कला र संस्कृतिका जीवन्त अध्येता
नेपाली इतिहास, संस्कृति र पुरातत्वका क्षेत्रमा निष्ठासाथ अध्ययन—अध्यापन गर्ने र त्यसकै लागि आफ्नो सम्पूर्ण जीवन समर्पित गर्ने विद्वान्हरूमा पर्छन् प्रा.डा. मुकुन्दराज अर्याल। गोरखा राज्यका राजा द्रव्य शाहका गुरु नारायण अज्र्यालका सन्तति भएर संस्कारवश आएको हो या उहाँको गहन अध्ययनकै प्रतिफल हो नेपाली इतिहास, संस्कृति र यसका विविध पक्षका बारेमा यति धेरै ज्ञान थियो कि ती सारा कहाँबाट आर्जन गरेको होला जस्तो लाग्थ्यो कहिलेकाहीं। आफ्नो विद्याका क्षेत्रमा सदैव त्यो ज्ञानलाई कसरी अरूको पहुँच र जानकारीमा ल्याउने, जसले गर्दा त्यसप्रति गौरव र महत्वबोध गर्न सकियोस् भन्ने चाहनाले नै काम गरेको अनुभव पंक्तिकारले गरेको छ। मेरा अग्रज हुनुका साथै स्नातकोत्तर तहको नेपाली इतिहास, संस्कृति एवं पुरातत्व विषयका गुरु पनि हुनुहुन्थ्यो उहाँ।
झन्डै ४३ वर्षसम्म एकटंकारको सद्भावपूर्ण सम्बन्ध रह्यो। उहाँको परिवारसँगको सम्बन्ध त मेरो पिताजीकै समयदेखिको हो। उहाँ कहिले नेपाली कला—वास्तुकला विज्ञका रूपमा, कहिले नेपाली इतिहास, संस्कृति एवं पुरातत्व विभागका प्राध्यापक या पछि गएर विभागीय प्रमुख, कहिले पशुपति क्षेत्र, स्वयम्भू क्षेत्र या पाटन, भक्तपुरतिर विदेशीहरूलाई पथप्रदर्शन गर्दै हिँडिरहेको पथप्रदर्शक, कहिले संग्रहालयका सामग्रीहरूको विवरण तयार पार्न पोख्त व्यक्तिका रूपमा देखिनु हुन्थ्यो। पथप्रदर्शकमा उहाँ सामान्य ‘गाइड’ होइन विशिष्ट हैसियत हासिल गरेको विज्ञ व्यक्तित्वमा पर्नु हुन्थ्यो।
कसैलाई नेपाली कला, वास्तुकलाको गहन अध्ययनसहितको पथप्रदर्शक चाहिए उहाँको विज्ञतालाई मन पराउनेहरू धेरै थिए। सस्तो प्रचारमा नहिँड्ने भएकाले एकान्तिक चिन्तन एवं अध्ययनमा मग्न हुने उहाँको स्वभाव थियो। कहिले पशुपति क्षेत्रमा महाशिवरात्रि या यस्तै महत्वपूर्ण पर्वहरूमा आउने साधु–सन्त, महात्माहरूसँग सत्संग गरिरहेको भेटिन्थ्यो। उहाँ कैयन्का लागि नेपाली कला, इतिहास एवं वास्तुकलाका लागि स्रोत व्यक्ति पनि हुनुहुन्थ्यो। उहाँको सुपरिवेक्षणमा धेरैले स्नातकोत्तर तह एवं विद्यावारिधिका शोधपत्रहरू तयार पारेर डिग्री हासिल गरेका छन्। कैयन्का पुस्तकहरूमा उहाँका शुभेच्छाले स्थान पाएका छन्।
नेपालले नेपाली कला, संस्कृति एवं वास्तुकला क्षेत्रका एकजना समर्पित एवं होनहार अध्येता प्रा.डा. मुकुन्दराज अर्याल गुमाएको छ।
नेपाली कलामा हिन्दु, बौद्ध दुवै आस्थाका प्रस्तर मूर्ति हुन् कि, धातुका मूर्ति हुन् या पौवा चित्रकलाका विविध भावभंगीका मूर्ति या चित्रहरू हुन्, तिनको पहिचानदेखि लिएर महत्वका बारेमा धारावाहिक व्याख्या गर्न सक्ने विशेषता र बृहत् ज्ञान उहाँसँग थियो। आफूसँग भएका पुस्तक हुन् कि हस्तलिखित ग्रन्थ कसैले चाहे उपलब्ध गराई सहयोग गर्ने उहाँको बानी कदरयोग्य थियो। आफ्नो क्षेत्रका यस्ता व्युत्पन्न एवं धुरन्धर ज्ञाता, नेपाली कला, संस्कृति उन्नयनका लागि सदैव समर्पित मुकुन्दराज अर्यालको वैशाख २९ गते ७७ वर्षको उमेरमा निधन भयो। यसले उहाँका हितैषी, शुभेच्छुहरूलाई दु:ख लाग्नु स्वाभाविक नै हो। अर्यालले नेपालको कला—वास्तुकलाको परिचय विदेशीलाई होस् भन्ने उद्देश्यले आकर्षक तस्बिरहरूले भरिभराउ भएको ‘नेपाल यान इन्ट्रोडक्सन’ नामको पुस्तक २०३१ सालमा प्रकाशन गर्नुभएको थियो, जुन पछि फ्रेन्च र जर्मन भाषामा पनि प्रकाशित भयो।
