अनाथ अवस्थाका ज्ञानवर्द्धक संरचना
आफूले अध्ययन गरेको विद्यालयलाई स्रोत र साधन उपलब्ध गराएर त्यसको नाम उच्च तुल्याउने कार्यमा हामी कन्जुस्याईं गर्दछौं ?
गत साता अन्तर्राष्ट्रिय जगत्मा स्थापित अर्थशास्त्री डा. सुशील पाण्डेसँग कफी पिएर गफिने सौभाग्य मिल्यो मित्र ज्योति लोहनीको सौजन्यमा। साँझ परेपछि घर फर्कने क्रममा सुशीलजीले चिनियाँ सहयोगमा निर्मित दरबार हाईस्कुल भवन अवलोकन गर्ने इच्छा व्यक्त गर्नुभयो। उहाँ त्यही स्कुल को ‘प्रोडक्ट’ हुनु हुँदोरहेछ। भोटाहिटीबाट उहाँ पूर्व र म दक्षिण लाग्नुको साटो दुवैजना उत्तरतर्फ लाग्यौं। सन्ध्याकालमै पनि डा. पाण्डेले दरबार हाईस्कुल भवन नतमस्तक भएर हेरिरहनुभयो। त्यो हेराइबाट उक्त स्कुलप्रति उहाँको सदासयता तथा प्रेमको झझल्को पाएँ। लाग्यो सुशीलजी आफ्नो सफलताका निमित्त दरबार हाईस्कुलप्रति कृतज्ञ हुनुहुन्छ। उहाँको अनुहारमा प्रतिविम्बित भावना पढ्न खोज्दै गर्दा मैले झलक्क केही दिनअघि पढेको ‘हेड लाइन न्युज’ स्मरण गरें।
एक हजार विद्यार्थीका निमित्त सुविधासम्पन्न ८५० मिलियन चिनियाँ सहयोगमा निर्मित उक्त चारतले भवन पुनर्निर्माण सम्पन्न भइसक्दा पनि त्यसलाई कसरी सञ्चालन तथा व्यवस्थापन गर्नेजस्ता विषयमा सम्बन्धित क्षेत्रले गृहकार्य गरेको छैन। दाता एक महिनाभित्र नेपाल सरकारलाई उक्त भवन हस्तान्तरण गर्ने तर्खरमा छ, तर हामी कुम्भकर्ण। राजकीय भ्रमणको अन्तिम घडीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘हामी समय तालिकामुताबिक काम सम्पन्न गर्दछौं’ भनेर दिएको सन्देश हाम्रा जिम्मेवार पक्षका निमित्त भालुलाई पुराण भयो।
सुशील पाण्डेजस्तै म पनि कीर्तिपुरको फेदीमा रहेको ल्याबोरेटरी स्कुल (ल्याब स्कुल) लाई हेरिरहने गर्छु, त्यही बाटो ओहोरदोहोर गर्दा। उक्त स्कुलको म तेस्रो ब्याच (सन् १९६६ मा एसएलसी परीक्षा) लाजिम्पाटस्थित चेतभवन (जहाँ होटेल रेडिसन छ) मा पढ्ने अन्तिम ब्याचको विद्यार्थी। म भर्ना ग्रेड तीनमा हुँदा एकदेखि पाँच कक्षा मात्रै रहेको उक्त स्कुलको नाम डिमोन्सट्रेसन स्कुल थियो। प्रत्येक वर्ष एक—एक कक्षा थपिँदै जाने क्रममा प्रथम ब्याच एसएलसी परीक्षा सन् १९६४ मा सामेल भएका थिएँ। अमेरिकी सहयोगमा कलेज अफ एजुकेसन तथा ल्याबोरेटरी स्कुल स्थापना गरिएको हो।
