कांग्रेसको भविष्य र नेतृत्व

कांग्रेसको भविष्य र नेतृत्व

देश र जनताको दीर्घकालीन भलो हुने गरी उपयुक्त समयमा ठीक निर्णय लिन सक्ने नेतृत्वको आवश्यकता छ


रामराज शर्मा/सौगात गौतम

नेपाली कांग्रेसको महाधिवेशन घोषणासँगै विभिन्न समूह चलायमान हुन थालेका छन्। जिल्लामा क्रियाशील सदस्यता वितरणमा विवाद सुरु भइसकेको छ। यसलाई महाधिवेशन लागिसकेको संकेतका रूपमा लिन सकिन्छ। महाधिवेशन प्रतिनिधि छान्नेहरू म यस्तो राजनीति सुरु हुँदै गर्दा, केन्द्रमा नेतृत्वको जोडघटाउ सुरु भएको छ। आधा दर्जन सभापतिको आकांक्षी छन् भने डेढ दर्जन महामन्त्रीका दाबेदार।

अघिल्लो लेखमा महाधिवेशनकेन्द्रित हुँदै कांग्रेसमा भएका पुस्ता र संरचनाबारे बहस गरिएको थियो। यस आलेखमार्फत बहस गर्न खोजिएको मुद्दा भनेको अबको नेतृत्वको गुण र सम्भावना भएको समीकरण हो।

अबको नेतृत्वको गुण

गत साता प्रकाशित लेखमा भनेजस्तै अबको कांग्रेसको मुख्य नेतृत्व सबै पुस्तालाई नै प्रतिनिधित्व गर्ने गरी आउनुपर्छ। विदेशी पत्याउने, समान व्यवहार गर्न सक्ने व्यक्ति जसले छिमेकी देशहरूसँग सन्तुलित सम्बन्ध राख्न सक्छ र उनीहरूले विश्वास पनि गर्छन् तथा पार्टीमा भावी नेतृत्व विकासमा उल्लेखनीय योगदान दिन सक्छ, त्यस्तो व्यक्तिको खोजी हुनुपर्छ। हरेक उमेर समूहसँग अन्तरक्रिया गर्न सक्ने क्षमता भएका अबको कांग्रेसको पदाधिकारी हुनुपर्छ। अबको पधाधिकारीको महत्र्वपूर्ण गुण भनेको निष्ठा पनि हुनेछ। प्रतिपक्ष भएर पनि सत्तापक्षको सारथि बनेको कांग्रेसले नयाँ नेतृत्व चयन गर्नैपर्छ।

कांग्रेसको आम निर्वाचनमा नमठिो हारपश्चात् नेतृत्वको आलोचना गर्दै सुधारको बाटोमा लैजान एकताब्द्ध भएका युवानेता विभाजित भएका छन्। सात महिना एक ढिक्का हुन नसकेका सात भाइ महाधिवेशनमा एक ढिक्का भएर पुस्तान्तरणको मुद्दा अगाडि सार्छन् भन्नेमा शंका छ। कांग्रेसको वडा कमिटीदेखि केन्द्रसम्म प्रभाव भएको र कुनै अनियमिततामा नमुछिएको स्वच्छ र सशक्त व्यक्तिहरूको खोजी अबको महाधिवेशनमा खोजी गरेनन् भने कांग्रेसलाई घाटमा पुर्‍याउन तिनै कार्यकर्ताले जिम्मा लिनुपर्ने हुन्छ। देश र जनताको दीर्घकालीन भलो हुने गरी उपयुक्त समयमा ठीक निर्णय लिन सक्ने नेतृत्वको आवश्यकता छ कांग्रेसलाई। समूह बन्नेछन् र गुटको राजनीति सुरु हुनेछ तर अब आउने महाधिवेशन प्रतिनिधिले गुटगत राजनीति निस्तेज पार्ने नेतृत्वको चयन गर्नैपर्छ।

