धर्म, धम्म र धर्म निरपेक्षता
सपथ ग्रहण गराउँदा सबै रिलिजनलाई सम्मान गर्दै धर्म तथा धम्म राज्य बनाउने काममा समर्पित हुन्छु पो भन्नु पर्ने थियो कि ?
धर्म भनेको ऋत हो। ऋग्वेदले ६३ ठाउँमा यो शब्द लेख्यो। ऋतको अर्थ सत्य हो। त्यसो भए धर्म निरपेक्ष भनेको सत्यको विरोध गर्ने भनेको हो त ? ऋतको अर्थ नियमबद्धता पनि हो। त्यसो भए धर्म निरपेक्षता भनेको बेनियममा काम गर्ने भनेको हो त ? ऋतको अर्थ स्वाभाविक गुण पनि हो। त्यसो भए धर्म निरपेक्षता भनेको अस्वाभाविक कार्य गर्ने गराउने हो त ?
वैदिक चिन्तनको धर्म : निरपेक्ष कि सापेक्ष हुने ?
उपनिषदीय अर्थमा धर्म भनेको मेलमिलाप हो। सत्य हो। त्यसो भए धर्म निरपेक्षता भनेको बेमेलको खेल खेल्ने खेलाउने हो त ? असत्यको खेल खेल्ने खेलाउने हो त ? बृहदारण्यकोपनिषद् (१.४.१४) अनुसार धर्म भनेकै सत्य हो। सत्य भनेकै धर्म हो। अर्थात् यी दुवै शब्द पर्यायवाची हुन्। त्यसैले धर्मराज्य भन्ने शब्द बनेको हो। सत्यको सहाराले राज्य गर भनिएको हो। योगमायाले बोकेको चिन्तन त्यही हो। भगत सर्वजित विश्वकर्माले बोकेको चिन्तन त्यही हो। त्यसो हो भने धर्म निरपेक्ष शासन व्यवस्था भनेको असत्यको बलमा शासन चलाउनुपर्छ भनेको हो त ? वात्स्यायनले धर्मलाई दुई भागमा बाँडे। शरीरको धर्म। मनको धर्म। उनका लागि शरीरको धर्म भनेको दान दिनु हो।
दुःखीको उपकार गर्नु हो। अरूको सेवा गर्नु हो। धर्म निरपेक्षता भनेको दान नदिनु हो त ? दुःखीलाई बेवास्ता गर्नु हो त ? कसैको पनि सेवा नगर्नु हो त ?
वात्स्यायनको निम्ति मनकोे धर्म भनेको स्वाध्याय हो। आफूले आफैंलाई पढ्नु स्वाध्याय हो। प्रकृति पढ्नु पनि स्वाध्याय हो। अरूका लेख पढ्नु पनि स्वाध्याय होे। त्यसो भए योग, ध्यान तथा प्रत्याभूतिबाट आफूलाई जान्न नखोज्नु धर्म निरपेक्षता हो त ? प्रकृतिलाई पढ्न छोड्नु भनेको धर्म निरपेक्षता हो त ? अरूका किताब पढ्न छोड्नु धर्म निरपेक्षता हो त ? वात्स्यायनकै शब्दमा मानसिक धर्म भनेको श्रद्धा हो। त्यसो भए धर्म निरपेक्ष बन्दा श्रद्धा छोड्ने भनेको हो त ? लिप्सारहित बन्नु पनि वात्स्यायनका निम्ति धर्म हो। त्यसो भए धर्म निरपेक्षता भनेको जसको जेमा पनि आँखा गाड्नु हो त ?
पताञ्जलीले १० वटा कुराको समष्टिलाई धर्म भनेका छन्। उनका अनुसार धृति, क्षमा, दम, अस्तेय, शौच, इन्द्रिय निग्रह, धी, विद्या, सत्यम् तथा अक्रोध धर्म हो। उनका अनुसार धृति भनेको धैर्य हो। त्यसो भए अधैर्य हुनु धर्म निरपेक्षता हो त ? क्षमा दिनु धर्म हो। धर्म निरपेक्षता बोक्ने हामीले क्षमालाई अन्त्य गर्नुपर्ने हो त ? दम भनेको आत्मनियन्त्रण हो। छाडा नहुनु हो। यो धर्ममा निरपेक्ष हुनु भनेको छाडा होउ भनेको हो त ? अस्तेय भनेको चोरी नगर्नु हो। त्यसो भए धर्म निरपेक्षताले चोरी गर वा लुट भन्ने सन्देश दिएको हो त ? धी भनेको परोपकारी वुद्धि हो। धी धर्म नमान्नुको अर्थ परोपकार नगरौं भनेको हो त ?