शिक्षण पेसामा उच्च शिक्षा हासिल गरेका शिक्षक उत्पादन गर्न कलेज अफ एजुकेसन अनि मध्यम स्कुल शिक्षकका निमित्त कलेजअन्तर्गत ‘नर्मल स्कुल’ समेत स्थापना गरिएको थियो। ल्याब स्कुललाई कलेज अफ एजुकेसनसँग आबद्ध गर्नुको कारण उक्त कलेजका विद्यार्थीलाई व्यावहारिक ज्ञान दिन स्कुल प्रयोगशाला थियो। कलेज अफ एजुकेसनका प्राध्यापकले हाम्रो कक्षामा पनि अध्यापन गर्दथे। डा. लीला केसी, डा. चन्द्रकला किरण तथा डा. राजेन्द्र रनगोनहरूले त ‘क्लास टिचर’ भएर हामीलाई पूर्णकाल पढाउने तथा कलेज अफ एजुकेसनमा पनि अध्यापन पनि गर्नुहुन्थ्यो।
कलेज अफ एजुकेसनसँगै लाजिम्पाटको चेतभवनबाट ल्याब स्कुल पनि त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा निर्मित आकर्षक आधुनिक भवनपरिसरमा सारियो। कीर्तिपुरको सिरानमा कलेज अफ एजुकेसन निर्माण गरिएको छ भने उक्त डाँडाको फेदीमा ल्याबोरेटरी स्कुलपरिसर। कलेज अफ एजुकेसन र ल्याब स्कुलका भवन आधुनिक मात्र होइन, मुलुककै निमित्त नौलो डिजाइनका छन्। कक्षा कोठा मात्र होइन, त्यहाँका ब्ल्याक बोर्ड (हरियो रङको), टेबुल कुर्सीदेखि शौचालय अन्तर्राष्ट्रिय स्तरका थिए। कलेज अफ एजुकेसनको आफ्नै ठूलो सभाकक्ष तथा बेग्लै भव्य क्यान्टिन भवन हेर्नलायक थिए।
यतिखेर दुवै संस्थाको अवस्था करुणादायी छ। निर्माणसम्पन्न भएर हस्तान्तरण गरेपछि ती परिसरमा आवश्यक मर्मत–सम्भार कार्य सायदै भए होलान्। दुवै विद्यालयपरिसर र भवन जीर्ण अवस्थामा छन्। त्रिभुवन विश्वविद्यालय प्रशासन ल्याब स्कुललाई त्यहाँबाट अन्यत्र सार्न अग्रसर छ। कलेज अफ एजुकेसनका विद्यार्थीका निमित्त व्यावहारिक अध्यापन ज्ञानका निमित्त प्रयोगशालाको आवश्यकतालाई ल्याब स्कुलपरिसरको व्यापारिक मूल्यको घुम्तीले ढाकेको छ।
उच्च ओहोदा वा नीतिनिर्माण तहमा पुगेका पूर्वविद्यार्थीले आफूले विद्या आर्जन गरेको स्थानमा गई त्यहाँको विद्यमान स्थितिको मूल्यांकन गरी सुधारका निमित्त योगदान गराएको उदाहरण हालसम्म मैले देख्ने त परै जाओस्, आजका दिनसम्म सुन्ने अवसरसमेत पाएको छैन।
एसएलसी परीक्षा उत्तीर्ण भएपछि ऐतिहासिक त्रिचन्द्र कलेजमा आईएस्सी अध्ययनका निमित्त भर्ना भएँ। त्रिचन्द्र कलेज कम्पाउन्डलाई सडकले चिरेको छ पूर्वतर्फको सेतो पुरानो भवनमा बिहान कमर्स तथा दिउँसो आर्टस्को पढाइ सञ्चालन हुने गथ्र्यो। हामी विज्ञान विभागका विद्यार्थीलाई पनि त्यही मूल भवनका कक्षामा नेपाली तथा गणित विषयको पाठन हुने गथ्र्यो, अन्यथा साइन्स विषयका अधिकांश कक्षा सडकपारि उत्तरपश्चिममा नवनिर्मित विनाकुनै आकर्षणको साइन्स बिल्डिङमा हुने गथ्र्यो। पुरानो