आमाको अन्त्येष्टिमा छोरालाई आउन दिएन प्रहरीले
फिदिम : जन्मदिने आमाको अन्त्येष्टिले हरेक सन्तानलाई गहिरो चोट दिन्छ। अत्येष्टिमा आमाको अनुहार देख्न नपाउने सन्तान झनै ठूलो पीडामा छटपटिएका हुन्छन्। लकडाउनका कारण फालेलुङ गाउँपालिका-२ पञ्चमुखिका एक युवकले यस्तै पीडा भोग्नु परेको छ।
मृत्युको खबर सुनेर आमाको अत्येष्टिमा हिडेका पञ्चमुखिका भगिराज राई बीचबाटोबाटै फर्किनु परेको छ। प्रहरीले आमाको अन्त्येष्टिमा जान नदिएपछि उनीसहित अत्येष्टिमा हिडेका आफन्तहरु बाटोबाटै फर्कनुपरेको हो। भगिराजकी आमा रामबुङ राईको शुक्रबार निधन भएको हो। रामबुङका तीन छोरामध्ये कोही पनि अत्येष्टिमा उपस्थित हुन सकेन्। ‘जेठो र माहिलो दाजु मलेसियामा हुनुहुन्छ,’ कान्छो छोरा भगिराजले भने ‘म पनि आमाको अत्येष्टिमा पुग्न पाइन्।’ अन्त्येष्टिमा आफूपनि पुग्न नपाएपछि कान्छा काका जितबहादुरले दागबत्ति दिनु परेको भगिराजको भनाई छ।
‘म धरानमा बस्दै आएको थिए,’ राईले भने ‘शुक्रबार अचानक आमाको मृत्यु भएको खबर सुने। गाडीको पास मिलाएर चालकसहित नौ जना अन्त्येष्टिमा जाँदै गर्दा प्रहरीले रोकेपछि फर्कनुपर्यो।’ राँके पुगेपछि राई चढेको गाडी प्रहरीले रोकेको थियो। फालेलुङ गाउँपालिका-२ का वडाध्यक्ष तील बहादुर खत्रीको निर्देशनमा आफूलाई प्रहरीले रोकेको राईको भनाई छ। राँकेमा प्रहरीले रोकेपछि राई राँकेबाटै झापा फर्किएको थियो।
आमाको अत्येष्टिमा आउँदै गरेको छोरालाई आफूले रोक्न प्रहरीलाई निर्देशन नदिएको वडाध्यक्ष खत्रीले बताए। ‘आएपछि क्वारेन्टाइनमा बस्नुपर्छ भनेपछि उनीहरु रिसाएर फर्किका हुन्,’ खत्रीले भने ‘अन्त्येष्टिमै आउनै रोक लागाएको हैन।’