विज्ञान झन् अनन्त छ

विज्ञान झन् अनन्त छ

२०३५ सालमा अध्ययनका सिलसिलामा म काठमाडौं आएको थिएँ। त्यो बेला काठमाडौंका सडकमा जापानी कम्पनीद्वारा उत्पादित सानदार ट्याक्सी (कार) गुड्थे। थोरै रिक्सा पनि अस्तित्वमा थिए। ज्ञानेश्वर कमलपोखरीतिर एउटा मान्छे रिक्सा चढेर ओहोरदोहोर गरिरहेको देखिन्थ्यो। लामो दौरामा सजिएर रिक्सामा यात्रा गर्ने ती व्यक्तित्व प्रख्यात साहित्यकार बालकृष्ण सम थिए। एक दिन मेरो दाजु र मलाई समसँग भेट्ने अवसर प्राप्त भयो। ज्ञानेश्वरस्थित सम निवासमा प्रवेश गर्नासाथ ढोकामाथि कुदिएको कविताको पंक्तिले मेरो ध्यान खिच्यो-

‘यो कुनै वास हो मेरो नित्य जीवन मार्गको
कतैतिर म हिँडने छु स्वप्न पूरा भएपछि’।

२०३८ साउनमा स्वप्न पूरा भएपछि बालकृष्ण समको चोला उठ्यो। तर आज पनि उक्त अद्भुत कविता मेरो स्मृतिमा सजीव छ। समप्रति मेरो गहिरो आदर भाव छ।

समद्वारा रचित नाटकको अर्को एउटा पंक्ति ‘ज्ञान मर्दछ हाँसेर रोइ विज्ञान मर्दछ’ पनि बहुचर्चित छ। तर विज्ञान रोएर मर्दछ भन्ने भावार्थमा जसरी यो पंक्ति उद्धरण गर्ने गरिएको छ, त्यसप्रति भने मेरो असहमति छ। सममा विज्ञानको ज्ञान थियो तर रोई विज्ञान मर्दछ भन्दै कोकोहोलो मच्चाउने धेरैमा विज्ञानको पर्याप्त ज्ञान नभएको हुनसक्छ। सम विज्ञानलाई सम्मान गर्थे तर समलाई उद्धृत गर्ने कतिपयले विज्ञानको अपमान गरिरहेको पनि हुन सक्छ।

विज्ञानलाई दु :खको र ज्ञानलाई सुखको स्रोतका रूपमा व्याख्या गर्न खोज्नेहरूले ज्ञानको उत्कृष्ट स्वरूप विज्ञान हो भन्ने तथ्यलाई बिर्सिएका छन्। एउटा सर्जकले आफ्ना पात्रहरूमा प्राण भर्न पोखेको अभिव्यक्तिको एउटा अंशलाई टप्प टिपेर एकतर्फी व्याख्या गर्न खोज्दा अरु अंश ओझेलमा पर्नुका साथै लेखकप्रति पनि अन्याय भएको हुन सक्छ। समद्वारा लिखित ‘प्रल्हाद’ नाटकमा ज्ञान र विज्ञानबारे लामै तर्क वितर्क छ। 

जहाँ कवि स्वयंले विज्ञानलाई अनन्त भनेका छन्, अनन्तको अन्त्य (मृत्यु) कसरी हुन्छ ? नाटककार स्वयंमा त्यो अनन्तको चेत छ भने व्याख्याताहरू किन/कसरी अचेत हुन पुगे ? सिर्जनाको सुरुवातमा सर्जक विज्ञानमय भएर सलल बगेका छन्, अन्त्यमा किन बहकिन पुगे ? जबकि ज्ञान भनेको विम्ब हो, विज्ञान त्यसैको प्रतिविम्ब हो। ज्ञान भनेको उद्यान हो, त्यही उद्यानमा ढकमक्क फुल्ने फूल विज्ञान हो। सर्जक स्वंयले विज्ञानलाई अनन्त ठानेपछि रोई विज्ञान मर्ने कथन विरोधाभासपूर्ण छ।
ज्ञानको जटिल स्वरूप विज्ञान हो। ज्ञानको कठिन स्वरूप विज्ञान हो। ज्ञानको उत्कृष्ट स्वरूप विज्ञान हो। ज्ञानको विशिष्ट स्वरूप विज्ञान हो। ज्ञानको परिमार्जित स्वरूप विज्ञान हो। ज्ञानको संश्लेषणलाई जब सूत्रमा उनियो त्यसैलाई विज्ञान भनियो। ज्ञानको गर्भबाट जति आविष्कार भए त्यसैलाई विज्ञान नामकरण गरियो। सृष्टिको प्रात :मा ज्ञानको प्रादुर्भावसँगै विज्ञानको बीजारोपण भयो। सृष्टिको मध्यान्हमा ज्ञानको परिमार्जनसँगै विज्ञानको पनि परिमार्जन भयो। सृष्टि सन्ध्याको समीप पुगेको छैन। सृष्टि चलेसम्म ज्ञान अजर छ। सृष्टि रहेसम्म विज्ञान अमर छ। ज्ञान अजर छ भने ज्ञान मर्दछ हाँसेर भन्नु युक्तिसंगत हुँदैन। ज्ञान अजर भएका कारण विज्ञान स्वत : अमर हुने भयो त्यसैले रोई विज्ञान मर्दछ भन्नु ज्ञानसम्मत भएन। ज्ञानको मृत्यु कवितामा हुन सक्छ, यथार्थमा होइन। विज्ञानको मृत्यु रचनामा हुन सक्छ, धरातलमा होइन। विज्ञान अपूर्ण हुन सक्छ त्यसलाई ज्ञानले नै पूर्ण बनाउँछ। विज्ञान अपुरो/मधुरो हुनसक्छ जसलाई ज्ञानले नै पूरा गर्न सक्छ।