एजेन्डा

पार्टीमा प्रतिबद्ध परम्परागत मतदाताबाहेक अधिकांश मतदाताले एजेन्डा हेरेर मतदान गर्ने पीरपाटी बढ्दो छ। दोस्रो र तेस्रो पुस्ताले विशेषगरी एजेन्डाकेन्द्रित राजनीतिलाई महत्र्व दिन्छन् र यो नै चुनावमा निर्णयक पक्ष हो। यो ठूलो समूहलाई प्रभाव पार्न झूटा र असम्भव आश्वासन होइन कि सम्भव हुने र दीर्घकालीन विकासका आयोजना पस्किने, जल्दोबल्दो समस्या समाधान गर्न सक्ने गरी रोजगारका अवसर सिर्जना गर्न सक्ने, रोजगार सिर्जना गर्न आवश्यक उद्योग स्थापना गर्न निजी तथा विदेशी लगानीकर्तालाई उपयुक्त वातावरण सिर्जना गर्ने र सामाजिक सुरक्षाअन्तर्गत स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासलाई उच्च महत्र्व दिनेजस्ता एजेन्डा लिएर जनतामाझ व्यापकरूपमा जान सक्यो भने त्यसको प्रभाव पक्कै देखिनेछ।

अबको नेतृत्व जनहितका एजेन्डासहित

कांग्रेसले सम्झिनुपर्ने कुरा भनेको बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईका नाममा ब्याज खाने दिन गइसकेको छ। स्मरण रहोस्, नेकपाले जस्तै कांग्रेसले पनि रेल र पानीजहाज आफ्नो घोषणापत्रमा राखेको थियो। कांग्रेसको सरकार हुन्थ्यो भने पनि रेल र पानीजहाजको खोजी हुन्थ्यो। अबको मतदाताले धेरै पक्षलाई विश्लेषण गर्नेछन्। त्यसैले पनि कांग्रेसको एजेन्डा जनमैत्री हुन जरुरी छ। कांग्रेसले रेल खोइ भनेर सोध्दै गर्दा रेल ल्याउने उपाय दिनु उसको दायित्व पनि हो।

पात्र र नेतृत्व लिने सक्नेको कमी त कांग्रेसमा नहोला तर पनि माथि भनिएजस्तै उम्मेदवार खोज्दा पुरानो पुस्ताबाट डा. शेखर कोइराला र नयाँ पुस्ताबाट गगन थापाको संयुक्त नेतृत्व पायो भने पक्कै पनि कांग्रेसले नयाँ खाका कोर्नेछ।

कांग्रेसको अर्को प्रमुख एजेन्डा भनेको पार्टीलाई पद्धतिमा चलाउने नेतृत्व। मनपरीतन्त्रको अन्त्य र पार्टीमा पद्धतिको विकास र वकालत गर्ने बेला आएको छ। कांग्रेसको छवि वा जरा भनेकै उदारवाद हो भने वैचारिक स्वतन्त्रता यसको आधार। तर बीपी कोइरालापश्चात् कुनै पनि नेताले वैचारिक सञ्चार गर्न सकेका छैनन्। बीपीकै विचार पनि नयाँ पुस्तालाई अध्यापन गराउन जरुरी छ। नयाँ विचार विकासका लागि पार्टीले अब आफूलाई तयार नगरे कुनैबेलाको राप्रपाको हालतमा पुग्नेछ कांग्रेस।

कांग्रेस सुधारका लागि बुँदागत एजेन्डा लिएर बहसको परिपाटी सुरु गर्ने नेतृत्वको खाँचो छ। परम्परागत शैलीलाई चुनौती दिएर एक्काईसौं शताब्दीको राजनीतिक दल कसरी बनाउने भन्ने एजेन्डाको खाँचो छ।

