मासिँदै ढुंगे चौतारा

मासिँदै ढुंगे चौतारा

भोजपुर : दिवंगत व्यक्तिको स्मरणमा उसको वंशावली कुँदेर बनाइन्थ्यो, ढुंगे चौतारा। गाउँमा दशकअघि हरेक ४० मिटर दूरीमा यस्ता चौतारा भेटिन्थे। गाउँका मानिस घाँसदाउरा, गोठाला, मेलापातबाट फर्किंदा बिसौनी लगाउँथे। कहिले भरिया भारी बिसाइरहेका त कहिले बटुवाहरू पसिना सुकाइरहेका हुन्थे। जन्तीको सगुन पिउने र मलामीको खाजा खाने ठाउँ पनि चौतारा नै हुन्थ्यो। सबैको सुखदुःख बिसाउने दौंतरीदेखि ठिटाठिटीको मायापिरती गाँस्ने जमघट त्यहीं हुन्थ्यो।

तर, विकासका नाममा जताततै डोजर चल्न थालेपछि ती पुरातात्त्विक सम्पदा धराशायी बनेका छन्। सडक खन्न थालिएपछि ढुंगे चौतारा संस्कृति लोपोन्मुख छ। धेरैजसो चौताराको नामनिशाना हराए। कतिपय जोखिममा छन्। बढ्दो सहरीकरण र सडकीकरणले ढुंगे चौतारा बिरानो बन्दै छ।

‘गाउँघरमा अहिले ढुंगे चौतारा भेटिन छाडेका छन्। संरक्षण गर्नेभन्दा पनि सडक पु¥याउने होडबाजीले हाम्रो पहिचानै धराशायी बन्दै गएको छ’, भोजपुर नगरपालिका–५ बोखिमका अर्जुनकुमार राईले भने, ‘गाउँको पहिचान र संस्कृतिसँग जोडिने ढुंगे चौताराले हाम्रो इतिहास दर्शाउँछ। तर, यसको संरक्षणमा पछिल्लो पुस्ताको चासो छैन।’

२०६० यता मध्यपहाडी सडक सञ्जालले जोडिएसँगै भोजपुरका गाउँगाउँमा पनि मोटरबाटो खन्न थालियो। स्थानीय तह आएपछि हरेक वडाले पनि टोलटोलमा सडक खन्ने/खनाउने काममा बर्सेनि योजना र बजेट हाल्न थाले। विकास नै सडक सम्झने प्रवृत्तिले गाउँले संस्कृति नै धराशायी बनेको स्थानीय पुरातत्त्वविद् टीकाराम राईको ठम्याइँ छ। ‘पछिल्लो पुस्ताले सडक नै पहिलो प्राथमिकतामा राखे र जथाभावी सडक खन्न थाले’, राईले भने, ‘जसले हाम्रो परम्परामा खलल पु¥यायो, पहिचान हराउन थाल्यो।’

किराँत राई जाति बाहुल्य भोजपुरका धेरै बस्तीमा दिवंगत व्यक्तिको स्मृतिमा उसको वंश इतिहास शिलालेखमार्फत समेटेर घरपायक वा यात्रु बटुवा हिँड्ने मूलबाटो, चौबाटो, भन्ज्याङजस्ता सार्वजनिक स्थानमा चौतारा हाल्ने चलन छ। विशेषगरी ढुंगे चौतारा किराँती मुन्दुमी संस्कृतिमा महत्त्व राख्दछ। यसलाई बान्तावा भाषामा ‘ठेट्वालुङ’ भनिन्छ। प्राचीन किराँत वंशावलीमध्ये ‘खाँबु’ नाम गरेका व्यक्तिबाट चौतारा संस्कृतिको विकास भएको संस्कृतविद् बताउँछन्। पृथक् तरिकाबाट आफ्ना पूर्वजको नाम राखेर राई जातिको मुन्दुमी अभिलेख राख्नु नै चौताराको महत्त्व रहेको संस्कृतिविद् कमलजंग राईको भनाइ छ।

‘किराँतहरूको पहिचान नै शिला अभिलेख वा ढुंगे चौतारा हो। यहाँ हाम्रो इतिहास कँुदिन्छन्, जसले पुस्तान्तरण हुँदा पनि दरिलो ऐतिहासिक अभिलेखका रूपमा प्रमाण समेट्दछ’, राईले भने, ‘ढुंगे चौतारा भन्नु हाम्रो आफ्नो भाषा, संस्कृति र वास्तुकलासम्बन्धी पनि दरिलो उदाहरण र पहिचान बोक्ने परम्परा हो।’

विकासले फड्को मारेसँगै गाउँघरका पुराना सम्पदा मासिने क्रम चलेको छ। तापनि ऐतिहासिक प्रमाणलाई जगेर्ना गर्न र गाउँघरको मौलिकता यथावत् राख्न पनि चौताराको संरक्षण गर्न आवश्यक देखिन्छ। इतिहास र मौलिकतालाई पुस्तान्तरण गर्न पनि चौताराको महत्त्व धेरै हुने गरेको विज्ञहरूको ठम्याइँ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.