श्रीस्वस्थानीमा जीवन दर्शन
मूर्तिमा सुनको जलप लगाउन पुग्ने तर मन्दिर बाहिर भोको व्यक्ति नदेख्ने संस्कृति हामीमा छ।
नेपालीका घरघरमा पढिने श्रीस्वस्थानी कथा र नेपालीको व्यथा यो वर्ष फेरि उजागर भएको छ। हरेक वर्ष माघ महिनाभरि सतीदेवी र महादेव अनि पार्वतीको कथा बोकेको स्वस्थानीको मेला काठमाडौं उत्तर पूर्वी भागको साँखु सहर छेवैमा लाग्ने गर्छ। त्यसो त संसारमा ३३ करोड पीठ छन्, त्यसमा सबैतिर पुग्न सकिन्न। जीवनभरिमा ५० पीठमा भने पुग्नुपर्ने शास्त्रीय मान्यता छ। सतीदेवीको निधन हुँदा पति महादेवले उनको लासलाई लिएर विश्व परिभ्रमण गर्ने क्रममा पहिले गुह्य पतन भई पीठ बनेको ‘गुह्येश्वरी’ पावन पशुपति क्षेत्रमै छ। दाँत पतन भएको क्षेत्र दन्तकाली धरानमा, जिब्रो पतन भएको क्षेत्र बाँकेको बागेश्वरीलगायत सयौं पीठ नेपालमै छन्। अन्त्यमा बाँकी सर्वांग पतन भएको क्षेत्र दैलेखको धुलेश्वर सधैं चर्चाको विषय हो।
सतीदेवीले अर्को जीवन पार्वतीका रूपमा यहीँका हिमालय र पत्नी मेनकाका गर्भबाट जन्मिएर पति शिवलाई पाउन एक महिनासम्म स्वस्थानीको व्रत गरेको गौरीघाट र शालीनदी क्षेत्रले सर्वत्र चर्चा पाएकै छ। स्वस्थानीको अर्को सशक्त चित्रण गरिबीको छ। हो, देशमा आज पनि बेरोजगारी छ र गरिबी पनि। ‘मुनामदन’मा महाकविले मुनाको दुःख र पति मदनले भोटमा पाएको कष्टको चर्चा गरेका छन्। स्वस्थानी सत्य युगको कथा हो, खोलाहरूमा धेरै पानी बगे तर परिवेश उही छ हाम्रो। उही अशिक्षा, उही भोक, बढी रोग, र त विश्व कहाँ पुग्यो ? हामी अल्पविकसित र श्रम बेचिएको पैसाले धानिएको अर्थतन्त्रमा छौं। ‘स्वस्थानी’ को मूल पात्र शिवकी छोरी गोमाको बिहे सानै उमेरमा शिव शर्मासँंग भएको पाइन्छ। उनी गर्भिणी हुँदा घरमा खानाको अभावले पति परदेसिएका थिए।
सन्तानको लालनपालनका लागि घर खर्च जुटाउन विदेश गएका शिव शर्माको उतै मृत्यु हुन्छ। यता गोमाले छोरो पाउँछिन्, जसोतसो हुर्काउँछिन् पनि। छोरो नवराज खेल्न जाँदा छिमेकीले घोचपेच गर्छन् र भन्छन् ‘बिनाबाबुको छोरो’। पीडाले नवराज बाबु खोज्दै बिदेसिन्छन्। मरेका बाबुको हाडखोड पत्ता लगाई अन्तिम संस्कार गरी केही खर्चको जोहो गर्दै आमा भेट्न आइपुग्छन्। पति, पुत्र दुवैको बेचैनीमा रहेकी गोमा स्वस्थानी गुहार्दै माघ मासको व्रत गर्छिन्। आपत्कालमा सम्झने ईश्वर नै त हो। छोरो एक्लै फर्केको देखेर आमा पतिको वियोगमा डुब्छिन्। जसोतसो सम्हालिएर छोरालाई ठूलो हुने, पौरख गर्ने आशीर्वाद र स्वस्थानीको प्रसाद दिन्छिन्। अहिले पनि उही समस्या छ, खाडीमा गएर बाकसमा लास फर्केको स्थिति देशमा रोजगारी नभएरै त हो।
