पहिचान सुरक्षामै चुनौती
राजनीतिबाट धर्मलाई वञ्चित गरिएकै कारण मुलुकमा चरित्रहीनका हातमा पार्टी वा मुलुकको सत्ता पुगेको छ
नेपाली राजनीतिको गति र चरित्र विचित्रको छ। राजनीतिक दलले नेपालीका लागि गर्नैपर्ने काम गर्दैनन्, नगर्नुपर्ने काम गर्छन्। प्रभावशाली भन्ने नेताहरूको सनक, स्वार्थ र विदेशीको प्रभाव र दबाबमा काम हुन्छ। नेताहरूले आन्दोलनका क्रममा र निर्वाचनका मुखमा जनतालाई भन्ने एकथोक भन्छन् त व्यवहार अर्कै हुन्छ। त्यसैको परिणाम राजनीति न स्थिर हुन सक्यो न त स्थायित्व नै। निर्वाचनका समयमा अनावश्यक र हावादारी नारा दिएर भोट बटुल्न खप्पिस छन् नेता तर सरकार गठन गरेपछि पर्दापछाडिका अवाञ्छित शक्तिको दबाब र प्रभावका आधारमा सत्ताको दुरुपयोग गर्ने महारोगबाट नेपाली राजनीति आक्रान्त छ। सरकार जनताका लागि कहिल्यै भरोसायोग्य बन्न सकेन।
छिमेकी भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री छन्। उनको भाषण सुन्न सिंगो भारतवासी लालायित हुन्छन्। उनको नेतृत्वको सरकारले जनतालाई विश्वासमा लिएर परि श्रमका साथ अहोरात्र काम गरेकै कारण दोस्रो कार्यकालका लागिसमेत जनताले मोदी नेता रहेको भारतीय जनता पार्टीलाई पहिलेभन्दा पनि मजबुत बहुमत दिएर उनीसमर्थक गठबन्धनलाई विजयी गराए। मोदी सरकारमाथि भ्रष्टाचारको आरोप लागेको छैन।
उत्तरी चीनको राजनीतिक व्यवस्था फरक किसिमको भए पनि चीनले अमेरिकाजस्तो शक्तिशाली देशसमेतलाई चुनौती दिन सक्ने हैसियतमा आफूलाई पुर्याएको छ। चीनमा भ्रष्टाचारीलाई फाँसीसमेत दिन सक्ने कानुन छ। विश्वलाई चकितै पार्ने गरी उसले गर्दै आएको विकाससँग चीनका जनता सन्तुष्ट देखिन्छन्। तर ठूला दुई देशका बीचमा रहेको नेपालमा सधैं किन राजनीतिक खिचातानी मात्र हुने गर्छ ? किनकि योे देशको राजनीति नै भ्रष्टाचारमय हुँदै गएको छ ? राजनीतिमा भ्रष्टाचार कसले, किन र कसरी घुलमिल गराइरहेको छ ? यस विषयमा परिणाममुखी छलफल हुन किन सकिरहेको छैन ?
