भोजपुरमा निषेधाज्ञा खुकुलो : चहलपहलसँगै संक्रमणदर पनि बढ्यो

भोजपुरमा निषेधाज्ञा खुकुलो : चहलपहलसँगै संक्रमणदर पनि बढ्यो

भोजपुर : करिब अढाई महिनापछि खुलेको निषेधाज्ञाले चहलपहल बढेको छ। भोजपुर सदरमुकाम लगायतका मुख्य बजारहरु सदाझैँ व्यस्त बनेका छन्। बैंक तथा वित्तिय संस्थाहरुमा भीडभाड बढेको छ। बजारक्षेत्र र सडकमा बाक्लो आउजाउ छ। सवारीसाधनको ताँती लागेको छ। तर कोभिड १९ को संक्रमणदर भने रोकिएको छैन। बजार आसपासमा घरलौरी नै सामान्य ज्वरोले थलिएका छन्। स्थानीय प्रशासनले जनजीवन सहज बनाउन न्यूनत्तम स्वास्थ्य मापदण्डको निर्देशन दिएपनि नागरिकमा कुनै असर देखिँदैन। जसले संक्रमणको जोखिम झनै बढेको छ।

दिनप्रतिदिन कोभिड १९ का बिरामीको संख्यामा वृद्धि आएको छ। प्रतिदिन २५ जनाको दरले संक्रमित थपिएपनि वैकल्पिक रोकथामको कुनै तयारी छैन। व्यापारीहरु बिहानैदेखि दोकान खोलेर ग्राहकको प्रतिक्षामा हुन्छन्। दुरदराजका ग्रामीण सर्वसाधरणहरु पनि काम र किनमेलका लागि दिनहुँ धाउने गरेका छन्। कुनैबेला पनि पुनः निषेधाज्ञा हुने डरले किनमेल गर्न धाएको पसलका सामान लिएर फिर्दै गरेका अरुण गाउँपालिका- २, चम्पेका अर्जुन राईले सुनाए। ‘अब कुन दिन फेरि बन्द हुने हो पत्तो छैन, अहिले नै दशैँका लागि सामानहरु जोहो गर्न सदरमुकाम आएको हुँ’ उनले भने।

निषेधाज्ञा हट्यो भन्ने मानसिकताले खुला रुपमा चहलपहल बढदै गएपछि संक्रमितको संख्या बढेको छ। दैनिकजसो सम्पर्कमा आउने व्यक्तिमा कोरोना एन्टिजेन पोजिटिभ देखिएकाले संक्रमितको संख्या यकिन गर्न नसकिने स्वास्थ्य कार्यालय भोजपुरका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले बताए। उनी थप्छन्, ‘परीक्षणको दायरा बढाउने हो भने संख्या अझै बढ्न सक्छ, असंख्य रुपमा त चेकजाँचका लागि आउँदैनन्’

संख्यात्मक हिसाबले सबैभन्दा बढी भोजपुर नगरपालिकामा संक्रमित छन्। उक्त नगरपालिकामा ३ सय ५९ जनालाई संक्रमण देखिएको छ। यस्तै हतुवागढी गाउँपालिका १ सय ९२ जना, साल्पासिलिंछो गाउँपालिकामा १ सय ७७ जना,  रामप्रसाद राई गाउँपालिकामा १ सय ६२ जना, अरुण गाउँपालिका १ सय ५९ जना, टेम्केमैयुङ गाउँपालिकामा १ सय ३९ जना, षडानन्द नगरपालिकामा १ सय २२ जना, आमचोक गाउँपालिका ६० र पौवादुङमा गाउँपालिकामा ३२ जना संक्रमित भेटिएको छ। 

तथ्याङ्कअनुसार भोजपुरमा कोरोना संक्रमणबाट ८ जनाको उपचारका क्रममा ज्यान गएको छ। स्थानीय प्रशासनबाट जारी निषेधाज्ञा पछिल्लो समयमा उल्लंघन हुन थालेपछि गत साउन १ गतेबाट शैक्षिक संस्था र भीडभाड हुने कार्यक्रमबाहेक सबै क्षेत्र खुला गरिएको थियो। निषेधाज्ञा एकैपटक हटाइएकाले जोखिम बढेको भोजपुर नगरपालिका १०, भैंसीपंखाका स्थानीय समिर राई सुनाउँछन्। ‘केहीलाई निषेधाज्ञामा हिड्न नपाउँदा दुःख लागेको थियो, तर अब त जोखिम झन बढेको छ,’

फितलो अनुगमनले महंगीको मार
नयाँ आर्थिक वर्ष लागेसँगै दैनिक उपभोगीय वस्तुको मूल्य बढेको छ। मूल्य सूचीबिनै व्यापारीहरु मंहगो मूल्यदरमा किनबेच गर्दा उपभोक्ता मारमा परेका छन्। तर पनि प्रशासन र नियमनकारी सरोकारवाला निकायको ध्यान पुगेको छैन। अनुगमनमा चासो नदेखाउँदा सर्वसाधरण उपभोक्ता झनै मारमा परेको स्थानीय अगुवा नविन प्रधानको ठम्याई छ। भने, ‘महामारीको मौका छोपेर व्यापारीहरुले मनपरी मूल्य बढाएका छन्, नियमनमा कसैको कुनै चासो छैन, उपभोक्तालाई यो महामारीमा झनै मंहगीको मारले थिचेको छ’

मोबाइल तथा ईलेक्ट्रोनिक्स सामान कारोबार बढ्यो
साउन पहिलो हप्ताबाट खुकुलो बनेको निषेधाज्ञाले सबैभन्दा बढि मोबाइलजन्य सामानमा कारोबार बढेको छ। विशेषगरी विद्यालय र कलेजहरुमा अनलाइन कक्षा चलिरहेकाले पनि मोबाइल किन्ने ग्राहकको संख्या बढेको व्यावसायीहरु बताउँछन्। विद्यालयस्तरका बालबालिकालाई पढाउन मोबाइल खरिद गर्ने अभिभावकहरुको आगमनमा वृद्धि आएको मोबाइल व्यावसायी दिपेश ताम्राकारले बताए। उनका अनुसार साउन दोश्रो हप्तासम्म सदाको तुलनामा ५ गुणाले कारोबार बढेको छ।

व्यावसायी हर्षित
निषेधाज्ञा खुकुलो सबैभन्दा बढी व्यावसायी उत्साहित देखिन्छन्। गत वर्ष झैँ योवर्ष पनि करिब दुई महिना पसल बन्द गर्नुपरेकाले मुहारबाट खुसी भागेको स्थानीय होटल व्यवसायी विष्णु कुमारीले सुनाइन्। ‘दैनिक १५ हजार रुपैयाँको व्यापार हुन्थ्यो, निषेधाज्ञाले त्यो पनि बन्द गरिदियो’ उनी भन्छिन्, ‘अहिले महामारीका बीच पनि पसल खुलेको छ, तर के गर्नु पहिले जस्तो ग्राहक आउँदैनन्’ मंहगो भाडामा सटर लिएर व्यावसाय गर्ने व्यवसायीलाई निषेधाज्ञाले चर्को सास्ती दिएको उनले सुनाइन्। पहिलो चरणको लकडाउन र दोस्रो चरणको निषेधाज्ञाले व्यापार गर्न नपाएपनि मासिक सटरको भाडा ३० हजार बुझाउनुपर्ने बाध्यता रहेको उनले सुनाइन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.