विद्या भनेको आध्यात्मिक ज्ञान हो। योग तथा ध्यानबाट हुने ज्ञान। सिधा भाषामा बुद्धले आर्जन गरेको ज्ञान। आफैं बुद्ध बन्न सकिन्छ भन्ने ज्ञान। वैदिक शब्दावलीमा शुद्ध ज्ञान। लोभ, मोह आदिलाई जितेको ज्ञान। त्यसो भए धर्म निरपेक्षताले बुद्धको सट्टा बुद्धु बन भनेको हो त ? पदार्थकै ज्ञानमा लुटुपुटु गर भनेको हो त ? सत्यम् भनेको कल्याणकारी सत्य बोली हो। यो धर्म नमान्ने हो भने असत्य बोल र अरूलाई दुःख देउ भनेको हो त ? अक्रोध भनेको रिस तथा राग नलिनु हो। त्यसो भए धर्म निरपेक्ष भनेर हामी सधैं रिस तथा डाहमा बसौं भनेको हो त ? हामी सधैं लोभी भएर बाँचौं भनेको हो त ? यहींनेर प्रश्न रह्यो– वैदिक चिन्तनका अनुयायीले धर्म निरपेक्षता खोजे कि धर्म सापेक्षता खोजे ? धर्म राज्य खोजे कि धर्म निरपेक्ष राज्य खोजे ? शब्दप्रेमीहरू घोत्लिने कि ?
बुद्धको धम्म : निरपेक्ष हुने कि सापेक्ष हुने ?
पाली भाषामा प्रकृतिको नियम हो धम्म। दिमागको शुद्धता हो धम्म। आफूले आफैंलाई पढ्न सक्नु हो धम्म। प्रकृति पढ्न सक्नु हो धम्म। संस्कृतमा धर्म भनिने शब्द हो पाली भाषामा धम्म। ब्रह्माण्डको नियम बुझ्ने अर्थमा वैदिक चिन्तकले धर्म शब्द प्रयोग गरे। बुद्धले पनि सोही अर्थमा धम्म शब्द प्रयोग गरे। यसरी हेर्दा धर्म तथा धम्मको अर्थ एउटै हो। त्यसबाहेक बुद्धमार्गीको चिन्तनमा धम्म भनेको बुद्धको उपदेश पनि हो। त्यसो भए धर्म निरपेक्ष बन्दा बुद्धमार्गीहरूले धम्मं शरणं गच्छामीको सट्टा अधम्मं शरणं गच्छामी भन भन्नुपर्ने हो त ? उनीहरूले ब्रह्माण्डको रित बुझ्नु नपर्ने हो त ? बुद्धकोे उपदेश मान्नु नपर्ने हो त ? यहाँ पनि प्रश्न रह्यो– धर्म निरपेक्षता स्वीकार्दा बौद्धमार्गीले धम्मं शरणं गच्छामी भन्नु गलत हुने हो त ? एकपटक बौद्धमार्गीले पनि घोत्लिने कि ?
धर्म र रिलिजन एउटै हो र ?
धर्म भनेको ब्रह्माण्डीय रित हो। प्राकृतिक नियम हो। स्वाभाविक गुण हो। व्यक्तिको दायित्व हो। रिलिजनका संस्थापक छन्। संस्थापक अनुसारका विधि र निषेधहरू छन्। निश्चित अधिकारी छन्। यो आँखाबाट हेर्ने हो भने धर्म मान्ने नेपालीलाई रिलिजनको अनुवादले शासन गर्न मिल्छ त ? माक्र्सकै शब्दमा भन्दा पनि वैदिक पुर्खाको धर्म र बुद्धमार्गी पुर्खाको धम्म अफिम हो त ? किराँतको साम्माङको चिन्तन अफिम हो त ? साम्माङ भनेको पुर्खाहरूको आत्मा हो। यस स्थितिमा प्रश्न हुन सक्छ– वैदिक÷हिन्दू धर्म हो कि रिलिजन हो ? बुद्धमार्गीको धम्म धर्म हो कि रिलिजन हो ? किराँतको वेदले धर्म सिकाउँछ कि रिलिजन सिकाउँछ ? यी र यस्ता प्रश्नमा घोत्लिने पो हो कि ? अनि मात्रै धर्म सापेक्ष र निरपेक्षको कुरा गर्ने कि ?