नेपालको राजनीति किन यस्तो अवस्थाबाट गुज्रिँदै गएको हो भन्ने प्रसंगलाई महाभारतको युद्ध समाप्तिपछि श्रीकृष्ण र पाण्डवहरूका बीच भएको पाँचमध्ये तीनवटा प्रसंगलाई मात्र संक्षिप्त रूपमा यहाँ उल्लेख गरिएको छ।
महाभारतको लडाइँ सकिएपछि आफूकहाँ जम्मा भएका पाँच पाण्डवमध्येका युधिष्ठिरलाई श्रीकृष्णले ‘अब हस्तिनापुरको सुशासन तिमीले सम्हाल’ भनेछन्। यस्तो जिम्मेवारी वहन गर्न युधिष्ठिरले अनिच्छा प्रकट गरे। श्रीकृष्णले सम्झाउने क्रममा आउने कलियुगको विषयमा चर्चा गर्दा पाण्डवहरूले ‘के हो कलियुग ? र के–के हुन्छ कलियुगमा ? ’ भनेर श्रीकृष्णसमक्ष जिज्ञासा राखेछन्। त्यसपछि श्रीकृष्णले जम्मा भएका पाँचैजना पाण्डवलाई ‘तिमीहरू सबैजना एक्लाएक्लै जंगलमा जाओ र त्यहाँ गएर आफूहरूले देखेमध्येका अद्भूत घटना मलाई आएर सुनाओ’ भनेछन्। पाँचै पाण्डव जंगल गए। निर्धारित दिनमा उनीहरू सबै श्रीकृष्णसमक्ष उपस्थित भएपछि सर्वप्रथम युधिष्ठिरलाई उनले आफूले देखेका अद्भूत घटना भन्न आदेश दिएछन्।
युधिष्ठिरले ‘आफूले दुई सुँड भएको हात्ती देखेर अचम्मित भएको’ कुरा सुनाउँदै त्यो हात्तीको रहस्यका बारेमा जान्ने इच्छा प्रकट गरेछन्। उनको जिज्ञासा शान्त पार्ने क्रममा श्रीकृष्णले भनेछन्, ‘कलियुगमा यस्ता मानिसले राज्य गर्ने छन्, जसले भन्छन् एउटा र गर्छन् अर्कै। उनीहरूको ध्यान जसरी भए पनि धन कमाउनमा केद्रित हुनेछ।’ अर्जुनले आफूले यस्तो एउटा गिद्ध देखेको कुरा सुनाए, जसको पखेटामा वेदका ऋचा त लेखिएका थिए तर त्यसले मानिसको मासु भने खाइरहेको थियो। यसको रहस्य बताउँदै श्रीकृष्णले भने, ‘कलियुगमा यस्ता विद्वान् हुनेछन्, जो अर्काको सम्पत्ति हत्याउन सधैं उद्यत् रहने छन्। साँच्चिकै विद्वान् त कोहीकोही मात्र हुनेछन्।’
नेपालको पहिचान जोगाउनेभन्दा पनि आफ्नो हैसियत जोगाउने, बढाउने तात्पर्यले ल्याइएको संविधानबाट नेपाली पहिचान गुमेको हुँदा संविधानमा नेपालको पहिचान सुनिश्चित गर्ने अभियानमा नेपाली जनता जुट्नुको विकल्प छैन।
नहकुलले आफ्नो पालो आएपछि जिज्ञासा राखेछन्, ‘मैले एउटा यस्तो चट्टान देखें, जुन पहाडको माथिबाट तलतिर खस्दै थियो त्यो चट्टानले पहाडमा भएका कतिपय रूखलाई ढाल्यो तर कुनै पनि रूखले त्यो चट्टानलाई रोक्न सकेन। तर पहाडको तलतिर आएपछि एउटा सानो रूखले त्यो पत्थरलाई रोकिदियो। यसके अर्थ के लाग्छ प्रभु।’ श्रीकृष्णले भनेछन्, ‘कलियुगमा मानिसको बुद्धि क्षीण र जीवन पतीत हुन्छ। जसले भगवान्को स्मरण गर्छ, हरिनामरूपी सानो वृक्षले पनि ठूलो चट्टानलाई रोक्न सफल भएजस्तै उसको जीवन सार्थक बन्छ। हजारौं वर्षअघि लेखिएको महाभारतको यो पाँच हजार वर्ष पहिलेको घटना हो।
माथिको उदाहरणबाट के स्पष्ट हुन्छ भने अहिलेका शासक मुलुक र जनताप्रति समर्पित छैनन्। जसरी भए पनि चुनाव जितौं, सत्तामा जाऔं र कमाऊँ। नकमाई चुनाज जित्न नसकिने र चुनाव नजिते कमाउधन्दा गर्न नपाइने भन्ने सोचाइले समाज तहसनहस भइसकेको छ। नेतृत्वपंक्तिमा बढ्दै गएको चरित्रहीनताका कारण जनताको मनोबल खस्किँदै गएको छ। राजनीतिमा असल मानिसको पहँुच दुर्लभ हुने क्रम जारी छ। यो अवस्थामा देशलाई कसले उँभो लगाउन सक्छ ?
