कोरोना प्रभाव : ठूला नाकामा मात्रै निगरानी
परासी / भैरहवा : भारतमा कोरोना संक्रमितको संख्या बढिरहेका बेला देशका दक्षिणी सीमावर्ती नाका जोखिममा छन्। यीनै नाकाबाट दैनिक सयौं नेपाली र भारतीयसहित तेस्रो देशका पर्यटक नेपाल भित्रिन्छन्।
३३ जना संक्रमित र करिब ३० हजारलाई क्वारेन्टाइनमा राखिएको भारतमा संक्रमण अझै फैलिने जोखिम छ। भारतसँग सीमा जोडिएको प्रदेश ५ त्यसको जोखिममा छ। सीमाका ५ ठूला नाकामा हेल्थ डेस्क राखेर निगरानी गरिएको छ। प्रदेशमा अन्य दजनौं साना नाका छन्। जहाँबाट भारतीय र नेपालीको निर्वाध आवतजावत भइरहेको छ। ती नाकामा निगरानी छैन। भारतीय बजारमा किनमेल गर्नसमेत नेपालीले जान छाडेका छैनन्।
अहिलेसम्म रूपन्देहीको बेलहिया, नवलपरासीको महेशपुर, कपिलवस्तुको कृष्णनगर, दाङको कोइलावास र बाँकेको जमुनाहा नाकामा हेल्थ डेस्क स्थापना गरिएको छ। पर्याप्त उपकरणबिनै राखिएका यी डेस्कले प्रभावकारी काम गर्न सकेका छैनन्। स्वास्थ्यकर्मीसमेत थोरै छन्। दैनिक ३६ भन्दा बढी बस नेपाल प्रवेश गर्ने बेलहिया नाकामा २ जना मात्र स्वास्थ्यकर्मीले परीक्षण गर्छन्। थोरै जनशक्ति भएकाले परीक्षणमा कठिनाइ भइरहेको उनीहरू बताउँछन्। रूपन्देहीका सहायक सीडीओ भरत शर्माले जनशक्ति नथपिउन्जेल निगरानी खासै प्रभावकारी नहुने बताउँछन्।
कोरोना भाइरस (कोभिड-१९) बाट सुरक्षित रहन पश्चिम नवलपरासीका सीमा क्षेत्रमा स्वास्थ्य सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको छ। नवलपरासीमा साना नाका बन्द गर्न छलफल चलाइएको छ। जिल्लाको पश्चिमी क्षेत्र भारतको उत्तर प्रदेश र बिहारसँग जोडिएको छ। स्वास्थ्य कार्यालयको समन्वयमा नगर÷गाउँपालिकाले सीमामा हेल्प डेस्क स्थापना गरेका हुन्। पहिलो चरणमा सबैभन्दा बढी आवतजावत हुने प्रमुख नाका महेशपुरमा स्वास्थ्यकर्मी खटाएर परामर्श र परीक्षण सुरु गरिएको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष दीपक गुप्ताले बताए।
प्रमुख नाकामध्ये बिस्नुपुरा पनि भएकाले त्यहाँ पनि डेस्क स्थापनाको तयारी भएको गुप्ताले बताए। ‘जनशक्ति अभावले हेल्प डेस्क सबै नाकामा राख्न समस्या छ। सकभर प्रमुख नाकाबाट मात्र आवतजावत गर्न सूचना निकाल्ने तयारी गरेका छौं,’ उनले भने। महेशपुरमा राखिएको डेस्कमा अहिलेसम्म ३ सयले परामर्श र स्वास्थ्य परीक्षण गराएको स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालले बताए। ती सबै भारतबाट आएका हुन्। कोरोनासँग मिल्दोजुल्दो लक्षण (ज्वरो आउने, टाउको दुख्ने, रुघा लागेका) देखिएकाको स्वास्थ्य परीक्षण गरी अस्पताल जान सुझाएको उनले बताए।
‘सबै वडामा माइकिङ गरेर सचेतना कार्यक्रम थालेको छ। पक्लिहवामा हेल्प डेस्क स्थापनाको तयारी गरेको छ,’ सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले भने। अन्य सहायक नाका बन्द गरेर प्रमुख नाकामध्येका २÷३ वटाबाट मात्र आवतजावत गर्ने व्यवस्था मिलाउन लागिएको उनले बताए। प्रमुखमध्येको भुजहवामा पनि आइतबार हेल्प डेस्क राखेर परामर्श र परीक्षण सुरु गरिएको सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले बताए। प्रतापपुरको झोलनीपुर पनि आवतजावत गर्ने प्रमुख नाकामा पर्छ। यहाँ डेस्क स्थापना गर्न पहल भइरहेको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माले बताए।
बस सञ्चालन जोखिममा
नेपाल-भारत दैनिक दर्जनौं बस आवतजावत गर्छन्। भारतको राजधानी दिल्ली, लखनऊ, बनारसका लागि पोखरा, काठमाडौं, बुटवल, भैरहवा, कृष्णनगर, अर्घाखाँचीलगायत ठाउँबाट दिनहुँ दुई दर्जनभन्दा बढी बस छुट्छन्। उताबाट पनि नेपालका यी सहरका लागि बस आउँछन्। यसबाहेक सरकारी स्तरबाटै नेपाल-भारत मैत्री बस पनि सञ्चालनमा छन्।
नेपाल-भारत चल्ने बसका अधिकांश यात्री नेपाली र भारतीय हुन्। यी बसमा कोरोना प्रभावितसँगै अन्य सहरबाट दैनिक हजारौँ नेपाली र भारतीय आइरहेका छन्। तर उनीहरूको स्वास्थ्य परीक्षण हुँदैन। यसबाट संक्रमणको जोखिम बढेको छ। सीमाका हेल्थ डेस्कमा तेस्रो मुलुकका नागरिकको मात्र स्वास्थ्य परीक्षण हुने गर्छ।
परीक्षण नहुँदा नेपाल-भारत चल्ने बसबाट दुवै मुलुकमा भयावह संक्रमण हुन सक्ने देखिएको छ। जोखिम न्यून गर्न तत्काल नेपाल-भारत बस सेवा रोक्नुपर्ने सरोकारवाला बताउँछन्। रूपन्देहीका साना नाकामा पनि कुनै निगरानी छैन।
रूपन्देहीका सीडीओ महादेव पन्थले तेस्रो मुलुकका नागरिकसँगै शंकास्पद लागेको अवस्थामा नेपाली र भारतीयको पनि सीमाका हेल्थ डेस्कमा स्वास्थ्य परीक्षण हुने बताए।