सडकमा आधा दर्जन घर, निजी जग्गामा सडक
बुटवल : रुपन्देहीको सैनामैना नगरपालिकाको मुर्गिया–लुम्बिनी सडकको सिसौंडाडा खण्डमा सार्वजनिक बाटो मिचेर आधा दर्जन घर र अन्य संरचना बनाइएको छ । मुर्गिया बजारदेखि पश्चिमतर्फ सिसौडाडामा सडक नै मोडिने गरी संरचना बनेका हुन् ।
पाँच घरले सडक मिचेपछि हालको सडक भने पारीपट्टी निजी जग्गाबाट गएको छ । जग्गाधनीले आफ्नो जग्गा मिचिएको दावी गरेपछि सडकमा घर बनेको खुलेको हो । आफ्नो स्वामित्वको जग्गामा सडक बनाइएको भन्दै स्थानीयले तुलसीपुर उच्च अदालत बुटवलमा उजुरी दिएका थिए । गत साउन १५ को फैसलामा अदालतले निजी जग्गाबाट सडक विस्तार नगर्न आदेश दिएको छ । तर आदेश कार्यान्वयनमा सैनामैना नगरले चासो दिएको छैन ।
आदेश कार्यान्वयन नभएपछि स्थानीयबीच विवाद चुलिएको छ । सैनामैना नगरपालिका–४ सिसौडाडामा रहेको सार्वजनिक बाटो कित्ता नं २३२ को करिब तीन कठ्ठा जमिन अक्रिमणमा परेको हो । यसको चलन चल्तीको मूल्य सवा करोडभन्दा बढी छ । हाल कित्ता नं. २३२ को सार्वजनिक बाटोमा कित्ता नं १७७०, ५१५, १३६९, १३७०, १०६७ र ७४० का जग्गाधनीले अतिक्रमण गरी भौतिक संरचना निर्माण गरेका हुन् ।
बाटोको जग्गामा तुलसा बस्याल, डीलबहादुर खत्री, लालबहादुर रावल, पदमलाल श्रेष्ठ लगायतले घर र भौतिक संरचना निर्माण गरेका हुन् । सडक क्षेत्रबारे जानकारी नभएकाले घर र संरचना बनाइएको उनीहरूको तर्क छ । बस्याल, खत्री, रावल, श्रेष्ठ लगायतले सडक अतिक्रमण गर्दा कित्ता नं ३३६ र २४९५ का धनी कृष्णबहादुर थापाको २७ धुर जमिनमा सडक बनेको छ । सो सडक नक्साअनुसार कायम गर्न माग गर्दै उनले अदालतमा मुद्धा दायर गरेका हुन् ।
अदालतको फैसाला, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नापी कार्यालयले नापचाँज गरी सडक मिचिएको ठहर गरेका छन् । अदालतमा नगरपालिकालाई विपक्षी बनाइएको थियो । नगरपालिकाले अदालतको निर्णय नमानेको र आफूहरूको माग समेत नसुनेको भन्दै जग्गाधनी थापाले गत बुधबार सडकमै पर्खाल लगाएका छन् । पर्खाल निर्माणपछि सडक पूर्णरूपमा बन्द छ । ‘मैले आफ्नो जग्गा छेकवार गरेको छु, उनले भने, ‘मेरै जग्गाबाट मात्रै सडक बनाएर अन्याय गरिएको छ । नक्सा अनुसार नै सडक कायम हुनुपर्छ ।’
फिल्ड नक्सा अनुसार सडक कायम गर्दा आधा दर्जन घर भत्काउनुपर्छ । जनप्रतिनिधिले राजनीतिक प्रभावमा सडक मिच्ने घर भत्काउन आनाकानी गरेका छन् । घर नभत्काए थापा सहितका केही व्यक्तिको जग्गामा ३० फुटे सडक हुनेछ । त्यसो हुँदा उनीहरू घरबार विहिन हुनेछन् । यसअघि सडक मिचेर घर बनाउनेहरूले थापालाई प्रतिधुर एक लाखका दरले रकम बुझाउने सहमति गरेका थिए । थापाले पनि रकम बुझ्न तयार भए । तर सहमति बमोजिम अझै रकम दिइएको छैन ।
सैनामैना नगरपालिकाले अदालतको आदेश बमोजिम सडक कायम गराई पाउ भन्ने निवेदन समेत दर्ता गर्न अस्विकार गरेको थापा बताउँछन् । ‘नगरपालिकाले अदालतको फैसला समेत कार्यान्वयन गर्न सक्दैन, मेरो जायजेथा सडकलाई दान गर्न सक्ने हैसियत नभएपछि पर्खाल बनाएको छु, उनले भने । सैनामैना नगर–४का वडाध्यक्ष धनवहादुर कार्कीले पुरानो बाटो नक्साभन्दा पश्चिम सरेकाले समस्या भएको बताए । ‘विवाद मिलाउने गरी रकम उपलब्ध गराउन द्धिपक्षिय सहमति गरिएको हो, तर अहिले फेरि बाटो नै बन्द छ, उनले भने ।
०००००००००००
आफ्नो जग्गा ओगट्नेगरी पीडित थापाले सडकमै लगाएको पर्खाल ।