अनुहारको पोतो कसीर हटाउने ? यसो भन्छन् विशेषज्ञ
![अनुहारको पोतो कसीर हटाउने ? यसो भन्छन् विशेषज्ञ](https://annapurnapost.prixacdn.net/media/albums/chaya-poto-dark-face_20200315082836_R3vzSkhH8F.jpg)
म ३० वर्षकी भएँ। केही महिनायता मेरो गाला, नाक र आँखावरिपरि कालो दाग देखिएको छ। जाडोमा घाममा बस्नाले मेरो छालाको रङ कालो भएको हो कि ? या छालासम्बन्धी केही समस्या देखिएको हो ? कालो दाग हटाउने उपाय के होला ?
तपाईंले प्रश्नमा उल्लेख गरेअनुसार तपाईंको अनुहार र नाकको डाँडीमा आएको कालो दागलाई सामान्य भाषामा चाया वा पोतो भन्ने गरिन्छ। यसलाई मेडिकल टर्ममा मेलाज्मा वा कोलाज्मा भनिन्छ। विशेष गरी महिलाहरू गर्भवती भएका बेला यस्तो दाग देखापर्ने भएकाले मेडिकल भाषामा यसलाई कोलाज्मा नाम दिइएको हो। जुन हर्मोनको गडबडीका कारणले हुन्छ भनी सोचिए पनि चायापोतो आउनुमा गर्भवती मात्र कारण नहुने अध्ययनबाट पत्ता लागेको छ।
छाला रोगसम्बन्धी भएका पछिल्ला अनुसन्धानले चायापोतो घामको किरणका कारण देखापर्ने पत्ता लागेको छ। छालाको तल्लो सतहमा हुने मेलानोसाइट्स भन्ने कोशिकाले मेलानिन भन्ने तत्त्व उत्पादन गर्छ। मेलानिन घाम तथा अन्य कृत्रिम प्रकाशमा पनि उत्तिकै सक्रिय हुन्छ। घामको किरण अनुहारमा परेपछि मेलानिन छालाको सतहमा फैलिन थाल्छ। घामले मेलानिनलाई निकै छिटो सक्रिय बनाउँछ। धेरै कम मानिसमा मात्र घामको किरणले पनि मेलानिन सक्रिय हुँदैन र चायापोतो देखिँदैन। मेलानिन सक्रिय भएर छालाको सतहमा देखिएको अवस्था नै चायापोतो आएको अवस्था हो। जाडो महिनामा घाममा बढी समय बसिने भएकाले यो मौसममा चायापोतो धेरै देखिन्छ।
तपाईंले आफ्नो अनुहारको छालालाई घामबाट जोगाउनुपर्छ। मेलानिन भन्ने तत्त्व आर्टिफिसियल लाइटबाट पनि उत्तिकै सक्रिय रहने भएकाले बत्ती तथा कम्प्युटरमा काम गर्दा पनि असर गर्ने भएकाले लाइटबाट छालालाई जोगाउने उपाय अपनाउँदा मात्र चायापोतोको समस्याबाट बच्न सकिन्छ।
‘तीन महिनामा चायापोतो चट’ भन्ने विज्ञापनको पछि लागेर जथाभावी औषधि प्रयोग गर्नु हुँदैन। चायापोतो एक पटक आइसकेपछि पूर्ण रूपमा हटेर जाँदैन। विज्ञापनका पछि लाग्नु भनेको आफ्नो अनुहारको छालालाई झन् बिगार्नु हो। टीभी सप, स्काई सप, विभिन्न सञ्चार माध्यममा आएका विज्ञापन हेरैकै भरमा जथाभावी क्रिम तथा औषधि प्रयोग गरेर अनुहार कुरूप बनाउनेहरू थुप्रै भेटिन्छन्। सस्तो सौन्दर्य प्रसाधन तथा छाला रोग विशेषज्ञको प्रेस्किप्सनबिना जथाभावी औषधि प्रयोग गरेर अनुहारको छाला ड्यामेज बनाएर उपचार गराउन आउनेहरू पनि हुन्छन्। चायापोतो चट हुने भन्दै बिक्री वितरण गरिने नक्कली सौन्दर्य प्रसाधनले छालाको रेसा नै देखिने गरी पातलो बनाउँछ। प्रयोग गरेलगत्तै दाग गएजस्तो देखिए पनि दुईतीन हप्तापछि अनुहार पूरै ढाक्ने गरी पोतो देखिन्छ।
विज्ञापन पढेको वा सुनेको भरमा क्रिम लगाउने अनि ब्युटिपार्लर धाएर पनि केही सीप नलागेपछि मानिस हामीकहाँ आउँछन्। चायापोतो हटाउन लेजर प्रविधि भए पनि यसले पूर्ण रूपमा हटाउन सक्दैन। तर, यसलाई मेन्टेन भने गर्न सकिन्छ। धेरै बेर घाममा नबस्ने, अनुहारको छालालाई घामबाट जोगाउन सनस्क्रिन लगाउने गर्नुपर्छ। एक पटक लगाएको सनस्क्रिनले बढीमा तीन-चार घण्टा मात्र काम गर्छ। त्यसैले दिनमा दुई-तीन पटक स्नस्क्रिन लगाउनुपर्छ। चिकित्सकको सल्लाहमा ‘केमिकल पिल्स’ प्रयोग गर्नुपर्छ। कहिलेकाहीँ थाइराइड हर्मनको गडबडीले पनि चायापोतो देखिने भएकाले थाइराइडको उपचार गर्नुपर्छ। छाला रोग विशेषज्ञको निगरानीमा औषधि र क्रिम लगाएर चायापोतो केही कम गर्न सकिए पनि घामबाट अनुहारलाई जोगाउन सकिएन भने यो पटक–पटक आइरहन्छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)