सिडिओसहित ६ जनालाई कोरोना देखिएपछि प्रशासन बन्द
मलंगवा : सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसहित जिल्ला प्रशासन कार्यालयमा कार्यरत ६ जना कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको छ। शनिबार आएको रिपोर्ट अनुसार प्रमुख जिल्ला अधिकारी पौडेलसहित ६ जनामा कोरोना पोजिटिभ देखिएको प्रशासकिय अधिकृत राम प्रमोद यादवले जानकारी दिए।
‘बिहीबार स्वाब कलेक्सन गरी चेकजाँचका लागि पठाएका थियौं’, अधिकृत यादवले भने, ‘शनिबार रिपोर्ट आएको छ।’बुधवार हाम्रै कार्यालयका एक जना सुब्बामा कोरोना पोजिटिभ भेटिएपछि हामीले पनि परिक्षण गराउनका लागि स्वाब पठाएका थियौं। सुरक्षा निकायका साथीहरुसहित ७१ जनाले कोरोना परिक्षणका लागि स्वाव दिएका थियौं।
शनिबार आएको रिपोर्ट अनुसार सुरक्षागार्ड, एकजना प्रशासकीय अधिकृत, ५ जनामा कोरोना पोजिटिभ भेटिएको हो। जिल्ला प्रशासन कार्यालय ७ दिनका लागि पूर्ण रुपले बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत यादवले एक सूचना प्रकाशित गर्दै असोज २५ गतेदेखि ३० गतेसम्म शान्ति सुरक्षा र विपद् व्यवस्थापन बाहेकका सम्पूर्ण सेवा प्रवाह बन्द गरिएको जानकारी दिए।