुपर्ने बताए । रानाले समुन्द्रपारीको मुलुकमा बसेपनि आफ्नो देश र पहिचानलाई चिनाउँन निरन्तर लागिपर्ने सम्पुर्ण हङकङेली नेपालीहरुलाई धन्यवाद दिए।
कार्यक्रममा नेपाल एयरलाईन्स हङकङ कन्ट्रि म्यानेजर नवराज उपाध्याय, व्यवसायी तथा समाजसेवी तुलसी उप्रेती, अर्चन गुरुङ, हङकङ नेपाली साझा श्रृखलाका संयोजक रमण गुरुङ, लेखक अरेन्द्र गुरुङ, साहित्यकार दाज्यु गुरुङ, नेवार समाज हङकङका प्रतिनिधी शत्रुधन उदास लगायतले नेपाली टोपी र यसको गरिमाका विषयमा आफ्नो धारणा राखेका थिए।
प्रतिक्रिया दिनुहोस !
