‘न्युडिटी न अन्तिम सत्य’

‘न्युडिटी न अन्तिम सत्य’

काठमाडौं : ‘न्युड आर्ट सुन्दरतासँग जोडिएको हुन्छ तर नग्नताले अश्लीलता झल्काउँछ। न्युड र नग्नले दिने अर्थ फरक हो। तर प्रायजसोले न्युड भन्नासाथ अश्लील बुझ्नुहुन्छ। यो गलत बुझाइ हो’, कलाकार कपिलमणि दीक्षित न्युड आर्टबारे बताउँदै थिए। ग्यालरीमा भेला भएका दर्शक, चित्रकार र पत्रकारबीच संवाद चलिरहेको थियो।

एमक्युब ग्यालरी पाटनमा फागुन ८ गतेदेखि ‘२० सेड्स अफ न्युड’ शीर्षकमा प्रदर्शनी चलेको थयो। २० जना कलाकारले बनाएका कलाकृति, पर्फम आर्ट, इन्स्टलेसन, स्कप्चरलगायतका आर्टका विधा अपनाएका थिए।

एमक्युब ग्यालरीका मनीषलाल श्रेष्ठका अनुसार न्युडले स्वतन्त्रता, सत्य र समानता जनाउँछ। तर आम मानिसले न्युडिटीलाई कामसूत्रसँग जोडेर हेर्ने गरेका छन्। विगत २० वर्षदेखि न्युड आर्टमै कुची चलाइरहेका कपिलमणिलाई संसारको सबैभन्दा सुन्दर चिज नै मानिसको शरीर लाग्छ। उनी थप्छन्, ‘न्युड भनेको सत्य हो। शरीरलाई छोप्ने लुगाको प्रकारबाट मानिसको स्तर निर्धारण हुन्छ। लुगा नलाएको मानव शरीर सबैको समान हुन्छ। यसरी न्युड हुन भनेको सबै समान हुनु हो भनेर पनि बुझ्न सकिन्छ।’

‘रूखले कहिल्यै लुगा लगाउँदैन, प्रकृतिले पनि कुनै वस्त्र पहिरिएको हुन्न। जनावर पनि न्युड नै हुन्छ। तर अश्लील देखिँदैन। मान्छेको शरीर छोप्नै पर्ने के बाध्यता होला? ’ मनीष प्रश्न गर्छन्।

न्युड आर्टमा कुनै नियम नभएको बताउँदै कपिलले आफूहरूले न्युडकै विषयमा फरकफरक धारणा उजागर गर्न यो प्रदर्शनी आयोजना गरेको बताए। ग्यालरीमा प्रदर्शन भएका अधिकांश न्युड आर्टले मानव शरीर उतारेका छन्। वस्त्रविहीन चित्रले दर्शकलाई प्रश्न गरिरहेका छन्।

जुपिटर प्रधानले समुद्रको किनारमा न्युड भएर नाच्दै गरेका जोडी देखाएका छन्। उनले समुद्रको किनारलाई खुल्लापनको प्रतीकको रूपमा प्रस्तुत गरेका छन्। खुल्ला हुने बहानामा मानिसले समुद्र किनारमा गएर गर्ने विकृति पनि देखाएका छन्। सुन्दर लामाले कोकोनट ब्यान्डेज शीर्षकमा पुरुषको वस्त्रविहीन शरीर कोरेका छन्। मानिसको शरीरमा उनले घोडाको टाउको जोडेका छन्। लामाले प्रदर्शनीको पहिलो दिन उनले न्युड आर्ट प्रदर्शनसमेत गरेका थिए। उनको न्युड शरीरमा कलाकारले चित्र कोरेर उनलाई सहयोग गरे।

न्युडिटी अफ ब्रेस्ट शीर्षकमा रोशन वज्राचार्यले महिलाको छातीलाई फरकफरक अर्थमा चित्रमा उतारेका छन्। वज्राचार्यले बनाएको चित्र केही विशेष लाग्छन्। उनले महिलाको छातीलाई आमा हुँदाको अवस्थामा,    श्रीमती हुँदाको अवस्थामा र ब्रेस्ट क्यान्सर भएपछि डाक्टरले अप्रेसन गरेको अवस्था चित्रण गरेका छन्। यस्तै कपिलमणिले महादेवको न्युड रूपलाई ठूलो आकारको चित्रमा देखाएका छन् यस्तै मनीषलालले न्युडबारे आफ्नो दिमागमा खेलिरहने पल चित्रमा उतारेका छन्। मानिसको पनि जनावरको जस्तै चारवटा स्तन भएकाले कल्पना गरिएको छ यस्तै कुखुराको शरीरमा पनि स्तन बनाएका छन्। हेर्दा अनौठो र अचम्म लाग्ने न्युड आर्टमा दर्शक जिज्ञासु भएर अल्मलिइरहेका थिए।

उमा विष्टले मेल फिगर फोटोग्राफीमा उतारेकी छन्। उनको फोटोमा पुरुषलाई सामाजिक बन्धनमा बाँधेर राख्दा कस्तो महसुस हुन्छ त? पुरुष शरीरलाई डोरीले बाँधेर राखिएको अवस्थामा फोटो खिचिएको छ। छिन्नमस्ता भगवतीको टाउकोबिनाको उन्मुक्त न्युड शरीरलाई उतारेका छन् आदित्यले। अधिकांश कलाकारले न्युडिटीको पक्षमा कन्सेप्टसहितको चित्र बनाएका छन्।

न्युडिटीलाई सेक्सुआलिटीसँग दाँजेर बुझ्ने गरिएको छ जुन गलत हो। न्युडिटी भनेको नेचर हो। भगवान्ले पनि लुगा लगाएको देखिँदैन तर उनीहरू अश्लील छैनन् त? न्युड भनेको फिगर मात्रै होइन, यो त विचार हो। मानिसको शरीरलाई किन अश्लील र श्लीलमा छुट्ट्याउने? न्युडलाई सुन्दर र स्वतन्त्रताका रूपमा लिनुपर्ने बताउँदै मनीषलालले प्रश्न गरे।

आर्ट फ्रिडम अफ स्पिच हो भन्ने मान्यता राख्ने रोशन मि श्रले जेन्डरको विषय आर्टमा देखाएका छन्। महिला हुनासाथ पिंक लगाउनुपर्ने, पुरुषले पहेँलो वा नीलो लगाउनुपर्ने सामाजिक चलनको विषयमा प्रश्न गरेका छन्। उनको आर्टमा नीलो बक्समा पिंक अन्डरवेयर र पिंक बक्समा पहेलो अन्डरवेयर प्रदर्शन गरेका छन्। यस्तै विजय मानन्धर, रोशन भण्डारी, हिसिला मर्हजन, संगीता थापा, भाइराजा मर्हजन, मुक्ति सिंह थापा, अञ्जली मानन्धर, मुकेश क्षेष्ठलगायतले न्युड सिरिजमा आर्ट बनाएका छन्।

न्युडलाई अश्लीलतासँग जोडेर हेर्न नमिल्ने बताउँदै कपिलले स्कुलमा सेक्स एजुकेसन जरुरी भएको बताए। यसका साथै अहिले हरेकको हातहातमा स्मार्टफोन हुने हुनाले त घरभित्र हरेकसँग पोर्नोग्राफी उपलब्ध हुने बताए। यौनका विषयमा घरपरिवारमा छलफलको विषय हुनुपर्ने बेला भइसकेको उनको स्विकारोक्ति थियो।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.