साम्यवादीले बुझे बुझाएको धर्म नै हाम्रो धर्म र धम्म हो ?
माक्र्सले तत्कालीन चर्चको कुरालाई लिएर धर्मलाई ‘आत्माहरूको आत्माहीन अवस्था’ भने। चर्चले तत्कालीन समाजमा गरेको शोषणका आधारमा बुर्जुवाहरूले गरिबहरू चुस्न धर्म बनाएका हुन् भने। लेनिनले पनि तत्कालीन रूसका चर्चकै आधारमा मान्छेले धर्म बनायो भने। धर्मले मान्छे बनाएन भने। यसरी धर्म बनाउनेहरू अन्यायी हुन् भने। त्यसैले उनले भने– धर्म अन्यायीहरूको बोली हो। सोही कुरामा मलजल गर्दै निकोलाई बुखारिनले कम्युनिस्टहरूले धर्म मान्नु हुँदैन भने। माओले कन्फुसियस धर्मलाई पश्वगामी सामन्ती सोच हो भने। तर सन् २०१४ को सि चिनफिङको भाषणअनुसार कन्फुसियस धर्मले आध्यात्मिक अनुभूति सिकायो। विवेकशील सोच दियो। चीनलाई सांस्कृतिक रूपमा एकताबद्ध बनायो भनी माओको कुरालाई उल्ट्याए।
यहीं प्रश्न आउँछ– के माक्र्स तथा लेनिनकालीन चर्चले झैं नेपालका वैदिक तथा बुद्ध धर्महरूले राज्य गरेका छन् त ? के तिनीहरूले गरिबको शोषण गरेका छन् त ? के तिनका संगठनहरूले राजनीतिक नेतृत्वलाई चर्चले झैं आदेश दिएका छन् त ? के माक्र्सले भनेझैं गरिबमाथि शासन गर्ने व्यवस्था बनाएका छन् त ? मेरा यी जिज्ञासाहरूले माक्र्सकै शब्दमा वस्तुवादी विश्लेषण गर्ने साम्यवादीको खाँचो देखाउँछ। माक्र्स, लेनिन, माओ तथा बुखारिनको चिन्तनलाई शाश्वत मान्ने कि सी चिनफिङको सोचलाई पनि ध्यान दिने ? माक्र्सकै शब्दमा वस्तुवादी विश्लेषण गर्ने कि ? बुद्धको शब्दमा ‘अप्पदिपो भवः’ को अभ्यास गर्ने ? अरूले भनेको मात्रै नपत्याएर आफैं खोजी गर्ने कि ? धर्म तथा धम्म सिकाउने पुर्खालाई माओले झैं निषेधी शब्द बोक्ने कि सी चिनफिङले झैं धर्म तथा धम्मको गहिराइमा जाने ? धर्म निरपेक्षता र साम्यवादका दिग्गजहरू घोत्लिने बेला भएन र ?
२०६८ सालको जनगणनाले भन्छ– नेपालमा हिन्दू धर्म मान्नेहरू ८१.३ प्रतिशत छौं। ती सबैले वैदिक पुर्खाले बुझे बुझाएको धर्मको अर्थ बुझेकै हुनुपर्छ। नभए बुझ्नु पनि पर्छ। त्यसो हो भने धर्म र धर्म निरपेक्षताबीचको फरक नै पो जानिएन कि भनी सोधखोज गर्ने बेला भएन र ? त्यस्तै हामी ९ प्रतिशत बुद्ध धर्म मान्छौं। हामीले धम्म र धर्म निरपेक्षताको फरक पहिल्याउनुपर्ने होइन र ? अरूलाई धर्म अफिम हो भन्न लगाउने र आफू ‘धम्मं शरणं गच्छामी’ भन्ने गर्दा आफ्नै बोलीमा अन्तरविरोध पो छ कि भनी खोज्ने खोजाउने बेला भएन र ? भर्खरै हिन्दू दर्शनको गहनता बुझ्न बुझाउन लागेका साम्यवादीहरूले धर्म, धम्म र रिलिजियनको भेद चिन्ने चिनाउने बेला भएन र ? रिलिजियनभित्र पो संस्कार तथा रीतिरिवाज हुँदो रहेछ त भनी पढ्ने, पढाउने बेला भएन र ? रीत तथा संस्कृतिलाई नै हिन्दू धर्म बुझ्ने बुझाउनेहरूले धर्म, धम्म र रिलिजन छुट्ट्याएर बुझ्ने बुझाउनु पर्ने रहेछ भन्ने दिन आएन र ?
