राजनीतिमा को सफल, को असफल ?

राजनीतिमा को सफल, को असफल ?

पैसा कमाउन राजनीति गरिन्छ र नेताहरूले सर्वसाधारणबाट घुस खान्छन्।


जीवनमा सफलता केलाई भन्ने ? जीवन कसरी सफल तुल्याउन सकिन्छ ? केलाई जीवनको सफलता मान्ने ? या फेरि कुन कुरा प्राप्त गरे भने आफूलाई सफल मान्ने ? अर्को शब्दमा, जीवनका कुन कुन आकांक्षाहरू पूर्ति भएमा अथवा कसले भन्ने कि तिम्रो जीवन सफल भयो भनेर। फेरि, जीवनको सफलता कहाँ पुगेर नाप्ने ? कहिले आफ्नो सफलतामा गौरव गर्ने ? पढाइ सकेर नयाँ जीवनको सुरुआत गर्दा ? आफ्नो पेसामा माथिल्लो दर्जामा पुग्दा ? सेवानिवृत्त भएर भागवत समात्दा या फेरि मृत्यु शैय्यामा पुग्दा ? यी प्रश्नहरू यहाँ तेर्सिनु अघिसम्म सफलताको अर्थ कति सरल र सहज लाग्थ्यो, तर यो कति गहन र कति उल्झिएको छ।

आज जुन कुरालाई लिएर हामी आफ्नो सफलता मान्छौं र गर्वका साथ डंका पिटेर हिँछौँ, के यो परिवर्तनशील जगत्मा भोलि पनि आजकै अवस्था रहिरहन्छ होला त ? राति सुतेर बिहान उठ्दाको परिस्थिति त्यही नै हो त ? हो ! सरसर्ती हेर्दा हिजो पनि त्यही कुर्सी थियो, आज पनि त्यही कुर्सी छ। हिजो अफिसको टेबलमा छोडेर आएको फाइल आज पनि जहाँको त्यहीँ नै छ। भन्न खोजेको के भने सफलताको कुनै समय सीमा हुन्छ कि हुँदैन ? समय त बितिरहेकै छ। आजको सफलता भोलि असफलतामा परिणत हुन के बेर र ? आजको असफलता भोलिका लागि जग बन्ने सम्भावना पनि त्यतिकै प्रबल छ।

जीवनका हरेक क्षण र पलहरूले परिवर्तन निम्त्याइरहेको हुन्छ। घडी हेरेर परिवर्तनलाई मापन गर्न सकिन्न। घडीले त समय मात्र देखाउँछ, परिवर्तन तपाईंको शरीरमा, विचार र प्रकृतिमा आइरहेको हुन्छ। तत्कालीन परिस्थितिमा यो सफल, यो असफल भने पनि समय चक्रमा उल्टा सावित पनि हुन सक्छ। यस अर्थमा सफलता र असफलता समय र परिस्थिति सापेक्ष हुन्छ। त्यसैले यहाँ कसैले आज गर्व गर्नु छैन या फेरि दुःख मनाउ पनि छैन। आजका पुस्ताले नदेखेका कुरा भोलिका पुस्ताले देख्छन्।

सफलताका आधार
हाम्रो जीवन सबै विषयको संगमस्थल हो। एकको चर्चा गर्न अर्काको आधार आवश्यक हुन्छ। सफलताको कडी पनि यिनै हो। कोही पनि, कहीँ पनि सफल हुन कुन समय परिस्थितिमा अन्य कति जनाको सहयोग लिएका हुन्छौं हामी।