तथा नयाँ भवनबीच ‘सरस्वती सदन’ भवन थियो। वेदप्रसाद लोहनीले डिजाइन गरेको उक्त भवनको माथिल्लो भागमा प्रशासकीय संरचना थिए भने तल्लो भागमा विशाल सभाकक्षा जसले त्यस कालखण्डमा देशकै सबैभन्दा ठूलो सभाकक्ष बन्ने ख्याति पाएको थियो। त्रिचन्द्र कलेजको विद्यमान अवस्था हेर्दा विनाशकारी भूकम्पले किन त्रिचन्द्र कलेजका भवनलाई ध्वस्त नपारिदिएको होला भन्ने लाग्छ। किनकि कुनै दाताले त्यसको महत्व बुझेर पुनर्जीवन दिने थिए।
एमए अर्थशास्त्र विषय मैले सन् १९७३÷७४ तिर ४÷५ कक्षा भएको भवनमा अध्ययन गरेको हुँ। अधिक विद्यार्थी भएकाले उक्त लमतन्न परेको भवनमा अर्थशास्त्र तथा राजनीतिशास्त्र विषयका कक्षा सञ्चालन हुने गर्थे। कोलम्बो प्लानअन्तर्गत बिहार राज्यको भागलपुर विश्वविद्यालयका तीन प्राध्यापकले हामीलाई अर्थशास्त्रको सिद्धान्तलगायतका अन्य विषयको अध्यापन गर्दथे। नेपाली प्राध्यापकको संख्या सीमित तथा (म्याथम्याटिकल इकोनोमिक्स तथा इकोनोमेट्रिक्स विषयको प्राध्यापक डा. केपी शर्मालाई अपवाद मान्ने हो) स्तरहीन थियो बिहारी प्राध्यापकको दाँजोमा।
हाम्रै पालादेखि सेमिस्टर प्रणाली लागू गरिएको तर अधिकांश प्राध्यापक सेमिस्टर प्रणालीका विषयमा अनभिज्ञ थिए। कक्षामा तयारी नोट पढ्ने बिहारी प्राध्यापकको आदत थियो। विषयगत बहस वा संवाद त परै जाओस्, सवाल–जवाफसमेत विरलै हुने गथ्र्यो। उक्त भवनको बाहिरको खुला बरन्डामा ‘ग्रिल’ ठोकिएछ। खुला रहने प्रवेशद्वारमा फलामे ढोका जडिएर त्यसमा ताल्चा मारिएको छ। सायद उक्त भवनमा कक्षा सञ्चालन हुन छाडिसकेको छ।
उदारहणका निमित्त झन्डै दुई शताब्दी लामो इतिहासको भारी बोकेको देशको प्रथम हाइस्कुल अर्थात् दरबार हाइस्कुलबाट दीक्षित भएका कैयन् विद्यार्थी डा. सुशील पाण्डेजस्ता नेपाल तथा विश्वमा ख्याति प्राप्त गर्न सफल भएका छन्। पञ्चायतकालीन नेपालका पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट तथा दुई पूर्वअर्थमन्त्री डा. भेषबहादुर थापा र डा. यादवप्रसाद पन्त दरबार हाइस्कुलका विद्यार्थी थिए। ल्याब स्कुलका विद्यार्थी केशरबहादुर विष्ट कुनै कालखण्डमा पूर्वशिक्षामन्त्री थिए। कलेज अफ एजुकेसनका दीक्षित गोविन्दराज जोशी शिक्षामन्त्री पनि भए। त्यसैगरी, त्रिचन्द्र कलेज तथा त्रिभुवन विश्वविद्यालयका दुई विद्यार्थी नेता पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा पूर्वअर्थमन्त्री डा. रामशरण महत हुन्।