अझ भनौं देशको अर्थतन्त्र पूरै रगत बेचिएको विप्रेषणमा चलेको छ। यहाँ विदेशीले खर्बौं खर्ब लगानी गरिसके तर देश ऋणमै छ। उत्पादन छैन, मूल व्यवसाय खेतीमै समस्या छ। उर्बर भूमि टाठाबाठाको हातमा प्लटिङमा छ। रासायनिक मलको हाहाकार छ। खाना, नाना र छानाका लागि बिदेसिनुपर्ने बाध्यता छ। स्वस्थानीमा कुटिर उद्योगको चर्चा छ। ऊन, राडी, पाखी घरेलु कामको संकेत छ। आज पनि त्यही विषय हाम्रा लागि ठूलो भार भएको छ। भएका उद्योग टाठाबाठाले बेचिदिए। केही रुग्ण छन्, सबैलाई विदेशी व्यापार गर्न, छिटो धनी हुन मन लाग्छ। विदेशी व्यापारबाट कमाइने भन्सार राजस्वले देशको महँगो राजनीतिक संयन्त्र चलेको छ। यहीं धेरै विलासिताका सामग्रीहरूको आयात हुन्छ। स्वदेशी बिजुली महँगो छ, विदेशी इन्धनमा प्रतिलिटर ५० रुपैयाँ जति कर नै तिर्नु पर्छ।
स्वस्थानीका पात्रहरू सबैजसो अभावमा जिएका छन्। वियोगको सागरमा पौडी खेलेका छन्। हो, त्यो पीडा अहिले पनि उस्तै छ। विदेशीले सिमाना मिच्छ, बहादुरी इतिहासका वीर गोर्खालीको रवाफ घुमिल हुन्छ। सुगौली सन्धिपछि साहित्यको रस वीर रसबाट एकाएक भक्ति रसमा परिणत भई भानुभक्तीय रामायणको चर्चा हुन्छ घरघरमा। राष्ट्रियताको बजार चुनावी मैदानमा हुन्छ। भाषा, धर्म र संस्कृतिमा औपनिवेशिकता, तुइन तर्दा मृत्युवरण, सिमानामा तातो गोली, पौडी खेलेर महाकाली पार गर्दा एकसरो कपडामा सहर परिक्रमाको बेइज्जती, एकै युवती नौ जनाको बलात्कारको सिकार आदि अहिलेका घटनाक्रम हुन्। यसै सेरोफेरोमा देशले समाजवादको खोक्रो नारा लिएर आत्मरतिमा अल्झिएको छ। संविधानमा सबै मौलिक हक, शिक्षा, स्वास्थ्य, रोजगारी, आवास, दलित, निमुखा, असहाय, महिला, ज्येष्ठ नागरिक, स्वच्छ हावाको पनि चर्चा छ। तर यी सबै खोज्न सकिने अवस्था छैन। देशमा बिचौलिया र विदेशी हावी छ।
स्वस्थानीको शाब्दिक अर्थ हुन्छ, स्व स्व (आआफ्नो) स्थानमा बसेर आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्नु। पथ भ्रष्ट हुने स्वस्थानीका केही पात्र खेर गएका छन्।
स्वस्थानीका पात्रहरू, तिनले पछिल्लो जीवन सुखमा बिताएको प्रसंग छ। अभावै अभावका बीच दुःख पाएको नवराजले पछि रोजगारी मात्रै होइन, ठूलो सम्मान पाउँछन्। आमा खुसीको आँसु बगाउँछिन् तर नवराज पत्नी रानी भएको जोसमा होस गुमाउँछिन्। शालीनदीका किनारामा ठूलै कष्ट पाउँछिन्, पदको दुरुपयोग गर्दा। हाम्रा नेपालीको रंग उस्तै छ। मिठो खाने, राम्रो लाउने सपना अधुरै छन्। दिनदिनै पासपोर्ट बनाउने भीड बढेको छ। वृद्धहरू गाउँमा बेसहारा छन्। गाईगोठहरू रित्ता छन्। विदेशी पाउडर दूध बहन्छ सहरमा। यहाँ मेलम्ची होइन, विदेशी मिनरल वाटर, ह्विस्की, ड्यु, कोक, फ्यान्टा, जंंकफुड, फास्टफुडले स्वास्थ्य कुरुप बन्छ। श्रम नगर्ने र कोठाबाटै मोबाइलले संसार हाँकिन्छ।