संगठन

कांग्रेसको संगठन लथालिंग अवस्थामा छ। विभाग गठन गरिए पनि कुनै सक्रिय छैनन् भने मनपरी तरिकाले नेतृत्वले हस्तक्षेप गरेको छ। पार्टीका मेरुदण्ड मानिने तरुण दल र विद्यार्थी संगठन नाम मात्रका छन् र आफूआफू भिडेर सकिँदै छन्। अन्य भ्रातृ संगठन पनि सेलाएको छ। संगठन विभागको नेतृत्व हेर्दा नै थाहा हुन्छ– कांग्रेसको संगठन कस्तो छ भन्ने। अब शक्ति विकेन्द्रीकरण गर्दै तल्ला तहलाई पूर्ण अधिकार दिनैपर्छ। स्थानीय निकायलाई आफ्ना उम्मेदवार छान्ने अधिकार नदिने हो भने पुरानो रोग अन्तर्घात रोकिने छैन। वेस्ट मिनिस्टरियल लोकतन्त्र मान्छु भन्ने कांग्रेसले सबै तहका उम्मेदवार केन्द्रबाट छनोट गर्छ यो उल्टो बाटो भयो। दमननाथ ढुंगाना जस्ता नगारिक समाजमा लागिसकेकालाई सांसदको उम्मेदवार बनाएर कांग्रेस चुकेको थियो। यस्तो प्रतिनिधि घटना धेरै .........चना जब केन्द्रले स्थानीय तहलाई उपेक्षित गरी टिकट वितरण काउन्टर खोलेको थियो।

संसद्मा लैजानैपर्ने व्यक्तिका लागि समानुपातिक र राष्ट्रियसभा छँदैछन्। कांग्रेसलाई विधान र प्रक्रियाले चलाउनैपर्छ। बेलाबेलामा भएको विवादमा संस्थापन पक्ष र पौडेल पक्ष वा तेस्रो गुटको भेलाले पार्टीभित्र समानान्तर क्रियाकलाप हुँदै गरेको छनक दिन्छ। यी गुटहरूको स्वार्थ राजनीतिक भागबन्डा हो भन्नेमा दुईमत नहोला। कांग्रेसको प्रमुख प्रतिद्वन्द्वी संगठन विस्तार गर्दै आफ्नो पहुँच बढाउँदै छ भने कांग्रेस आफ्नै सुरमा मस्त छ। साथै महाधिवेशन नजिकिँदै जाँदा भ्रातृ संगठनको म्याद ६ महिना थप्ने, विभागहरूमा मनपरी नियुक्ति गर्दै जानेले पनि देखाउँछन्, कांग्रेसमा भ्रातृ संगठनलाई आफ्नो कठपुतली बनाउने चलन।

कांग्रेसमा अधिकांश नेताहरूको पृष्ठभूमि विद्यार्थी राजनीति नै हो। जबकि नेता जन्माउने कारखानालाई अनिर्णयको बन्दी बनाइएको छ। यसरी शुभेच्छुक संस्थाहरू चलायमान भएनन् भने कांग्रेसमा टिके प्रथा हावी हुनेछ। कांग्रेसले अर्को चुनावमा जाँदा सैनिकविहीन सेनापतिसरह जाने हो भने संगठन विस्तार र विकासमा ध्यान दिनैपर्छ।

उपयुक्त पात्र

कांग्रेसको महाधिवेशनबारे सबैभन्दा बढी चर्चा गरिएको विषय हो अबको नेतृत्व। पात्रविशेष र गुटगत जोडघटाउले ठाउँ पाएको छ। समग्र देशको राजनीतिमा विभिन्न पुस्ताको आफ्नै किसिमको प्रभाव रहेकाले सबै पुस्तालाई प्रतिनिधित्व हुने गरी नेतृत्व छनोट हुँदा उत्तम हुनेछ। कांग्रेसमा पुरानो पुस्तालाई एकैचोटि नेतृत्व बाहिर राख्न पनि कठिन नै देखिन्छ। यसको व्यावहारिक पक्ष भनेको अहिलेको पुस्ताले आशा गरेका नेताहरू दोस्रो सिटमा बस्ने तयारी। त्यसैले पनि उमेर ढल्केका नेताहरूले कांग्रेसको नेतृत्व लिने पक्का छ।