वैदिक चिन्तनका अनुयायीले धर्म निरपेक्षता खोजे कि धर्म सापेक्षता खोजे ? धर्म राज्य खोजे कि धर्म निरपेक्ष राज्य खोजे ? शब्दप्रेमीहरू घोत्लिने कि ?
गोवयल्सवादी साम्यवादी चिन्तकहरूले वैदिक पुर्खाले धर्म भनेको कुरा ‘धर्म आत्माहरूको आत्माहीन अवस्था’ हो कि होइन त भनी सोच्ने बेला भएन र ? बुद्धमार्गीले धम्म तथा धर्मचक्रमा घुम्ने घुमाउने कुरा भनेको ‘आत्माहीनहरूको आत्मा’ हो कि होइन भनी शोधखोज गर्ने बेला भएन र ? रिलिजनको आधारमा बने बनाइएको धर्म निरपेक्षता शब्दै पो बेठीक रहेछ कि त भनी घोत्लिने बेला भएन र ? धर्म तथा धम्म बिर्सिएर रिलिजनमा आधारित हुँदै बने बनाइएका जातीय छुवाछूत, महिला विभेदजस्ता कुराहरूको विरोधमा जोशजाँगर भएका युवाशक्ति परिचालन गर्नुपर्र्ने होइन र ? धम्म र धर्मको सापेक्षतामा चल्छौं।
रिलिजनले बनाएका विभेदी संस्कारमा यी यी कुरामा फेरबदल गर्छाैं भन्ने बेला भएन र ? धर्म, धम्म र रिलिजन त फरक पो रहेछ भनी सोच्ने सोचाउने बेला भएन र ? कम्तीमा हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूले यो कुरामा चासो लिने दिन आएन र ? धर्म, अध्यात्म र रिलिजन तथा त्यससँग टाँसिएका संस्कृति एवं रीतिको बीचको समानता तथा फरक बुझ्ने बुझाउने समय आएन र ? धर्म तथा धम्म नजानेका माक्र्स, लेनिन तथा माओका चिन्तनहरूमा प्रश्न गर्ने बेला भएन र ? तत्कालीन चर्चको ज्यादती देखेर बने बनाइएका सोचहरूलाई पुनर्विचार गर्ने दिन आएन र ?
माक्र्सकै शब्दमा थेसिस, एन्टिथेसिस तथा सिन्थेसिस बन्दा नयाँ विचार जन्मन्छ। पुरानो कुराको पनि निरन्तरता हुन्छ। छोराछोरीको अनुहार हेरेर बाबुआमा वा बाजेबज्यैको अनुहार जोडेजस्तो। यो सोच बोक्ने हो भने धर्म, धम्म र रिलिजियनको मिल्दो तथा नमिल्दो नाता खुट्ट्याउने बेला भएन र ? तत्कालीन चर्चको ज्यादतीमा बने बनाइएको ‘अफिम’ तथा ‘आत्माहीनहरूको आत्मा’ भन्ने भनाउने विचारमा वस्तुगत विश्लेषण गर्ने समय आएन र ? ग्राम्स्कीले बोके बोकाएको जर्मन शब्द हेजेमोनीको कुरा धर्म तथा धम्ममा छ कि छैन भनी खोज्ने खोजाउने दिन आएन र ? तत्कालीन चर्चले गरेझैं धर्म तथा धम्मका हिमायतीहरूले राज्य गरे वा गरेनन् भनी पहिल्याउने बेला भएन र ? तिनले जनतालाई कहाँ धर्म तथा धम्मको आधारमा हिँडाए अनि कहाँ रिलिजनको कुरा बोकाए भनी पर्गेल्ने दिन आएनन् र ?
