सामाजिक घटनाहरूको दस्तावेज

सामाजिक घटनाहरूको दस्तावेज

आदर्शभन्दा पर, भीडभन्दा अलग, बिल्कुल स्थानीय र पूर्ण जैविक आवाजहरूको सजीव चित्र हो, अपरिचित अनुहार


अपरिचित अनुहारका कथाहरूमा भेटिने पात्रहरू समाजभित्रैका सामान्य पात्र हुन्। उस्तै दुःखाइ, उस्तैखाले अनुभूति, अलिकति ईष्र्या, करुणा, प्रेम, समर्पण, त्याग, अज्ञानता, अहम्, मतभेद आदि सबैखाले मानवीय गुण–अवगुण भएका पात्रहरू नै कथाहरूमा ओहोरदोहोर गर्छन्। अर्थात् कथामा छनोट गरिएका पात्रहरूले समाजका आममानिसको प्रतिनिधित्व गरेका छन्। अपरिचित अनुहार राज्यको उपल्लो निकाय र राज्य–व्यवस्था प्रणालीका लागि हुन सक्छ तर आममानिसका चिरपरिचित कथाव्यथाको पदार्पण हो। देशका शासकहरू कति संवेदनशील छन् ? विविध समस्यासँग जुध्दै जीवन गुजारा गरिरहेका भुइँमान्छेसँग ! कति जानिफकार छन् ? उनीहरूको सामान्य मनोविज्ञानसँग ! कति सकेका छन् त ? उनीहरूको जीवन भोगाइलाई नजिकबाट नियाल्न ! वास्तवमा कथाका माध्यमबाट कथाकार महेश पौडेलले दह्रो व्यंग्य गरेका छन्।

कथाका विषयवस्तु कतिपय पाठकले सुरुमा पढ्दाभन्दा फरक स्वादमा सकिन्छन् अर्थात् आफूले अनुमान गरेको भन्दा विपरीत भइदिन्छ। जसले पाठकलाई पढी नसकुन्जेल कथाले बाँधेर राख्छ। संग्रहमा १८ कथा छन्। ‘उपहार’ शीर्षकको कथाको अन्त्यमा मात्र कस्तो उपहार भन्ने थाहा हुन्छ। आत्मीयता हराउँदै गएको अहिलेको यान्त्रिक समयको उपज कथित आधुनिक समाजमा घरहरू त जोडिए तर मन टाढिँदै गएको अवस्था छ। कुनै भौतिक वस्तु ‘उपहार’ होला भन्ने पाठकको अनुमानलाई कथाको अन्तर्यले मानवीय संवेदनाको उत्कर्ष एउटा अमूर्त उपहारको रूपमा पस्किदिन्छ।

अपरिचित अनुहार समाजमा घटित दैनिक घटना–परिघटनाहरूको सँगालोको रूपमा आएको दस्तावेज हो। समाजभित्रकै तर कतै सम्झिन छुटेका, बुझ्न बाँकी रहेका हरपक्षलाई कथामा मिहिन ढंगले उतारिएको छ।

दृष्टिविहीन पात्रमाथि केन्द्रित कथा ‘मृगनयनी’ शिर्षकको छ। व्यंग्यचेतले छेडेको यस कथामा पनि अन्त्यका बारेमा पाठकले पूर्वानुमान लगाउन सक्तैनन्। समाजमा स्थापित कतिपय सतही कुराका मान्यतालाई कथाका माध्यमबाट भत्काएर नवीनता दिएका छन् कथाकारले। साहित्य वास्तवमा चेतनाको त्यो आधार हो जसले पुरातन मान्यताहरूको क्रमभंग गरिदिएको हुन्छ। यस्तै क्रमभंगताको उपज परिस्थिति सामना गर्ने हिम्मत राखेका छन् कथाकारले। ‘बार्दलीको एउटा अनुहार’ले गहन जोखिम लिएर मनेलाई नीलो चुना लाएको घरमा पुर्‍याउँछ, समाजमा प्रचलित मूल्य र मान्यतालाई भत्काउँदै। कथा पढिसक्दा आम पाठकको मन–मुटु हल्लाइदिन्छ र केहीबेर सोचमग्न बनाउँछ। मस्तिष्कमा रोपिएको गलत मान्यतालाई हतारहतार निकालेर फाल्दै एकछिन खाली हुन मन लाग्छ।