हुन त नेतृत्वको प्रतिस्पर्धामा इच्छुक जोकोही पनि उत्रिन सक्छन् र यसको निर्धारण धेरै कारणले हुन सक्छ। गुटगत समीकरण त सजिलै अनुमान लगाउन सकिन्छ र नेतृत्व क्षमता भएका पनि धेरै छन्। विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइराला, रामचन्द्र पौडेल, शेरबहादुर देउवा, कृष्णप्रसाद सिटौला र गगन थापालगायतले नेतृत्वको दाबी गरेको सुन्दै आएका छौं। तर अन्त्यमा यति धेरै दाबेदार हुन्छन् कि नयाँ समीकरण बन्छ हेर्नै बाँकी छ।

कांग्रेसको विधानमा दुई निर्वाचित महामन्त्री र दुई उपसभापति हुने भएकाले विश्वप्रकाश शर्मा, प्रदिप पौडेल, धनराज गुरुङ, गुरुराज घिमिरे र चन्द्र भण्डारीलगायतका तेस्रो पुस्ताका नेताहरूको दाउ महामन्त्री नै हुने भएकाले राजनीतिक समीकरण अन्तिम समयसम्म अनुमान लाउन गाह्रो हुनेछ। त्यस्तै दोस्रो पुस्ताका नेताहरू पनि उपसभापति नभए महामन्त्रीमा दाबी गर्ने पक्का छ।

पात्र र नेतृत्व लिने सक्नेको कमी त कांग्रेसमा नहोला तर पनि माथि भनिएजस्तै उम्मेदवार खोज्दा पुरानो पुस्ताबाट डा. शेखर कोइराला र नयाँ पुस्ताबाट गगन थापाको संयुक्त नेतृत्व पायो भने पक्कै पनि कांग्रेसले नयाँ खाका कोर्नेछ। यी दुई भिन्न समूहमा रहेकाहरूको सँगै आउने सम्भावना र समीकरण बन्ला या नबन्ला तर यो सम्भावनाबारे बहस गर्नैपर्ने हुन्छ।

हुन त यो मिश्रण पूर्वाग्रही भएर भन्दा पनि एउटा राजनीतिक सम्भावनाको रूपमा विश्लेषण गर्न खोजिएको हो। शेखर कोइरालालाई कांग्रेसको विरासतको आरोप त लाग्ला तर उनले बीपी पुत्र नभएकै कारणले पार्टीमा छुट्टै संघर्ष गर्नुपरेको यथार्थ आफ्नै ठाउँमा छ। २०४६ अघिको पुस्ता प्रतिनिधित्व गर्ने, देउवालाई अघिल्लो महाधिवेशनदेखि खुलारूपमा चुनौती दिन सक्ने, काठमाडौंको सतही राजनीतिमा रमाउनेभन्दा जिल्ला घुमेर कार्यकर्तासँग भिज्ने भएकाले संगठनमा पकड बनाउने सक्ने शेखर कोइरालाले नेतृत्व पाए कांग्रेस फरक बाटोमा हिँड्ने पक्का छ।

तेह्रौं महाधिवेशनमा लोकप्रिय मत पाएका कोइराला पछिल्लो राष्ट्रिय राजनीतिक घटनाक्रममा सत्तापक्षले परामर्श गर्ने गरेका नेता हुन्। उनको प्रभाव राम्रो छ। त्यसैले पदाधिकारी नभए पनि आउने महाधिवेशनमा सभापति बन्ने होडमा छन्। उनको राजनीतिक यात्रा सकारात्मक हिसाबले हस्तक्षेपकारी नै हुनेछ यदि हुने सभापति निर्वाचित भए भने। उनी कांग्रेसमा पद नपाएका र परीक्षण नभएका नेता हुन्। त्यसैले पनि उनलाई चुनौती भए पनि उनको निष्ठाले कांग्रेसलाई नयाँ ऊर्जा दिनेछ।

