चाररातेमा चौंरी महोत्सव
फिदिम : पाँचथरको फालेलुङ गाउँपालिका–४ चाररातेमा ‘पाँचौं फालेलुङ चौंरी पर्यटन महोत्सव २०७९’ को तयारी सुरु गरिएको छ। उच्च पहाडी क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने र चौंरी संस्कृतिको विकास गर्दै जैविक विविधताको संरक्षण गर्ने उद्देश्यले महोत्सवको तयारी गरिएको हो।
नयाँ वर्षको अवसरमा आयोजित पाँचौ चौंरी महोत्सव पाँच दिनसम्म सञ्चालन हुने मूल आयोजक समितिका सचिव सुनील बान्तवाले बताए। ‘विगत वर्षमा एकदिने महोत्सव गरिँदै आएको थियो,’ फिदिममा आयोजित पत्रकार सम्मेलनमा बान्तवाले भने, ‘यो वर्ष पाँच दिनसम्म महोत्सव सञ्चालन गर्ने तयारी गरेका छौं।’ वैशाख १ गते महोत्सवको उद्घाटन गर्ने तयारी छ।
फालेलुङ कञ्चनजंघा पर्यटन प्रवद्र्धन संस्था, श्री दीप ज्योति युवा क्लब र कञ्चनजंघा चौरीपालन तथा संरक्षण संस्थाले संयुक्त रूपमा महोत्सवको तयारी गरेका हुन्। ३ हजार ५ सय ६० मिटरको उचाइमा रहेको नेपाल, भारतको वेस्ट बंगाल र सिक्किमको सिमानामा रहेको चाररातेमा महोत्सवको तयारी गरिएको हो। महोत्सवमा करिब पाँच सय चौरीहरू एकैसाथ प्रदर्शन गर्ने तयारी गरिएको छ। चौंरी संस्कृति लोप हुँदै गएकाले त्यसको संरक्षणका लागि महोत्सवको आयोजना गरिएको हो। महोत्सवमा सहभागीलाई स्थानीय संस्कृति झल्कने परिकारहरू खुवाउने तयारी छ। स्थानीय उत्पादनको प्रदर्शनी, भेडाको उनबाट बनेका सामग्रीहरूको बिक्री, घोडचढी, याकचढी गोठबासको (गोठस्टे) समेत व्यवस्था गरिएको छ।
महोत्वसको अवसरमा उत्कृष्ट चौरीपालक किसानलाई सम्मान गरिने भएको छ। सोही अवसरमा प्रथम याक गोल्डकप सञ्चालन गर्ने तयारी छ। गोल्डकपमा चौंरीपालक किसानहरू सहभागी हुने बताइएको छ। महोत्सवमा सहभागीलाई नेपाल भारतको सीमावर्ती क्षेत्रको अवलोकनसमेत गराउने तयारी छ। यो क्षेत्र पर्यटकीय हिसाबले अब्बल गन्तव्य हो।
‘चौंरी उच्च पहाडको सौन्दर्य मात्र नभएर नेपालको सम्पत्ति पनि हो,’ बान्तवाले भने, ‘चौंरीको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने हाम्रो मुख्य उद्देश्य हो।’ चरन क्षेत्र व्यवस्थित नभएपछि पछिल्लो समयमा चौंरी गोठहरू घट्दै गएका छन्। गोठमा चौंरी घट्ने क्रमसँगै चौंरी संस्कृति हराएकाले संस्कृति संरक्षणका लागि महोत्सवको तयारी गरिएको हो।