भोजपुरमा सत्ता गठबन्धनको आमसभा नजिकै बम विस्फोट, बम पड्काउने विप्लव कार्यकर्ता घाइते
भोजपुर : भोजपुरमा सत्ता गठबन्धनको चुनावी सभा नजिकै बम विस्फोट भएको छ। पौवादुङमा गाउँपालिका-२ को तिवारी भन्ज्याङमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने कार्यक्रम नजिकै बम विस्फोट गराइएको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार बम विस्फोट गराइएको ठाउँ चुनावी सभास्थलभन्दा दुई सय मिटर टाढा हो। विस्फोटमा एक जना घाइते भएका छन्। प्रहरीका अनुसार विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य सुमन श्रेष्ठ घाइते भएका छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मोबाइल जडित बम विस्फोट गराइएको हो। टिफिन बक्सभित्र विस्फोटक पदार्थ भेटिएको प्रहरीले जनाएको छ।