उजाडिए सीमाका वन

उजाडिए सीमाका वन

फिदिम : कुनैबेला पहाडका टाकुरा, तराईका फाँट र हिमालका फेदी बहुमूल्य जडीबुटीसहितको हरियो वनले ढकमक्क भरिएका थिए। त्यतिबेला नेपाललाई चिनाउन ‘हरियो वन नेपालको धन’ भन्ने उखान चल्तीमा थियो। तर, अहिले सीमाक्षेत्रका वनलाई हेर्दा यो उखानले नेपाललाई गिज्याएजस्तो लाग्छ। 

भारतसँग सिमाना जोडिएका नेपालका वनहरू उजाड छन्। बहुमूल्य जडीबुटी पाइने वनको संरक्षण नहुँदा वनहरू चरन क्षेत्रमा परिणत भएका हुन्। भारतको पश्चिम बंगाल र सिक्किमसँग सिमाना जोडिएका उच्च पहाडका वन उजाडिएका छन्। सीमापारि भारततर्फ भने घना जंगलले पहाडका टाकुराहरू हरियाली देखिन्छन्। पारि हरियाली बारी उजाड भएको दृश्यले नेपाल र भारतलाई प्रष्ट छुट्ट्याएको छ। वन संरक्षणमा राज्यले चासो नदेखाउँदा सीमा क्षेत्र उजाड बनेको हो। 

तर, डिभिजन वन कार्यालय पाँचथर सीमा क्षेत्रका वन संरक्षणका लागि पर्याप्त काम भएको दाबी गर्छ। ‘भौगोलिक बनावटका कारण सीमा क्षेत्रका वनहरू उजाड देखिएका हुन्,’ डिभिजन वन कार्यालय पाँचथरका अधिकृत धनञ्जय लामिछानेले भने, ‘सीमा क्षेत्रका वनहरूलाई घाँसेमैदानको रूपमा विकास गरिएकाले घना जंगल नभएको हो।’ पछिल्लो समयमा रुख कटान रोकिएको उनको दाबी छ। उक्त क्षेत्रमा नयाँ बिरुवाहरू हुर्कन नसक्ने उनी बताउँछन्। 

तर, वन संरक्षणका लागि राज्यले प्रभावकारी कार्यक्रम सञ्चालन गर्न नसक्दा सीमाक्षेत्रका वनहरू मासिएको स्थानीय बताउँछन्। ‘पछिल्लो समयमा चोरी निकासी केही रोकिएको हो,’ चाररातेका चौरीपालक किसान जंग राईले भने, ‘तर, अहिले वन मासिएको छ। रुखका ठुटाहरू मात्र छन्। फेरि वन फैलाउन प्रभावकारी कदम चाल्नुपर्छ।’ वन संरक्षणका कार्यक्रमहरू सञ्चालन गरेर नयाँ बिरुवा रोप्नुपर्ने स्थानीयको माग छ। 
सीमापारि भारतको सिंहलिला नेसनल पार्क पर्छ। भारततर्फका वनमा हरियाली छाएको छ। वन संरक्षणका लागि भारत सरकारले पशुपालन गर्न र वनलाई चरन क्षेत्रको रूपमा प्रयोग गर्न बन्देज गरेको छ। ‘भारतले वन बढाउन मात्र खोजेको छ,’ चौँरीपालक कृषक महासंघका केन्द्रीय सचिव चन्द्रलाल नेपालले भने, ‘उताको जंगलमा छिर्नसमेत पाइँदैन। त्यसको तुलनामा हाम्रा वनहरू उजाड छन्। पछिल्लो समयमा वन संरक्षणका लागि केही काम सुरु भएको छ तर, प्रभावकारी रूपमा काम गर्नुपर्छ।’ 

पाँचथरको याङवरक गाउँपालिकाको चिवाभन्ज्याङदेखि इलामको सन्दकपुरसम्मकोे ४२.८ किलोमिटर वन क्षेत्र पर्छ। याङवरक गाउँपालिका—१ को फालोट लामपोखरी सामुदायिक वन र याङवरक—२ को इवाखोला तिम्बुपोखरी सामुदायिक वन भारतसँग जोडिएका छन्। फालेलुङ गाउँपालिका—४ को जलजले पोखरी सामुदायिक वन, सिखरगुम सामुदायिक वन र फालेलुङ ६ को कन्यादेवी सामुदायिक वन भारतसँग जोडिन्छन्। सीमा जोडिएका यी वनहरूको माथिल्लो क्षेत्र उजाड देखिएको हो। यी क्षेत्रमा रुख काटिएका ठुटाहरू मात्र भेटिन्छन्। 

सीमा क्षेत्रमा राज्यको उपस्थिति फितलो भएकाले यहाँको वन उजाडिएको हो। सीमा क्षेत्रका वनमा पाइने बहुमूल्य जडीबुटी र लोपोन्मुख वन्यजस्तुको समेत संरक्षण हुन सकेको छैन। नेपालतर्फको वनमा परम्परागत रूपमा चौरी पालिएकाले यो ठाउँलाई चरन क्षेत्रको रूपमा प्रयोग गरिएको छ। जसका कारण वन क्षेत्रमा नयाँ बिरुवाहरू हुर्कन सकेका छैनन्। ‘सीमा क्षेत्रको वनलाई चरन क्षेत्रको रूपमा प्रयोग गरिएको छ,’ लामिछानेले भने ‘पहिलेजस्तो वन फँडानी भएको छैन्। वन उपभोक्ता समितिले आफ्नो इन्धनका लागि मात्र रुख काटेका छन्। त्यसलाई रोक्न इन्धनका वैकल्पिक साधनहरू प्रयोग गर्न थालिएको छ।’ तर, स्थानीयहरू लामिछानेको यो तर्कमा सहमत छैन्। वन कार्यालयले नै संरक्षणमा चासो नदिँदा वन उजाड बन्दै गएको आरोप लगाएका छन्। 

सीमा क्षेत्रको वनमा विभिन्न १४ प्रजातिका लालीगुराँस पाइन्छ। विश्वमै लोपोन्मुख रेडपाण्डा (हाब्रे) लगायतका वन्यजन्तु पाइने बन उजाड बन्दै गएको हो। बहुमूल्य जडीबुटी सतुवा, विखुमा, पाखनवेद, पाँचाऔँले, कुड्की, केन्जो, लौठसल्ला, वन लसुन र चिम्फिङलगायतका जडीबुटीहरू लोप हुन लागेका छन्। पाँचथरमा ६६ हजार पाँच सय ८२ हेक्टर अर्थात् ५३.५६ प्रतिशत जमिन वन क्षेत्रमा पर्छ। अधिकांश वन उच्च पहाडमा छन्। उच्च पहाडका सीमावर्ती क्षेत्रका वनहरू उजाड बनेका हुन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.