अनि विगतलाई बिर्सिएर आज भएको प्राप्तिलाई गौरव साथ आफ्नो सफलता भनेर गर्व गर्छौं हामी। के नेपालमा आएको परिवर्तनमा आजको पुस्ताको मात्र पुरुषार्थ छ त ? के आजको दिन आउन हिजोको पुस्ताको केही योगदान छैन त ? हिजोको सफलता, असफलता आजको परिस्थितिमा कसरी मूल्यांकन गर्ने ? नेपालको इतिहासलाई पुनरावलोकन गर्ने हो भने कुन कुन राजनीतिक घटनाहरू सफल भए, कुन असफल भए ? साथै कसको नेतृत्वले यो देशलाई कुन उचाइमा लग्यो भने कुन कुन नेताको नेतृत्वले देशलाई भड्खालोमा फसाइदियो। यो एक अति नै गहन विषय भएर आज सन्दर्भ निक्लेको हो।

इतिहासलाई पल्टाउँदा
यो देशका राजनेताहरूलाई सफलता र असफलताको कसीमा राखेर हेर्दा तत्कालीन समयमा र उनिहरुका जीवनकालमा को सफल र को असफल मूल्यांकन गर्न सकिन्छ। पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानदेखि बहादुर शाहको सीमा विस्तार, अंग्रेजसँग भिड्ने नेपालका वीर सपुतहरू,  १९९७ सालका राणा शासनविरुद्ध पर्चा काण्डमा मृत्युदण्ड पाएका चार सहिदहरू र हथकडी, नेलसहित आजीवन कारावास सजाय पाएका नेपाल आमाका छोराछोरीहरू जसले नेपालमा गणतन्त्र ल्याउने भूमिका खेले। २००७ सालको क्रान्तिका नेतृत्व पंक्ति, विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी साथै लड्ने नेपाली सपुतहरूको पनि भूमिका विशेष छ। या फेरि आजका राजनीतिक नेता गण जो सत्ता र पैसा लोलुपताले ग्रसित छन्। केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवालाई कुन कसीमा राखेर मूल्यांकन गर्ने ? को सफल को असफल ?

सत्य लुक्दैन र झुक्दैन पनि
यदि १९९३ सालमा एक सम्भ्रान्त परिवारको छोरोले म राणा शासनको अन्त्य गरेर, नेपालमा प्रजातन्त्र ल्याउँछु, नेपालीलाई रैतीबाट यो देशको नागरिक बनाउँछु भन्ने अठोटका साथ निधारमा कात्रो बाँधेर घरबाट नहिँडेको भए ? १९९७ सालमा वीर सहिदहरूले प्रजातन्त्रका लागि ज्यान उत्सर्ग नगरेका भए के २००७ सालको क्रान्ति तत्कालीन समयमा सम्भव थियो ? इतिहासलाई नटेकीकन कुन क्रान्ति सफल भएको छ यो दुनियाँमा ? यसर्थमा १९९७ सालको पर्चा काण्ड सफल कि असफल ? १९९७ सालका नेता तथा उनका साथीहरू नेपालको जेलमा कोचिँदा उनीहरूका आत्माको चित्कार पूरा देशमा फैलिएको थियो। ती आत्माका बोली एउटै थियो, ‘प्रजातन्त्र र व्यक्तिगत स्वतन्त्रता’। किनकि आत्मा सत्यको अंश हो, त्यसैले आत्माको आवाज पनि सत्य नै थियो।

नेपालमा आएको परिवर्तनमा आजको पुस्ताको मात्र पुरुषार्थ छ त ? के आजको दिन आउन हिजोको पुस्ताको केही योगदान छैन त ? हिजोको सफलता, असफलता आजको परिस्थितिमा कसरी मूल्यांकन गर्ने ?