मनुष्य सर्जक हो। विज्ञान मनुष्यकै सिर्जना हो। ज्ञानको अभावमा मनुष्य क्लान्त भएर छटपटाउन सक्छ। त्यसको अर्थ ज्ञान छटपटिएको होइन। विज्ञानको अभावमा रोई कराई मनुष्य मर्न सक्छ। त्यसको अर्थ विज्ञान रोएर मरेको होइन। फल लटरम्म पाकेपछि कहिलेकाहीँ किरा पर्न सक्छ। त्यसको अर्थ दोष फलको होइन, न वृक्षको हो। मनुष्य चेतको पुञ्ज हो। ज्ञान त्यही पुञ्जको विम्ब हो। विज्ञान त्यही विम्बको प्रतिविम्ब हो।

मानव जातिको हित र आवश्यकतालाई दृष्टिगत गर्दै विज्ञानका अनेकौँ विधा आविष्कार भए। ज्ञान त्यसको बीज हो। विज्ञान त्यसको फल। ज्ञानले मनुष्यलाई श्रेष्ठ बनायो। विज्ञानले मनुष्य जीवनलाई सहज तुल्यायो। तर कतिपयले बमलाई सम्पूर्ण विज्ञान ठाने त कतिपयले विज्ञानलाई ध्वंस र विनाशको पर्याय माने। जीवन रक्षाका लागि औषधी जन्मियो तर ती औषधीले एउटा सीमासम्म जीवन बचाउन सक्छन्। कालमाथि विजय हासिल गर्न सक्दैनन् भन्ने सत्यलाई कसै कसैले बिर्सिए। ऊर्जाको आवश्यकता पूर्ति गर्न अणु घोटियो तर त्यसैबाट अणु/परमाणु बम पनि जन्मियो। मेसिनको कुनै चेत हुँदैन तर मनुष्य अचेत भइदिँदा अनर्थ हुन्छ। बम आफैँ पड्किँदैन। विष्फोट गराउने मनुष्यले हो।

ज्ञान मर्दछ हाँसेर रोई विज्ञान मर्दछ भन्नु वा बुझ्नुभन्दा पनि ज्ञान मर्दैन कहिल्यै, विज्ञान झन् अनन्त छ, अनन्तको यो यात्रामा त्यही ज्ञान समर्थ छ।

बमले मान्छे चिन्दैन। चिन्ने मनुष्यले हो। हतियार निर्जीव औजार हो। मनुष्य कालको सजीव अवतार हो। मनुष्यले ज्ञानको दुरुपयोग गर्दा विज्ञान बदनाम भएको छ। कतै मनुष्यले विवेक गुमाउँदा विज्ञानको अपमान भएको छ। कतै मनुष्यले संयम गुमाउँदा मानवता हायलकायल र घायल भएको छ। यसमा दोष विज्ञानको होइन, मनुष्यको अज्ञानको हो। त्यही अज्ञानले विज्ञानको अपहरण गर्‍यो र संहारकारी भूमिकामा अनुवाद गर्न खोज्यो। मनुष्यको अस्तित्व रक्षाका लागि ज्ञान सर्वोत्तम पुँजी रहँदै आएको छ। विज्ञान त्यसैबाट प्राप्त भएको ब्याज हो। तर रक्षकको रूपमा अवतरित मनुष्य नै भक्षकमा अनुवाद भएपछि दोष विज्ञानमा थोपर्न खोज्नुको कुनै औचित्य छैन।

