सर्लाही २ मा गठबन्धनका राजेन्द्र र महेन्द्रबीच मित्रवत् प्रतिस्पर्धा
मलंगवा : सर्लाही निर्वाचन क्षेत्र नं. २ बाट लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो र नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवले प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएका छन्।
राजेन्द्र महतो लोसपाबाट उम्मेदवारी दर्ता गराएका छन् भने महेन्द्र यादव माओवादीको चुनाव चिन्ह हसियाँ हथौडाबाट उम्मेदवारी दर्ता गराएका छन्। दुबै जना एउटै गठबन्धमा रहे पनि सिट बाँडफाँटमा कुरा नमिल्दा मित्रवत प्रतिस्पर्धा गर्ने भनि उम्मेदवारी दर्ता गराएका छन्।
आफ्नो पुरानो क्षेत्र सर्लाही २ नै रहेको र यस क्षेत्रका जनताले यहीबाट चुनाव लड्न आग्रह गरेपछि धनुषा छोडेर सर्लाही आएको बताएका छन्। यसअघि महतो धनुषा क्षेत्र नं. ३ बाट चुनाव जितेका थिए। महेन्द्र यसै क्षेत्रबाट चुनाव जितेका थिए।
महेन्द्र राय यादवसँग प्रदेश सभा (क)मा नेसपाका सुनिल साहले उम्मेदवारी दिएका छन् भने ख बाट नेपाली कांग्रेसका कौशल किशोर यादवले उम्मेदवारी दिएका छन्। राजेन्द्र महतोसंग प्रदेश ख बाट पूर्व जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीले उम्मेदवारी दर्ता गराएका छन् भने क खाली राखेका छन्। प्रदेश सभा क बाट नेपाली कांग्रेसका जंगीलाल रायले उम्मेदवारी दिएका छन्। उनीसँग तालमेल गर्नका लागि लोसपाले क खाली राखेको छ।