गृहकार्यबिनै डबल लिग : क्लब र खेलाडी भने उत्साहित

गृहकार्यबिनै डबल लिग : क्लब र खेलाडी भने उत्साहित

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग डबल राउन्ड रोबिन पद्धतिमा गर्ने प्रस्ताव अनुमोदन गरेको छ। मंगलबार बसेको एन्फा कार्यसमिति बैठकले ‘ए’ डिभिजन लिग डबल राउन्ड रोबिन पद्धतिमा गर्ने निर्णय अनुमोदन गरेको हो। 

सोमबार सम्पन्न वर्कसपबाटै नेपाली फुटबलको नियमायक निकाय र ‘ए’ डिभिजन लिगका क्लबबीच डबल राउन्ड रोबिनका लागि सहमति जुटेको थियो। एन्फाले यसअघि तयारी खर्च स्वरुप दिँदै आएको २२ लाख ५० हजार रुपैयाँमा १० लाख बढाएर ३२ लाख ५० हजार पुर्‍याएको छ। पुरस्कार राशि ७५ लाख यथावत भए पनि तयारी खर्च बढाएपछि क्लबहरू डलब लिग खेल्न तयार भएका हुन्। एन्फाले लिगको विषयमा छलफल गर्न क्लबलाई बोलाएपछि उनीहरु पूर्वतयारी गरेर मात्रै एन्फा मुख्यालय पुगेका थिए। विभागीय टोली बाहेक ११ क्लबबीच छलफल गर्ने तयारी भए पनि मनाङ मस्र्याङ्दीका प्रतिनिधि उपस्थित नभएपछि १० क्लबले एन्फासँग सम्झौताका लागि तयारी गरेका थिए। सोही अनुसार उनीहरूले तयारी खर्च बढाउन र मंसिर १५ गतेभित्र पहिलो किस्ता उपलब्ध गराउन एन्फासँग माग गरेका थिए। 

घरेलु लिग डबल राउन्ड रोबिन पद्धतिमा हुनु नेपाली फुटबलका लागि नौलो थिएन। यसअघि २०६२ मा पहिलो पटक ‘ए’ डिभिजन डबल लिग पद्धतिमा भएको थियो। त्यो संस्करणमा सहभागी १५ क्लबले २८ खेल खेलेका थिए। यस्तै २०६३ मा पनि लगातार डबल लिग पद्धतिमा लिग भएको थियो। सहभागी १४ टोलीले २६ खेल खेलेका थिए। ‘ए’ डिभिजन लिगको सबैभन्दा उत्कृष्ट संस्करण २०६६/६७ लाई मानिन्छ। डबल लिग पद्धतिमा भएको लिगमा सहभागी १२ क्लबले २२ खेल खेलेका थिए। विगतको तुलनामा थोरै टिम भएकाले खेल थोरै हुँदा खेलाडी घाइते हुने र आराम नपुग्ने समस्या कम भएको थियो। सोही कारण फुटबल समीक्षक सो लिगलाई उदाहरणीय संस्करणका रुपमा सम्झिन्छन्।

‘नेपाली फुटबलको विकास र खेलाडीको पनि आर्थिक तथा प्राविधिक पक्ष सुधारका लागि डबल लिग एकदमै आवश्यक छ’, नेपाल पुलिस क्लबबाट २०६६/६७ को लिग विजेता रविन श्रेष्ठ भन्छन्, ‘त्यसबेला धेरै पक्ष राम्रो भएको थियो। अहिले पनि डबल लिग गर्ने एन्फाको निर्णय स्वागतयोग्य छ।’ उनी एथेष्ठ तयारीबिना हतारमा डबल लिग गर्नु नहुने बताउँछन्। ‘एकैचोटी डबल लिग गर्दा तयारी नपुग्न सक्छ। क्लबहरूले पनि तयारी गर्न भ्याउँदैनन्’, उनले भने, ‘यो वर्ष राम्रो तयारी गरेर अर्को वर्षबाट लागु गरेको भए राम्रो हुन्थ्यो।’

क्लबहरु भने एन्फाको निर्णयबाट उत्साहित छन्। लिगको मर्म नै डबल राउन्ड हुने भएकाले एन्फाको निर्णइ स्वागतयोग्य भएको नवप्रवेशी चर्च ब्वाइज क्लबका अध्यक्ष रुबेन राई बताउँछन्। ‘हामी सिंगल राउन्डकै तयारीमा थियौं। घरेलु फुटबलको विकासका लागि राम्रो हो भन्ने जान्दाजान्दै पनि विगतमा दोहोरो लिगले निरन्तरता पाउन सकेन’, अध्यक्ष राईले भने, ‘तयारी खर्च थप हुने र खेलाडीको पनि हित हुने भएपछि हामी तयार नहुने कुरै भएन।’ गत सिजन ‘बी’ डिभिजन लिगबाट बढुवा भएको चर्च ब्वाइजका लागि पहिलो सिजन नै दोहोरो लिग खेल्न पाउनु राम्रो मौका भएको र त्यसका लागि उत्साहित रहेको अध्यक्ष राईले बताए।

संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर पनि डबल लिग घरेलु फुटबल र खेलाडीको हितमा रहेको बताउँछन्। ‘हामीले पहिलेदेखि नै दोहोरो लिग भनिरहेका थियौं। तर, भूकम्प र कोभिडले गर्दा त्यो सम्भव भएन’ एन्फाका पूर्वमहासचिवसमेत रहेका तुलाधरले भने, ‘अहिले त्यस्तो बाधा केही छैन। डबल लिग हुनु राम्रो हो। हामी पनि त्यसैअनुसार तयारी गछौं।’ उनले तयारी खर्चको पहिलो किस्ता समयमै नआए निर्धारित समयमा लिग सुरु हुनेमा भने आशंका व्यक्त गरे। ‘मंसिर १५ गतेभित्र तयारी खर्चको पहिलो किस्ता दिने सहमति भएको छ’, उनले भने, ‘त्यसैअनुसार भयो भने माहोल राम्रो बन्छ। क्लबहरूले गत वर्षको भुक्तानी पनि पाएका छैनन्। फुटबल पनि गरौं, पुरानो हिसाब पनि मिलाउँदै जाऊँ भनेर हामी तयार भएका हौं।’ उनले क्लबहरूले खेलाडी सम्झौता गर्न थालिसकेको बताए। 

गत वर्ष तयारी खर्चबापत क्लबहरूले पहिलो किस्ताको १५ लाख रुपैयाँ मात्रै पाएका थिए। क्लबहरुले सात लाख ५० हजार पाउन अझै बाँकी छ। एन्फाले यस वर्ष मंसिर १५ गतेभित्र पहिलो किस्ताबापतको १५ लाख रुपैयाँ उपलब्ध गराउने भनेको छ। यस्तै पहिलो चरण अर्थात १४ वटै क्लबले १३/१३ खेल खेलिसकेपछि दोस्रो किस्ता र लिग सकिएपछि तेस्रो किस्ता दिने सहमति भएको छ। १५ दिनभित्र तयारी खर्चको पहिलो किस्ता दिनु एन्फाका लागि ठूलै चुनौती छ। 

यसअघि चैत २९ गते सुरु हुने भनिएको सहिद स्मारक ‘सी’ डिभिजन लिग पनि तयारी खर्चको पहिलो किस्ता भुक्तानी नभएपछि एक दिन अगाडि स्थगित भएको थियो। यसपाली भने त्यस्तो समस्या आउन नदिने एन्फाका महासचिव किरण राई बताउँछन्।

‘सुरुमा एकल राउन्ड लिग हुने भनिए पनि क्लबहरूसँग दिनभर छलफलपछि दोहोरो लिगको सहमतिमा पुगेका हौं’, महासचिव राईले भने, ‘तयारीको पहिलो किस्ताको रकम उपलब्ध गराउनु पर्ने चुनौती हामीसामु भए पनि तोकिएकै समयमा रकम उपलब्ध गराउन प्रयास गरिरहेका छौं।’ डबल लिगको निर्णय गरेर एन्फाले सकारात्मक सन्देश मात्रै नभई काम पनि गर्न खोजेको उनले दाबी गरे। ‘सकारात्मक सन्देश दिन मात्रै यो निर्णइ भएको होइन। काम पनि गर्न एन्फाले यो निर्णय गरेको हो’, उनले भने, ‘फु्टबल विकासको मेरुदण्ड नै घरेलु लिग हो। त्यसैले खेलाडीले फुटबल खेलेरै जीविकोपार्जन गर्ने अवस्था सिर्जना गर्न र लिगलाई व्यावसायिक बनाउन यो निर्णय भएको हो।’

फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामाले पनि एन्फाको निर्णय स्वागतयोग्य रहेको बताए। ‘एन्फाको निर्णय हामी सबै खेलाडीका लागि स्वागतयोग्य निर्णय हो’, उनले भने, ‘खेलाडीले खेलेरै आफ्ना आवश्यकता पूरा गर्ने अवस्था सिर्जना गर्न र आफ्नो क्षमता देखाउन पनि लामो संरचनाको लिग आवश्यक छ।’ पछिल्लो समय देखिएको खेलाडी पलायनको समस्यामा पनि यो निर्णयले न्युनिकरण गर्ने उनी बताउँछन्। ‘नियमित फुटबल भइरह्यो भने खेलाडी खेल्नमै व्यस्त हुन्छन्’, लामा भन्छन्, ‘खेलाडीको ध्यान पनि फुटबलमै हुन्छ। यसो भएमा खेलाडी पलायन हुने समस्या पनि रोकिन्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.