ज्ञान भनेको वृक्ष हो। विज्ञान कतै प्रेरणादायी पुष्प भएर फुलेको छ, कतै जीवनदायी औषधी भएर फलेको छ। विज्ञान कतै ऊर्जा भएर उम्रेको छ, कतै सिर्जना भएर फक्रेको छ। आफूले गरेको आविष्कारको सदुपयोग गर्ने दायित्व मनुष्यको हो तर दुरुपयोग हुँदा विज्ञान झनै घाइते भएको छ। बन्दुक आफैँ पड्किँदैन, पड्काउने मनुष्यको अज्ञानले हो। बम आफैँ फुट्दैन, विष्फोट गराउने मनुष्यको अज्ञानले हो। बम बोकेर क्षेप्यास्त्र आफैँ उड्दैन, प्रक्षेपण गराउने मनुष्यको अल्पज्ञानले हो। विज्ञान आफैँले संहार गर्दैन, संहार गराउने मनुष्यको सोचले हो। विज्ञानले हाहाकार गर्दैन, कोहराम मच्चाउने मनुष्यको चेतले हो। अज्ञान बर्बराउँछ र विज्ञानमाथि दोषारोपण गर्छ। जबकि ज्ञान भनेको चेत हो, विज्ञान अचेत छ। ज्ञानको सीमा छैन त्यसैले विज्ञानको पनि सीमा छैन। जब ज्ञान नष्ट हुन्छ मनुष्य पथभ्रष्ट हुन्छ। जब ज्ञान भ्रष्ट हुन्छ, विज्ञान विष्फोटक बन्छ। विज्ञानमाथि अज्ञानको नियन्त्रण मनुष्य सभ्यताका लागि सबैभन्दा ठूलो खतरा हो।

जब ज्ञानको अपहरण हुन्छ, विज्ञान विध्वंशक बन्छ। जब ज्ञानको हुर्मत लिइन्छ, विज्ञान विकृत बन्छ। ज्ञान अजर अमर छ, त्यसैले हाँसेर होस वा रोएर ज्ञान मर्ने कुरा भएन। 
हो, ज्ञानीको मृत्यु हाहाकाररहित हुनसक्छ। ज्ञान अजर भएपछि विज्ञान अमर हुने नै भयो। त्यसैले विज्ञान मर्ने कुरा भएन। हो, विज्ञानको दुरुपयोग हुँदा त्यस्ता दुरुपयोगकर्ताहरूको मृत्यु भने हाकाकारसहित हुन सक्छ।

ज्ञानको सदुपयोगबाट मात्रै विज्ञान उपयोगी बन्छ। ज्ञानको दुरुपयोग विज्ञानमाथि बलात्कार ठहरिन्छ। विज्ञानमाथि बलात्कार हुँदा मानवतामाथि नै बलात्कार भयो। विज्ञान कहिल्यै बौलाउँदैन। ज्ञानको हत्या भएपछि मनुष्य बौलाउँछ र विज्ञानलाई मनुजताको हत्यामा औजार बनाउँछ तर मान्छे बौलाउँदा पनि उपचार विज्ञानले नै गर्छ।

ज्ञानको खोज कहिल्यै सकिँदैन, ज्ञान जो अपार छ। ज्ञानको भोक कहिले मेटिँदैन, ज्ञान जो अथाह छ। विज्ञानको खोज कहिले सकिँदैन, विज्ञान अनन्त छ। ज्ञान विकृत भएपछि विज्ञान स्वत : विकृत हुन्छ। ज्ञान विम्ब हो, विज्ञान प्रतिविम्ब मात्र। विम्ब रोए प्रतिविम्ब रुन्छ। विम्ब हाँस्छ भनेपछि प्रतिविम्ब कसरी रुन्छ ? विम्ब मर्दैन भने प्रतिविम्ब कसरी मर्छ ? त्यसैले ज्ञान मर्दछ हाँसेर रोई विज्ञान मर्दछ भन्नु वा बुझ्नुभन्दा पनि ज्ञान मर्दैन कहिल्यै, विज्ञान झन् अनन्त छ, अनन्तको यो यात्रामा त्यही ज्ञान समर्थ छ भन्ने मलाई लाग्छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.