क्षमा पूजामा सीमित वटुक भैरव जात्रा
पाल्पा : खगोल शास्त्रअनुसार सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने दिन वैशाखे संक्रान्ति पर्छ। यही दिनलाई नेपाली नयाँ वर्षका रूपमा मनाउने परम्परा छ। ऋतु विज्ञानअनुसार नयाँ वर्षको आगमनसँगै प्रकृतिले पनि शृंगार गर्न थाल्छ। हामीले मनाउने सबै चाडपर्व, जात्रा र शुभकार्यको मुहूर्तका लागि पनि विक्रम सम्बत्लाई आधार मानिन्छ।
नयाँ वर्षको पहिलो दिन मंगलकारी हुने भएकाले यो दिन गरेका शुभकार्य वर्षभरि सफल हुन्छन् भन्ने मान्यता छ। मानिसले नयाँ वर्षका दिन राम्रा बानीको सुरुआत गर्ने, सही काम थालनी गर्ने, बिग्रेका सम्बन्ध सुधार्नेजस्ता काम गर्छन्। नेपालभर आजको दिनलाई हर्षोल्लासका साथ मनाउने गरिन्छ। पाल्पा तानसेन अमरगन्जमा रहेको वटुक भैरव मन्दिरमा हरेक वर्ष वैशाखे संक्रान्तिका दिन वटुक भैरव जात्रा मनाइँदै आएको थियो।
संसारभर फैलिएको 'कोभिड १९' कोरोना महामारीको त्रासमा नेपाल तीन हप्तादेखि लकडाउनमा छ। यो बीचमा परेका जात्रा, पर्व, पूजाआजा, व्यापार व्यवसायलगायत सम्पूर्ण कार्य ठप्प छ। तानसेनमा नयाँ वर्षकै दिन निकै भव्यताका साथ मनाइने वटुक भैरवको जात्रा यसपटक क्षमा पूजामै सीमित रह्यो।
पाल्पामा रहेको श्री रणउजेश्वरी भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष तथा प्राध्यापक राजेश्वर उदयका अनुसार सोमबार वटुक भैरव मन्दिरमा पुजारीको उपस्थितिमा क्षमा पूजा गरिएयो। यस्तै वर्षको अन्तिम दिन तानसेनको टक्सारमा मनाइने काल भैरवको जात्रा पनि यस वर्षलाई स्थगित गरियो।
उदयका अनुसार लकडाउन भएको थिएन र कोरोना महामारीको त्रास फैलिएको थिएन भने तानसेनवासी आइतबारदेखि नै रातभर जाग्राम बसी भजन कीर्तनमा मस्त भएका हुन्थे। रातभर नाचगान गर्दै, भैरवको भजन गाउँदै यतिबेला रथयात्रामा सहभागी हुन्थे। नयाँ वर्षका दिन मनाइने भएकाले पनि वटुक भैरव जात्रामा तानसेन बासी सबैले हर्षोल्लासका साथ रमाइलो गर्थे। सबै जातजातिका मानिस मिलेर आफ्नो संस्कृति जोगाउन अग्रसर हुन्थे। लकडाउनको अवस्था भएकाले यतिबेला यो सहर शान्त र ठप्प प्रायः छ।
नेवारी समुदायको बाहुल्य भएको पाल्पाको सदरमुकाम तानसेन आफैंमा एउटा सांस्कृतिक सहर हो। यहाँ हप्तैपिच्छे जात्रा, पर्व पूजाआजा चलिरहन्छ। देउराली सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष मदन देउरालीका अनुसार तानसेनको भीमसेनटोल अमरगन्जमा रहेको वटुक भैरव मन्दिर सेन कालमा स्थापना भएको सबैभन्दा पुरानो मन्दिर मानिन्छ। पश्चिम मोहडा भएको यो मन्दिर तले शैलीमा निर्माण भएको छ। अत्यन्त डरलाग्दो भयानक मुखाकृति भएको तामाको धातुको वटुक भैरवको अर्धकदको मूर्ति छ। सेनकालमा पाल्पाका मुख्य चार नाकामा भैरवको मूर्ति स्थापना गरिएको थियो। यसै समयमा महादत्त सेनले श्रीनगर सहर बसाल्दा अमरगन्जमा यो भैरवको मन्दिर स्थापना गरेका हुन्।
वटुक भैरवको जात्रा प्रत्येक वर्ष नयाँ वर्षका दिन गरिन्छ। अघिल्लो रात पुजारीको घरबाट भैरवको प्रतिमूर्ति मन्दिरमा लगिन्छ र जाग्राम गर्दै रातभर भजन कीर्तन गाउने चलन छ। जाग्राम बस्नेलाई सम्हयबजी प्रसाद बाँड्ने गरिन्छ। अर्को दिन वटुक भैरवको प्रतिमूर्तिलाई रथमा राखेर पूजा गर्दै नगर परिक्रमा गराइन्छ।
वटुक भैरवको जात्रामा पहिलेपहिले बोकाको बलि दिने परम्परा भए पनि आर्थिक समस्याका कारण हाल भने हाँसको अन्डा चढाएर पूजा गरिन्छ। यसरी निकै हर्षोल्लासका साथ मनाइने यो जात्रा यो वर्ष क्षमा पूजा गरेर स्थगित गरियो।