सीमित संख्यामै भए पनि अन्य राष्ट्रहरूको शिक्षण संस्थाको अवलोकन गर्ने अवसर मैले पनि पाएको हँु। सन् १०९६ मा स्थापना भएको अक्सफोर्ड तथा १५६९ मा स्थापना गरिएको जेनेभा विद्यालय तथा दुईतीन शताब्दीपूर्व स्थापना गरिएका विद्यालय त धेरै देखें। उल्लेख गर्न खोजेको वास्तविकताचाहिँ स्थापनाकालीन संरचना अझै चलिरहेका छन्। त्यस्ता संरचनामध्ये अधिकांशको बाहिरी अवतार जस्ताको तस्तै भए पनि भित्री भागको पुनर्निर्माण गरिएको छ। तिनीहरू टिकिरहनुको कारण आवधिक मर्मत–सम्भार हुने भएकाले हो। पुरानासँगै नयाँ संरचना जताततै भेटिन्छ त्यसको मूल कारण बढ्दो नवआवश्यकताको आपूर्तिका निमित्त सुविधा थपिएका हुन्। सुविधासम्पन्न स्कुल, कलेज तथा विश्वविद्यालय बिनाविकास भएको सायद कुनै राष्ट्र होला यो विश्वमा।
शिक्षण संस्थाका भौतिक संरचना, अध्यापनको गुणस्तर तथा विषयगत आधुनिकीकरणजस्ता कार्यमा उक्त विद्यालयका पूर्वविद्यार्थीको योगदान अद्वितीय हुने गर्छ विश्वभरि। जतिजति ठूलो ओहोदामा पूर्वविद्यार्थी पुग्छन् त्यतित्यति तिनले आफूले अध्ययन गरेको विद्यालय उत्थानका निमित्त समर्पित भएर योगदान गर्ने गर्छन्। यस विश्वमा सायद हामी अपवाद हौं, जहाँ पूर्वविद्यार्थीले फर्केर आफूले अध्ययन गरेको विद्यालयको उत्थानका निमित्त कुनै योगदान गरेको उदाहरण शिला खोज्दा पनि भेट्न मुस्किल हुने गर्छ। औपचारिक कार्यक्रममा बाहेक देशको कुनै प्रशासक, नेता, उद्यमी तथा व्यापारीले आफूले अध्ययन गरेको विद्ययालयमा फर्केर गएको तथा त्यहाँको स्थितिका विषयमा सोधपुछ गरेको समाचार पढ्न वा देख्न पाइँदैन हामीकहाँ।
उच्च ओहोदा वा नीतिनिर्माण तहमा पुगेका पूर्वविद्यार्थीले आफूले विद्या आर्जन गरेको स्थानमा गएर त्यहाँको विद्यमान स्थितिको मूल्यांकन गरेर सुधारका निमित्त योगदान गराएको उदाहरण हालसम्म मैले देख्ने त परै जाओस्, आजका दिनसम्म सुन्ने सुअवसरसमेत पाएको छैन। निश्चय पनि आफूले विद्या हासिल गरेको विद्यालयप्रति जति मेरो मनमा सदासयता, सद्भाव, माया, ममता आदि छन्, त्योभन्दा बढी अन्यलाई होला भन्नेमा म विश्वस्त छु। घरिघरि मनमा एउटै प्रश्न आइरहन्छ– किन विश्वव्यापी प्रचलन अर्थात् आफूले अध्ययन गरेको विद्यालयलाई स्रोत र साधन उपलब्ध गराएर त्यसको नाम उच्च तुल्याउने कार्यमा हामी कन्जुस्याईं गर्छौं ? त्यसो नहुँदो हो त हाम्रा शिक्षालयको हविगत आजको जस्तो हुने थिएन। कमसेकम काठमाडौंवरिपरिका विद्यालय अनाथ अवस्थामा रहने थिएनन् होला।