एकिकृत बस्ती प्रयोगबिहीन, पहिरोपीडित आफन्तको शरणमा
फिदिम : पहिरोपीडितका लागि एकिकृत बस्ती निर्माण हुँदा फालेलुङ गाँउपालिका ३ का स्थानीय खुसी थिए । बस्ती निर्माण भएर पनि हस्तान्तरण नहुँदा पीडित आफन्तको शरणमा छन् । निर्माण भएका घरहरु झारले छोपिन थालेका छन् ।
पहिरोले घर भत्काउँदा फालेलुङ ३ बुङसिङडाँडाकी लिला राईको काखमा महिना दिन ननाघेको बच्चा थियो । बिपन्नताका कारण उनका श्रीमान बिदेसिएका थिए । श्रीमानको विदेशमै मृत्यु भयो । यता पहिरोले घरबारबिहीन भएकी लिलालाई आफ्ना पाँचजना सन्तान पाल्न धौ-धौ छ । बासका लागि आफ्नै घर छैन । आफन्तकोमा शरण लिएर बसेको तीन वर्ष वितिसकेको छ ।
'घर भत्किएपछि आफन्तको घर बन्दकी लिएर बसेको छु,' लिला भन्छिन्, 'एक वर्षका लागि बन्दकी हालेको थिए, दुई वर्ष भयो पैसा तिर्न सकेकी छैन् ।' माइतीपटिका काका पर्ने मनकुमार थाम्सुहाङको घरमा उनी पाँचजना सन्तानसँग बसिरहेकी छिन् । 'पहिरोले घर भत्काउँदा काखमा महिनादिन ननाघेको छोरो थियो, ' छोरो देखाउँदै उनले भनिन्,'पहिरोबाट बचाएको सन्तानलाई आफ्नै घरमा हुर्काउन पाइन ।'
स्थानीय सरकाले पहिरो पीडितका लागि एकिकृत बस्ती निर्माण गर्ने तयारी गर्यो । बुङ्सिङडाँडामा एकिकृत बस्ती निर्माण भएको छ । बस्तीमा १५वटा घर ठडिएका छन् । घर बनेको दुई वर्ष पुग्यो तर, पीडितलाई घर हस्तान्तरण भएको छैन ।
यहाँ निर्माण भएका घरहरु प्रयोगबिहिन भएपछि झारले बस्ती छोप्न थालेको छ । २०७४ साउन २६ गतेदेखि चार दिनसम्म गएको पहिरोले बुङसिङडाँडा, खोलाघारी, माङ्लेबुङ र बिकटेका दर्जनौं घरहरु भत्किए । तत्कालका लागि पहिरो पीडितलाई विद्यालयमा राखियो । कतिपय परिवारलाई त्रिपाल टाँगेर बस्ने व्यवस्था मिलाइएको थियो । बस्नै नमिल्नेगरी घर भत्किएकालाई घर दिने भन्दै सरकारले एकिकृत बस्ती निर्माण गर्यो । तर, अहिलेसम्म बस्ती हस्तान्तरण नहुँदा पीडितहरु आफन्तको घरमा बसेका छन् ।
'घरहरु बनेको दुई वर्ष भइसकेको छ,'लिला भन्छिन्, 'हामीलाई घर बस्न दिए हुन्थ्यो ।' लिलाजस्तै १५ जनाका लागि बस्ती निर्माण गरिएको हो । प्रदेश सरकारको ५० लाख र गाउँपालिकाको १७ लाख बजेटबाट बस्ती निर्माण भएको हो । छ रोपनी जमिनमा १५ वटा घरहरु निर्माण गरिएको छ । भान्छा कोठासहित तीन कोठा भएको घरको छाना जस्तापाताले छाइएको छ । भूँइलाई प्लास्टर गरिएको छ ।
बस्ती निर्माणको स्टिमेट नै गलत भएकाले अहिले समस्या देखिएको गाउँपालिकाको ठहर छ । स्टिमेटमा चर्पी र खानेपानी छुटेकाले निर्माण भइसकेका घरहरु हस्तान्तरण गर्न ढिलाइ भएको फालेलुङ तीनका वडाध्यक्ष वीरबिक्रम थाम्सुहाङले बताए ।
'पीडितलाई चाँडै घर उपलब्ध गराउने उद्देश्यले हातारमा काम थालियो, 'थाम्सुहाङले भने, 'डीपीआर बीना काम भएको र प्राविधिक स्टिमेटमै समस्या भएकाले बस्ती हस्तान्तरणमा समस्या देखिएको हो ।'
बस्तीमा आवश्यक संरचना निर्माणका लागि बजेट अभाव भएको थाम्सुहाङको भनाइ छ । चर्पी निर्माणका लागि थप दुई लाख रुपैयाँ गाँउपालिकाले लगानी गरेको छ । बस्तीमा बिजुली विस्तार, चर्पी र खानेपानीको धारा निर्माण गर्न बाँकी रहेकाले हस्तान्तरणमा ढिलाइ भएको गाउँपालिकाले जनाएको छ ।