सारा देश आन्दोलित हुँदै गएको थियो। यहाँसम्म कि भारतमा नेपाली कांग्रेसको जन्म तिनै जेलवासी र सहिदहरूको गाथाले उत्प्रेरित गरेको थियो। कांग्रेसको पहिलो सभापति नै १९९७ सालमा आन्दोलनका कमान्डर नेपालमा संगठित राजनीतिका जन्मदाता (पिता) टंकप्रसाद आचार्यलाई सर्वसम्मतले बनाइयो। (नेपाली राष्ट्रिय कांग्रेसको र नेपाली प्रजातान्त्रिक कांग्रेसको २००३ माघ १३ र १३ गते भवानीपुर, कलकत्तामा भएको पहिलो सम्मेलनमा दलको नाम नेपाली राष्ट्रिय कांग्रेस राखियो। त्यो सम्मेलनले नेपालको जेलमा आजीवन कारावासको सजाय भोगेर बसेका आचार्यलाई सर्वसम्मत नेपाली राष्ट्रिय कांग्रेसको सभापति बनाइयो। विपी लाई कार्यकारी सभापति बनाइयो। तर आज यो सत्यलाई लुकाइन खोजिन्छ।

यहाँ १९९७ सालको गणना हुँदैन, २००७ सालको बखान हुन्छ। तर सत्य कहिले लुक्दैन पनि झुक्दैन पनि। इतिहासले झुटलाई एक दिन झुकाइदिन्छ। कुनै पृष्ठभूमि (२०९३–१९९७ साल) बेगर के २००७ सालको क्रान्तिले सफलता पाउँथ्यो या त फेरि पुष्पलाल, विश्वेश्वर, गणेशमान, मनमोहनजस्ता नेताहरू जन्मन्थे त ? के २००७ सालको क्रान्तिको निरन्तरता नै २०४६ सालको जनआन्दोलन थिएन र ? २०६३ सालमा भएको परिवर्तनको आधार १९९७, २००७, २०४६ साल होइन र ? इतिहासलाई नकार्ने हो भने आज प्रचण्ड सर्वोच्च नेता हुनुपर्ने होइन र ?

हालको नेपाल (जहाँ सालिक फोडिन्छ)
यो देशमा सालिक भत्काउने प्रवृत्ति हावी हुँदै गएको छ। जो शक्तिमा आयो उसले आफूबाहेक कोही देखेको हुँदैन। हालको नेपाल, जहाँ पैसा कमाउन राजनीति गरिन्छ र नेताहरूले सर्वसाधारणबाट घुस खान्छन्। देशवासीहरू कोभिडको क्रन्दनमा छन् नेताहरू कुर्सीको लडाइँमा छन्। संसद् बैठक हेर्दा आमनेपालीलाई लाज लाग्छ। यो परिस्थिति आउनुको पछाडि हामी नेपालीले इतिहासलाई उपहास गर्ने र मौका परे उपयोग गर्ने संस्कार बसालेर नै हो। आफ्नो अग्रजको मर्यादा होइन यहाँ मानमर्दन गर्ने चलन छ। यहाँ पृथ्वीनारायण शाहको सालिक फोडिन्छ। यहाँ महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक तोडफोड हुन्छ।

जुन देशको अस्मितामा बारम्बार प्रहार हुँदा पनि राजनेताहरू केही बोल्ने हुती राख्दैनन्। जहाँ सत्तामा टिक्न र पदका लागि विदेशीको आशीर्वादको जरुरत हुन्छ। यस परिप्रेक्ष्यमा यो देशको राजनीतिक इतिहासमा कसलाई सफल मान्ने र कसलाई असफल मान्ने। जहाँ सत्यलाई लुकाइन्छ र कानुनको घोडा चढिन्छ, त्यो देशमा गुन्डाराज हुन्छ भन्छन्। आजको नेपालको हविगतले त्यतैतिर इंगित गरिरहेको आभास हुन्छ। यस्तै परिस्थिति रहिरहने हो भने नेपाल असफल राष्ट्रमा परिणत हुन के बेर ? के पुराना नेताहरूले गरेको बलिदानको फल यही नै हो त ? समग्रमा १९९७ सालदेखि आजसम्मको नेपाली राजनीतिलाई सरसर्ती हेर्दा यहाँ को सफल, को असफल ? प्रश्न ज्यूँका त्यूँ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.