कथामा पात्रसँगै तत्तत् समय, परिवेश, राजनीतिक व्यवस्था, द्वन्द्व, त्याग, समर्पण, आर्थिक पक्ष,  प्रेम, घृणा, मिहिन मनोविज्ञान ओहोर–दोहोर भइरहन्छन्। उनीहरूको जीवन भोगाइबाट हामी पाठकले सजिलै थाहा पाउन सक्छौ कुन समयको कुरा आइरहेको छ, कुन परिवेशका र कुन भूगोलका सन्दर्भ जोडिन पुगेको छ भन्ने प्रस्टसँग, जुन कथाकारको खुबी हो। यसरी कथाकारले पात्रको माध्यमबाट पाठकलाई नेपालका मुख्य सहरदेखि सुदूर गाउँका विभिन्न कुनाकाप्चा र भारतका विभिन्न ठाउँहरू हुँदै भुटानसम्मको यात्रा गराएका छन्। ‘त्यसपछि निदाइन् बहिनी’ जस्तो दारुणिक कथा पढिसक्दा भुटान सरकारले नेपाली मूलका नागरिकलाई गरेको अमानवीय घटना आँखामा पुनः झल्झली आउँछ र आम पाठकलाई उही २०५३ सालतिर पुर्‍याउँछ । आफ्नो सम्पूर्ण थाकथालो छोडेर शरणार्थी बन्नु परेको बालिका भोकले विक्षिप्त भएर मृत्युको मुखमा पुगेको घटनामा आधारित मथिंगल हल्लाइदिने यस कथा पढ्दा कुन पाठकको मनमा आक्रोशको ज्वाला दन्कँदैन ! समयले धुमिल बनाइसकेको एउटा क्रूर चित्र भोककै कारण अन्तिम सास लिइरहेको आठ वर्षकी बहिनीको कथाले पुनः जीवन्त बनाउछ। आफ्नो पहिचान गुमेपछि मुलुक नभएका बेसहाराहरूको हृदयस्पर्शी वेदना मैले उनीहरूकै मुखबाटै सुनेको छु, जुन क्रन्दन कानमा गुञ्जिएको अनुभूत हुन्छ यस कथा पढ्दा।

‘अभिमन्यु’ कथा पढ्दा प्रसिद्ध जासुस उपन्यास सर्लक होम्सका लेखक सर अर्थर क्यानन डोयेलको एकांकी ‘वाटर लु’का पात्र कर्पोरल ग्रेगोरी ब्रुस्टर र अभिमन्यु अर्थात् रवीन्द्रजंग ठकुरीको युद्ध मोह र योद्धाहरूप्रतिको सम्मान उस्तैउस्तै लाग्छ। कर्पोरल ग्रेगोरी ब्रुस्टरले ‘वाटर लु’को युद्धमा जुन बहादुरी देखाए त्यसप्रति उनी जहिले पनि गर्व गर्छन् र गुल्मका सिपाहीदेखि अफिसरले समेत वृद्धहुँदासम्म पनि उनलाई सम्मानका साथ भेट्न आउँछन्। ‘अभिमन्यु’ भित्रको गतिशीलता र ऊर्जाले तानेर उसलाई आफूले चाहेको परिवेश वरिपरि नै पुर्‍र्याउँछ र उनी भारतीय सिपाही हुन्छन्। उनी कार्गिलको युद्धमा नराम्रोसित घाइते हुन पुग्छन्। जसरी कागती निचोरेपछि कागतीको खोस्टा प्रयोगविहीन हुन्छ त्यसैगरी घाइते सिपाहीहरू पनि युद्धका लागि काम नलाग्ने हुन्छन् र सैन्य क्षेत्रबाट बाहिरिन बाध्य हुन्छन्।  आफूले जीवनभर गरेको लगानी, जीवनलाई नै दाउमा राखेर लिएको संकल्प र परिवारभन्दा पनि जुन भूमिका लागि जीवन नै समर्पण गरे। उनीभित्र अन्तर्निहित सुषुप्त चाहनाले उनलाई घरको परिवेशमा आनन्दसँग बस्न दिँदैन। अन्त्यमा उनलाई आफ्नो पुरानै घर अमरगढी र त्यहाँ रहेको ब्यारेकभित्रको सैनिक अभ्यासको आवाजले आनन्दको आभास गराउँछ। सिग्मण्ड फ्राइडले भनेझैं अभिमन्युको सूक्ष्म मस्तिष्कमा बसेको सैनिक पेसाप्रतिको समर्पणले उसलाई अन्ततः सैनिक ब्यारेकतिरै लैजान्छ र बाँच्ने आधार दिन्छ।

