फागुनमा स्ववियु चुनाव
काठमाडौं : त्रिभुवन विश्वविद्यालयले आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा फागुन महिनाभित्र स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्ने भएको छ।
चुनाव गर्न आफू प्रतिवद्ध रहेको त्रिविले जनाएको छ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद शाखा र नेपाल विद्यार्थीसँग त्रिवि समितिबीच आइतबार यस विषयमा सहमति भएको हो। इकाई अध्यक्ष हरि आचार्यले भने, ‘विद्यार्थीको मागअ नुसार त्रिवि फागुनभित्रै चुनाव गर्न सहमत भएको छ।’
सहमति अनुसार चुनावको मिति तोकेर एक महिना अघि कार्यतालिका सार्वजनिक गर्न आफूहरु प्रतिवद्ध रहेको शाखाका निर्देशक गंगाबहादुर थापाले जानकारी दिए। यसअघि २०७३ फागुन १८ गते स्ववियु चुनाव भएको थियो। त्यतिखेर निर्वाचित पदाधिकारीको दुई वर्षे कार्यकाल सकिएपछि आगामी फागुन १३ गतेसम्म मात्र थप गरिएको छ।
२०७३ सालमा करिब २ सय ८० क्याम्पसमा मात्र निर्वाचन भएको थियो। त्रिविमा ६२ वटा आंगिक तथा एक हजार भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पस छन्। आंगिकमध्ये केहि क्याम्पसमा २०७३ सालमा पनि चुनाव भएको थिएन। सम्बन्धन प्राप्तमध्ये पचास प्रतिशत भन्दा बढीमा चुनाव भएको थिएन।