पुच्छ्रे टुंगो
नेपाल वेदले बुझेको, वृहदारणयकोपनिषद्ले बुझेको तथा पताञ्जलीले बुझेको धर्मसापेक्ष देश हो भने के हुने हो ? बुद्धले बुझेको धम्म सापेक्ष देश भने के हुने हो ? नेपाल हिन्दूको धर्म र बुद्धको धम्म मिलेर बनेको एकीकृत धर्मधम्म सापेक्ष देश हो भने के हुने हो ? नेपाल रिलिजयन वा मत वा सम्प्रदाय निरपेक्ष देश हो भने के हुने हो ? यी र यस्तै प्रश्नहरूमा जस्तै ः हामीले धर्म निरपेक्ष भनेर वैदिक पुर्खाको ज्ञान पो मारेछौं कि ? बौद्धमार्गी पुर्खाको धम्ममाथि पो हमला गरेछौं कि ? तत्कालीन चर्चको अन्याय देखेर बोले बोलाएका शब्दहरू भिराएर हिन्दू तथा बुद्धमार्गीलाई अन्याय पो गरेछौं कि ? धर्म निरपेक्ष भनेर हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूका ग्रन्थहरूमा डढेलो पो सल्काएछौं कि ? अरूमा ग्राम्सीका हेजेमोनी पढाएर आफैं पो हेजेमोनिक काम गरेछौं कि ? धर्म र धम्म नबुझी रिलिजनलाई नै धर्म तथा धम्म हो भनेछौं कि ? शपथग्रहण गराउँदा म राष्ट्रका सबै रिलिजनलाई सम्मान गर्दै धर्म तथा धम्म राज्य बनाउने काममा समर्पित हुन्छु पो भन्नुपर्ने थियो कि ? देशमा भएका सबै रिलिजियनहरूले गरे गराएका जातजातीय, लैंगिक तथा अन्य विभेदविरुद्ध अभियान चलाउने प्रण गर्छु भन्नुपर्ने पो थियो कि ? व्यक्तिगत रूपमा। सामूहिक रूपमा। संस्थागत रूपमा। सरकारगत रूपमा। यी र यस्ता प्रश्नहरूको उत्तर खोजेमा हाम्रो कुल तथा मूलको निरन्तरता हुन्छ। धर्म तथा धम्मले बनाएको पहिचानको निरन्तरता हुन्छ।
अन्यथा तत्कालीन चर्चको आधारमा बने बनाइएको रिलिजनको पहिचान बोकेर आफ्नो पहिचानको कुरा गर्नु नैं अविवेकी काम हुन्छ कि ? त्यसरी कुल र मूल बदल्न सकिन्न भन्ने पुख्र्याैंली चिन्तनको गहिराइ बुझ्ने कि ? धर्म र धम्म बुझेका पुर्खालाई न्याय गर्ने कि ? रिलिजन तथा धर्ममा भेद नजानेकाहरूले चलाएको मतमा मतान्ध भएरै राज गर्ने कि ? तत्कालीन चर्चको ज्यादतीमा बनेका चिन्तन बोकेरै धर्म तथा धम्मविरुद्ध विषवमन गरिरहने कि ? संविधानको मर्मविपरीत लेख्यो भन्ने सतही सोचमैं अल्झिने कि ? निर्णयकर्ता नेताजी, संविधानविद्, वैदिक धर्म बुझेका व्यक्ति, बुद्धको धम्म बुझेका व्यक्ति, आधुनिकता बुझेका गैरसाम्यवादी तथा ‘धर्म अफिम हो’, ‘आत्माहीनहरूको आत्मा’ हो भन्ने साम्यवादीहरूकै विवेकमा छोडें। धर्म र धम्म बुझेका हिजोका पुस्ता र रिलिजन बुझेका आजका पुस्तालाई मैले के जवाफ दिएँ भनी आफ्नै मथिंगलमा प्रश्न रोपें। विद्वत्
नेपालीलाई पनि यही प्रश्न दिएँ।