कृतिको शिर्षक कथा ‘अपरिचित अनुहार’ पढेपछि कथाकारमा आध्यात्मिक चेतनाको पुञ्ज छ भन्नेमा कुनै शंका रहँदैन। यो भौतिक संसारसँगसँगै अर्को आध्यात्मिक संसार छ भन्नेमा विश्वस्त छन् कथाकार। डब्लू बी यिट्स आध्यात्म चेतनाले ओतप्रोत लेखक थिए। उनले पनि प्रकृतिका स्वाभाविक प्रक्रियालाई कहिले गुनासो गरेनन् बरु त्यसलाई आत्मसात् गरी कसरी शान्तिपूर्ण मुक्तिको मार्ग भेट्न सकिन्छ ! भन्ने सोचले अभिप्रेरित भए। त्यसैगरी यहाँ पनि कथाकार प्रकृतिका स्वाभाविक प्रक्रियालाई आत्मसात् गर्छन् शुक्रको माध्यमबाट।

कथाकार मानव मनोभावमा मात्र केन्द्रित छैनन्। वास्तवमा यो जगत् मानवमात्रको पनि होइन, तर आधुनिकताको नाममा मानिसले यो ब्रह्माण्डमा अरू चराचर प्राणी, पशुपंक्षी, रुख–बिरुवाहरू पनि छन् र उनीहरूको पनि उत्तिकै अधिकार छ यो ब्रह्माण्डको उपभोग गर्न भन्ने कुरा बिर्संँदै गएको यस दुःखद घडीमा ‘बुढो रुख र जुरेली’ कथामार्फत सम्झाइदिने चेष्टा गरेका छन्। पर्यावरणीय चेतले भरपूर यस कथामा मानवले प्रकृतिमाथि दोहन गरेपछि वातावरमा परेको नकारात्मक असर र यसको दुष्परिणामले ल्याएको संकटलाई उजागर गरिएको छ। चराचुरुंगी र रुख–बिरुवाको महत्त्व हामी मान्छेले बुझ्न नसकेको तितो यथार्थ छ। जसको सहारामा बाँचिरहेको छ उसैको विनाश गर्न उद्दत रहेको छमान्छे। वन विनाश गरेर अन्ततः मानिस अन्धकार भविष्यको बाटो खनिरहेको छ। जसका कारण सिंगो ब्रह्माण्डकै अस्तित्व समाप्त हुन सक्ने खतरा छ भनेर कथाकारले चेतावनी दिएका छन् । ‘बगर’ कथाले आफ्नै जीवनमा घटेको घटनालाई जोडिदिन्छ। हामी आफू बाँचेको पल, आफूले झेलेको दुनियाँ र लेखक स्वयंले नितान्त देखे–भोगेका अनुभूतिहरूको कथा हो। कृत्रिमता भन्दा टाढा एउटा सार्वजनिक आवाजहरूको पुलिन्दा हो। यी कथामा समग्र देश बोलेको छ। 

अन्त्यमा, अपरिचित अनुहार समाजमा घटित दैनिक घटना–परिघटनाहरूको सँगालोको रूपमा आएको दस्तावेज हो। समाजभित्रकै तर कतै सम्झिन छुटेका, बुझ्न बाँकी रहेका हरपक्षहरूलाई कथामा मिहिन ढंगले उतारिएको छ। कथाहरूले नैतिकताको खडेरी परेको अहिलेको समाजमा आत्मीयता जगाउने, सामाजिक उत्तरदायित्व बोध गराउनुका साथै प्रेम र करुणा जागृत गराउनेजस्ता सबल पक्षलाई जोडदारसँग उठान गरेको छ। आदर्शभन्दा पर, भीडभन्दा अलग, बिल्कुल लोकल र पूर्ण अग्र्यानिक आवाजहरूको सजीव चित्र हो, संग्रह। यस कथाहरूभित्र कमजोरी नै छैन त ? भन्ने प्रश्न पनि आउन सक्छ। कलाले व्याधालाई भेदन गर्ने सामथ्र्य राख्छ । तसर्थः यी कथाहरूलाई के के कुराले अझै विशिष्ट बनाउन सकिन्थ्यो ?

भनेर जोड–घटाउ गर्नु भनेको कथाको महत्त्व बढाउनु हो या घटाउनु हो । यसलाई आफ्नै स्वादमा रहन दिनु नै फलको वास्तविक स्वाद थाहा पाउनु हो । ल्यापटप, ट्याक्सीजस्ता अंग्रेजी शब्दको प्रयोग नगरेको भए कथामा नेपाली स्वाद झनै बढ्थ्यो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.