पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु, एक घाइते
रुकुम : पश्चिम रुकुमको आठबिसकोट नगरपालिका- ३ को स्यालाखदीमा पहिराले घर पुरिँदा आमा छोराको मृत्यु भएको छ। शुक्रबार बिहान ६ बजेको समयमा स्थानीय तुलबहादुर दमाईको घर पहिरोले पुरेको हो।
घर पहिरोले पुरिँदा २८ वर्षीया सीता दमाई र उनका ६ वर्षका छोरा हाविल परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डीएसपी ठगबहादुर केसीले जानकारी दिए।
पहिरोमा परेर ८ वर्षीया हिरा परियार घाइते भएको उनले बताए। घटनास्थलमा नेपाल प्रहरी र स्थानीयबासीले उद्दार कार्य गरिरहेको छ। लगातार पानी परेकाले अन्य ठाउँमा पनि क्षति हुन सक्ने भन्दै सतर्क हुन डीएसपी केसीले स्थानीयलाई आग्रह गरेका छन्।