गाउँदेखि केन्द्र मात्र होइन, विदेशीले समेत पत्याउने एक क्रियाशील र प्रस्ट अडान भएका शेखरलाई युवा पुस्ता अर्थात् २०४६ सालपछिको पुस्ताबाट गगन थापाले महामन्त्रीको पदमा रहँदै सहयोग गर्ने हो भने राम्रो टिम निर्माण हुनेछ। २०४६ पछि र गणतन्त्रपछिका युवाहरूका आशाका केन्द्र रहेका गगनको अध्ययनशीलता र बोल्ने शैली मात्र होइन, उनले छोटो समयका लागि स्वास्थ्यमन्त्री हुँदा गरेको कामले उनी कति अब्बल छन् भन्ने प्रमाणित गरिसकेको छ। सञ्चारमाध्यममा आउँदा र बोल्दा यी दुई नेता प्रायः कांग्रेसको हितमा बोल्ने गर्छन् भने गुटको राजनीतिको विरोधी पनि हुन्। आलोचनात्मक चेत भएका यी दुई पार्टी बाहिरको मात्र हैन, पार्टीभित्रै नेतृत्वको कमजोरी केलाएर खलपात्र भएका छन्। शेखरको प्रभाव कार्यकर्तासँग छ भने गगनको प्रभाव आम जनमानस (न्युट्रल मास) मा भएकाले यो मिश्रण फलदायी हुनेछ। यी दुवैले कसैको गुट समाते पनि त्यो बलियो हुने पक्का छ तर यी दुईको समूह बने यो समूह निर्णायक हुनेछ। यो सम्भावानाबारे कांग्रेसभित्र मन्थन हुन जरुरी छ।

डा. शेखर कोइरालाले संगठनको कमान सम्हाल्दै गगन थापाले आम चुनाव मोर्चाको नेतृत्व गरे कांग्रेसको भविष्य राम्रो हुनेछ। शेखर कोइराला पन्ध्रौं महाधिवेशनमा नेतृत्व युवाहरूलाई हस्तान्तरण गर्ने कुराको वकालत गर्दैछन्। त्यसैले पनि उनले तय गरेको राजनीतिक यात्रा हेर्दा युवाको साथ पाए चौधौं महाधिवेशनमा उनी सभापति हुने पक्का छ भने पन्ध्रौंमा नयाँ पुस्ताको आगमनलाई बाटो निर्माण हुनेछ। गगन थापा रुचाइएका महामन्त्री उम्मेदवार हुनेछन्, कुनै पनि सभापतिलाई तर उनले पदकेन्द्रित हुनेभन्दा पनि जोखिम लिएर निर्णय गर्नुपर्नेछ। सिटौला समूहमा हुनु भनेको देउवालाई बलियो बनाउनु हो भन्ने सामान्य राजनीतिक हिसाबकिताब गर्नुपर्नेछ गगनले। साथै डा. कोइरालाले पनि नेतृत्वको दाबी गर्दै घोषणा गर्ने बेला आइसकेको छ, पछिल्लोपटक भाइ शशांकलाई महामन्त्री छाडेकाले यसपटक पनि छाड्छन् कि भन्ने आशंका छ। यसपटक पनि उनले यसो गरे भने उनको राजनीतिक ओज घट्नेछ र उनको कांग्रेस सुधार अभियान यहीं टुंगिन्छ। हुन त यो राजनीतिक सम्भावना यथार्थमा परिणत हुन दुई नेतामा भर पर्छ भने निर्णायक कांग्रेको महाधिवेशन प्रतिनिधि हुनेछन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.