त्यस्तैगरी लुम्बिनीको विहंगम परिचय दिने गरी लुम्बिनी (विसं २०४६) र शंखमूल: ए कल्चरल मोनोग्राफ (विसं २०४६) पनि प्रकाशित भए। सहलेखनमा नेप्लिज कल्चरर्स (विसं २०५७), राष्ट्रिय संग्रहालय, बौद्ध कला विभागको वर्णनात्मक विवरण (विसं २०५७) छन्। परम्परागत मूर्तिहरूको पहिचान एवं व्याख्यासहितको संस्कृत भाषामा लेखिएको हस्तलिखित ग्रन्थ धर्मकोश संग्रहको नेपालीमा अनुवाद तथा सम्पादन गर्नुभएको थियो, जुन प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित भएको छ। उहाँले अमेरिकाको फुलब्राइट विद्वत्वृत्ति पाएर झन्डै दुई वर्ष उतै बसी एमएस गर्नुभएको थियो भने केही वर्षपछि बनारस हिन्दु विश्वविद्यालयबाट नेपालको सूर्य मूर्ति एवं सौर्य सम्प्रदायका विषयमा विद्यावारिधि गर्नुभएको थियो।
आफ्ना शिष्य—प्रशिष्यहरूलाई अध्ययन—अनुसन्धान गर्ने प्रेरणा दिने तथा सबैलाई सक्दो सहयोग गर्ने भावनाले गर्दा सबैको प्रिय पात्र हुनु हुन्थ्यो। उहाँको अवसानले नेपालले नेपाली कला, संस्कृति एवं वास्तुकला क्षेत्रका एकजना समर्पित एवं होनहार अध्येता गुमाएको छ। केही समय अगाडिदेखि नै अलि सञ्चो छैन रे भन्ने थाहा पाए पनि विभिन्न किसिमका व्यस्तताले उहाँसँग भेट्न पाएको थिइनँ। टेलिफोनमा बराबर कुराकानी भए पनि करिब पाँच—छ महिनादेखि टेलिफोनमा पनि सम्पर्क हुन सकेको थिएन। केही नलागेर गएको फागुन ८ गते बिहान टेलिफोन गर्दा उहाँले नै टेलिफोन उठाउनुभयो। मेरो कान अलि कमजोर छ राम्ररी सुनिनँ भन्दाभन्दै मैले एकपटक भेट्न आउने इच्छा भएको सुनाएँ।
उहाँले जरुरी केही भए ठीकै छ एकदुई दिनमा भेटुँला नभए अहिले नै किन ? भनेको जस्तो गर्नुभयो र टेलिफोन राख्नुभयो। पहिले यस्तो व्यवहार हुँदैनथ्यो किन यस्तो गर्नुभयो ? कतै शरीर स्वस्थ्य छैन जस्तो लाग्यो। त्यत्तिकैमा पाँच मिनेट जतिपछि उहाँले नै टेलिफोन गर्नुभयो र भन्नुभयो। आजै आउन सक्नुहुन्छ त भनेर सोध्नुभयो। मैले भइहाल्छ नि भनें। त्यसै दिन दिउँसो २ बजे भेट्ने न भयो। म ठीक समयमा उहाँको निवास गैरीधारामा पुगें। घरको चोकमा रहेको एउटा मेचमा मुकुन्दराज र अर्को मेचमा उहाँकी धर्मपत्नी घाम तापेर बस्नुभएको रहेछ। निकैबेर कुराकानी गर्यौं। डायबिटिजको समस्या रहेको एवं त्यसको व्यवस्थापनका लागि इन्सुलिन लिने गरेको तथा किडनीमा पनि केही आवश्यक तत्वहरूको कमबेसी भएको सुनाउनुभयो।
त्यसबेला उहाँको शरीर एवं मुखमा मैले निकै सुजन देखें। उहाँमा जीवनप्रतिको मायामोह अब नरहेको, जन्मेर आएपछि एक न एक दिन सबै जानुपर्छ। घरसल्लाह मिलेदेखि देवघाटमा गएर एउटा सानो झुपडीमा एक–दुईजना ब्राह्मण वटुकलाई पढाउन सहयोग पनि गर्ने तथा उनीहरूले आफूलाई बाँचुञ्जेल सेवा गरिदिएदेखि उतातिर जाने इच्छा रहेको सुनाउनु हुन्थ्यो। चारजनाको परिवारमा बिरामी श्रीमान् एवं बुबा र ससुरा छाड्न परिवारका कसले सहमति देलान् भनें। त्यो हुने कुरै थिएन।
यस परिस्थितिमा घरलाई नै पवित्र तीर्थस्थल सम्झनुपर्छ भन्ने मैले आफ्नो विचार राखें। खुट्टा चलाउनै नहुने गरी दुखेका छन्। कोही सिपालु मानिसले ठीक पारिदिए कस्तो हुन्थ्यो भन्नुहुन्थ्यो त्यतिखेर। आफूलाई त्यस्तैगरी दुख्दा ठीक पारिदिने एकजना परम्परागत फिजियोथेरापिस्टको कुरा गर्दा उहाँले एकपटक भेट्न पाए हुन्थ्यो भन्ने इच्छा गर्नुभएकाले केही दिनपछि अर्थात् गएको चैत ४ गते आफंैले लिएर गई चिनापर्ची गराएको थिएँ। चैत ११ गतेदेखि बन्दाबन्दी सुरु भइहाल्यो। त्यो नै उहाँसँगको मेरो अन्तिम भेट रहेछ। उहाँको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना दिन जान पनि कोरोना कहरले बाटो छेक्यो। जीवनमा यस्तो पनि समय आउँदो रहेछ भन्ने अहिले महसुस भइरहेको छ। अब केवल उहाँसँगका स्मृति र सम्झना मात्र अवशेष रहन गए।