‘पैसामा भोट बेच्दैनौं’

‘पैसामा भोट बेच्दैनौं’

जनकपुरधाम : महोत्तरी जिल्लाको बलवा नगरपालिका—१० धमौराको मुसहर बस्ती चुनावी पोस्टर, पम्प्लेट र झन्डाहरूले रंगिचंगी छ। यहाँ २ सय ५० घर मुसहर र करिब २५ घर चमार जातिको बसोबास छ। यो बस्तीका नागरिकलाई बिहानको छाक टारे बेलुका के खाने भन्ने पीर हुन्छ। दैनिकी कस्टकर छ। 

बाक्लो बस्ती भए पनि पानीको स्रोतका रूपमा चारवटा चापाकल मात्रै छन्। शौचालय भेटिँदैन। खुला चौरमा नै उनीहरूको शौचालय हो। न त विद्यालय छ, न सार्वजनिक दलान नै। तर, चुनाव नजिकिँदै जाँदा नगरपालिकाको बजेटबाट मुसहरहरूका देवता भुइयाँ महराजको मन्दिर निर्माणका लागि जग बसाल्ने काम गरिएको छ। यतिका समय नगरपालिकाको ध्यान यहाँका नागरिकको जीवन सुधार्नमा गएकै थिएन। 

विकासको आधुनिक दौडमा निकैपछि परेको धमौराको मुसहर बस्तीमा अहिले चुनावको बेला चहलपहल निकै बढेको छ। चुनाव नजिकिएपछि नेता कार्यकर्ताको चहलपहल मात्रै बाक्लिएको छैन आचारसंहिताविपरीत पर्चा, पम्प्लेट र झन्डा ल्याएर घरमा टाँसिदिएका छन्। पछिल्लो साढे चार वर्षदेखि मुख देखाउनसमेत नआएका जनप्रतिनिधि र विभिन्न दलका नेताहरू देखिन थालेका छन्। गरिब मुसहरहरूको माटोको झोपडीका भित्ताहरूमा पोस्टर टाँसेर प्रचारबाजी गरिरहेका छन्। मुसहर बस्तीमा आउने नेताहरूले पैसा र मदिराको प्रलोभन पनि दिने गर्छन्। तर, वर्षौंदेखि ठगिएका यी मुसहर र दलितहरूले यसपटक एउटै जवाफ फर्काउने गरेका छन्, ‘हामी पैसामा भोट बेच्दैनौं।’

‘अहिले त राति सुतेको बेला पनि नेताहरू भोट माग्न आउँछन्। हजार, २ हजारको प्रलोभन दिन्छन् तर, यसपालि पैसा दिएर हामी भोट दिँदैनौं,’ मुसहर बस्तीकी ६० वर्षीय बुधनीदेवी सदाले भनिन्, ‘अहिले एक हजार दिएर भोट लिनेहरू भोलि कुनै काम पर्दा पाँच हजार घुस माग्छन् अनि हामी कहाँबाट दिने ? त्यसैले यसपालि पैसा र दारुमा हामी मुसहरहरूले भोट दिँदैनौं।’ मुसहर समुदायमा मदिरा सेवन ठूलो श्राप नै बनेको र गाउँघरमा खुलेका अवैद्य भट्टीहरूले गर्दा गाउँसमाज नै बर्बाद हुन लागेकाले यस्ता रक्सीका भट्टीहरू बन्द गराउने र समाज सुधार्नेलाई नै आफूले भोट दिने बुधनीले सुनाइन्। 

‘बस्तीमा एउटा राम्रो विद्यालय छैन। हाम्रो बालबच्चाहरू पढ्न पाएका छैनन्। पहिला पनि नगरपालिकामा गएर पटक–पटक मेयरलाई यस विषयमा जानकारी गराएकै हौ तर, कसैले मतलब राखेन। अहिले भोट माग्न आउनेहरूसँग हामी विद्यालयको माग गर्छौं,’ ४० वर्षीय विजय माझीले भने, ‘दलित बस्तीको भोट जहिले पनि दारु, मासु र पैसामै बिक्री हुँदै आएको छ। त्यसैले होला पूरै दुनियाँ परिवर्तन भए पनि हाम्रो अवस्था जस्ताको तस्तै छ।’ अब भने यस बस्तीका नागरिक यो विषयमा सचेत बनेको उनीहरू बताउँछन्। ‘हामी पनि सचेत भएका छौं। आफ्नो भोट यति सस्तो कुराहरूको लागि खेर फाल्ने छैनौं,’ माझीले भने। 

मधेसमा गाउँका दलित बस्तीहरू राजनीतिक दलका लागि भोट बैंकको रूपमा रहँदै आएका छन्। यी बस्तीहरूमा चुनावकै बेला देखापर्ने नेता कार्यकर्ताहरूले आर्थिक प्रलोभनमा पारेर बढीभन्दा बढी मत पाउने प्रयास गरेका हुन्छन्। तर, पछिल्लो साढे चार वर्षमा स्थानीय तहका जनप्रतिनिधिहरूले दलित बस्ती उकास्नका लागि कुनै पनि पहल गरेनन्। यसपटक प्रलोभनमा पारेर भोट पाउन निकै गाह्रो हुने दलित अधिकारकर्मी चन्देश्वर सदा बताउँछन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.