माधव नेपाल फकाउँदै ओली पक्ष
काठमाडौं : फागुन ११ यता उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले वरिष्ठ नेता माधवकुमार नेपाललाई दुईपटक भेटे। पोखरेल हत्तपत्ति नेपाल निवास जान नरुचाउने नेता हुन्। ११ फागुनमा नेपाल निवास पुगेका पोखरेलले संविधान संशोधनको नाफाघाटा र पार्टीको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गरेका थिए। त्यसपछि दोस्रोपटक उनी मंगलवार साँझ नेपाल निवास कोटेश्वर छिरे।
नेकपाभित्र राष्ट्रियसभाको रिक्त एक पदमा कसलाई पठाउने भन्ने विषयमा देखिएको विवाद पेचिलो बन्दै गएको छ। त्यसले पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालको शक्ति संघर्ष चर्किरहेका बेला नेताहरुका आन्तरिक भेटघाट तीव्र बनिरहेको छ।
साँझ ५ वजे नेपाल निवास पुगेका उपप्रधनमन्त्री पोखरेलले नेपालसँग झन्डै सवा घण्टा बिताए। ‘पार्टीका नेताहरुसँग भेटघाट भइरहन्छ। कुनै त्यस्तो विषय थिएन, पहिले नै भेटौं भन्ने भएको थियो। त्यही आधारमा भेटघाट भएको हो,’ पोखरेलले अन्नपूर्णसँग भने।
नेपाल अहिले नेकपाभित्र तानातानमा छन्। पार्टीभित्र अध्यक्षद्वय ओली, दाहाल र वरिष्ठ नेता नेपालका आआफ्नै शक्तिशाली समूह छन्। दुई नेता एकातिर मिल्नेबित्तिकै अर्काे नेता कर्नरमा पर्ने र अल्पमतमा पर्ने जोखिम नेकपाभित्र छ।
गत पुस २३ गते उपाध्यक्ष वामदेव गौतमको निवासमा नेकपाका बहुमत सचिवालय सदस्यले बैठक गरेपछि प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली अप्ठ्यारोमा छन्। गौतम निवासको भेलापछि सभामुख चयन प्रक्रिया, केन्द्रीय समितिबाट एमसीसीबारे अध्ययन गर्न कार्यदल गठन, कार्यदलको प्रारम्भिक प्रतिवेदन, राष्ट्रियसभाको रिक्त पदमा उपाध्यक्ष गौतमलाई पठाउने निर्णय आदिमा ओलीलाई नेताहरुले घेराबन्दी गरेका छन्।
नेकपाभित्र बाहिर चुपचाप देखिए पनि गोप्य भेटघाट बाक्लिँदो छ। वरिष्ठ नेता नेपालसँगको भेटघाटमा नेताहरु बढी लागेका छन्। पोखरेलले भेट्नुअगाडि मंगलबार दिउँसो प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि नेपालसँग लामै भेटघाट गरेका थिए।
पार्टीभित्र विवाद बढ्दै जाँदा प्रधानमन्त्री ओली गौतम निवासमा भएका नेताहरुको गठबन्धन तोड्न चाहिरहेका छन्। अर्का अध्यक्ष दाहाल उक्त गठबन्धन जोगाएरै प्रधानमन्त्री ओलीलाई दबाबमा राख्न चाहिरहेका छन्।
आइतबार मात्रै प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसमेत रहेका स्थायी समिति सदस्य विष्णु रिमालले निवासमै पुगेर नेपालसँग भेटवार्ता गरेका थिए। ओलीनिकट लुम्बिनीका जिल्ला नेताहरुको एक टोलीले पनि नेता नेपाललाई उनकै निवासमा पुगेर भेट गरेको छ।
प्रदेश ५ का प्रदेशसभा प्रमुख सचेतक भूमीश्वर ढकाल, पूर्वसांसद बलराम अधिकारी, अर्घाखाँचीका पूर्वअध्यक्ष चेतनारायण आचार्यसहितको टोलीले नेपालसँग गत बिहीबार कोटेश्वरस्थित निवासमा भेट गरेको थियो।
मदन भण्डारी फाउन्डेसनले बिहीबार नै आयोजना गरेको छलफल शृंखला–५ मा वरिष्ठ नेता नेपाललार्ई प्रमुख अतिथि बनाइएको थियो। ओली निकट मानिएको उक्त प्रतिष्ठानले नेपाललाई प्रमुख अतिथि बनाइनुभित्र एकताको सन्देश दिन खोजिएको अर्थमा लिनुपर्ने नेकपा नेताहरुले बताएका छन्।
नेपालले पनि पार्टीका अर्का वरिष्ठ नेता झलनाथ खनालसँग छलफल गरेका छन्। उनले सोमबार दिउँसो खनाल निवास डल्लुस्थित पुगेर भेटवार्ता गरेका थिए।