युवा पुस्ता बेमौसमको राजनीति र दुव्र्यसनीमा फसेको छ। स्वस्थानीको शाब्दिक अर्थ हुन्छ, स्व स्व (आआफ्नो) स्थानमा बसेर आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्नु। पथ भ्रष्ट हुने स्वस्थानीका केही पात्र खेर गएका छन्। आफ्नो मर्यादा नबस्दा विश्वलाई एक तृण बराबर सम्झने स्वयं विष्णुले वृन्दाको श्रापका कारण शिला, झार हुनु परेको छ। सत्यको अर्थ सत्य नै हुन्छ, निष्ठा र इमान्दारिता बिर्संदा रानीको सोखले आफन्तको मोहमा पर्दा चन्द्रावतीलाई असह्य वेदना सहनु परेको छ। रानी बन्दा पनि खान नपाएर अरूले ल्याइदिएको बासी भात खान लाग्दा खरानी भएको थियो। त्यो पनि खान खोज्दा हावाले उडाएर लगेको र धरधरी रुनु परेको अवस्था छ। हेर्दा कथा जस्तो लाग्छ तर मर्म आजकै हो। आज पनि बाली लगाउने असारमा प्रकृतिको वितण्डा छ।
बाली उठाउने मंसिरमा उही समस्या छ। विगत पाँच वर्षमा सबैभन्दा कम धान बालीको उत्पादन यो वर्ष भएको भनी कृषि मन्त्रालयले भनेको छ। धान उत्पादनको लक्ष्य ६० लाख मेट्रिकटन लिँदा जम्मा ५१ लाख मेट्रिकटनमा चित्त बुझाउनु परेको छ। खाने मुख बढेका छन् तर उत्पादन घटेको छ। देशमा व्यापारघाटा चुलिँदै छ, जसरी ऋण चुलिएको छ। चन्द्रवतीलाई ल्याइएको झोलाको भातभन्दा परिवेश के फरक भयो त ? बाली भित्र्याउन नपाई प्रकृतिले उडाएर लगेको अवस्था छ। हाम्रो देश धर्मको देश हो तर यहाँ अधर्मका काला बादल मडारिएका छन्। मूर्तिमा सुनको जलप लगाउन पुग्ने तर मन्दिर बाहिर भोको व्यक्ति नदेख्ने संस्कृति छ। सिंहदरबार या कुनै आलिशान महलमा, उच्च सुरक्षाको घेरामा, विलासी गाडी र जिमखाना, सरकारी उपचारमा रहनेहरू एक पटक साँखु पुगेर चन्द्रावतीको दर्शन गर्नु बेस हुन्छ।
त्यहाँसम्म पुग्न सकिन्न भने गौरीघाटमा पार्वतीले व्रत गरेको प्रदूषित वागमतीको चित्कार सुन्छिन्। दुई मुठो रायो साग लिएर कोठामा गई आफ्नै हातले या आफ्नै परिवारले पकाएर दिएको एक छाक खाना खान सके अझ माओको समाजवादको चित्र कोर्न सकिन्छ होला। र त महाकविले भने ‘सुनका थैला हातका मैला के गर्नु धनले, साग र सिस्नो खाएर बस्नु आनन्दी मनले’। राजनीतिको रडाकोले देश कामिरहेको छ अहिले। माटो छोप्ने डोजरे र असारे विकासले गलिरहेको छ देश। समाजवादको नाराले पेट भरिएन। शरीर ढाकिएन। लालाबाला पालिएनन्। शिक्षा, स्वास्थ्य र सुविधा भएन। प्रसूति गृहदेखि आर्यघाटसम्म तिरेको कर सदुपयोग भएन। वर्षैैपिच्छे स्वस्थानीको रोइलो छ तर पनि त्यसको खास सन्देश सुन्ने र कार्यान्वयन गर्ने भने होइन। पदीय मर्यादामा कोही बसेन, आचरणमा रमाइएन। पेसाप्रति गौरव र इमान्दारिता भएन। स्वस्थानीको मूल मर्म बुझिएन।