भदौ ३० गतेको अन्नपूर्ण पोस्ट् दैनिकले ‘सुदूरमा ३७ पुल लथालिंग’ शीर्षक समाचारलाई मुख्य समाचार बनाएर मुखपृष्ठमा छाप्यो। सुदूरपश्चिममा मात्र ३७ पुल भए पनि बाँकी प्रदेशमा यस्ता लथालिंग अवस्थामा रहेका पुलको संख्या दुई सयभन्दा बढी होलान्। पुल मात्र होइन, लथालिंग रहेका निर्माणाधीन अन्य भौतिक संरचनाको संख्या हजारांै होलान्। यीमध्येका कैयौं योजनाको प्रारम्भ यो सरकारका पालामा नभएर पहिलेका सरकारका पालामा भएका होलान्। तर, दुईतिहाइको सरकार गठन भएपछि त्यस्ता आयोजनाको निरीक्षण गरी तत्सम्बन्धमा श्वेतपत्रसमेत जारी गर्न सकिन्थ्यो। त्यस्ता रुग्ण आयोजनाको कामलाई गति दिन कानुनको आडमा जस्तोसुकै कदम पनि चाल्न नसकिने अवस्था थिएन। यस्तो महत्त्वपूर्ण काममा समेत यो सरकार प्रभावहीन भएको रहेछ भन्ने प्रकाशित उक्त समाचारले पुष्टि गरिरहेको छ।
सोही दिन अर्को प्रमुख दैनिक पत्रिकामा प्रकाशित ‘भूमि कानुन जमिनदारका पक्षमा’ भन्ने समाचारको शीर्षकले नेपाल कम्युनिस्ट पार्टीको यो सरकार हो सामन्तवादको पक्षपोषण गरिरहेको छ भन्ने प्रमाणित हुन्छ।
सरकार बलियो भए पनि निकम्मा सावित भइसकेको छ। यसले संसद्मा भएको दुईतिहाइको शक्तिलाई पटकपटक दुरुपयोग गर्ने प्रयास गरेको छ। संसद्का सदस्य सार्वभौमसत्तासम्पन्न जनताको प्रतिनिधि भएजस्तो समेत देखिएका छैनन्। संसद्मा खुलेर जनताका पक्षमा छलफल गर्ने जाँगर यिनीहरूमा पटक्कै छैन। हाजिर गरेर भाग्ने कुसंस्कारले संसदीय छलफल कहिल्यै जीवन्त हुन सकेन। बनेको दुई वर्षमै संसद्रूपी कच्ची इँटाको गाह्रो भएको घरको बालुवाको जग भासिन थालिसकेको छ। यसलाई सबल बनाउने हो भने संसद्को आधारका रूपमा रहेको कच्ची घर (संविधान) को जग नफेरी हँुदैन। समयमै जग नफेर्ने हो भने घर कुनै पनि बेला धराशायी हुन सक्छ। त्यसैले कच्ची इँटाको जगको गाह्रो फेरी घरकै रेट्रोफिटिङ गर्ने कि कालान्तरमा आफू बसेको घर धराशायी हुँदा आफैं त्यसमा फस्ने भन्ने दुई विकल्पमध्ये कुनलाई छनोट गर्ने हो, नेतृत्वले बेलैमा विचार पुर्याउन आवश्यक छ।
किनकि, यथास्थितिमा न यो दुईतिहाइको सरकारले आफ्नो कार्यकाल पूरा गर्न सक्छ, न त यो संसद्ले संविधान नै जोगाउन सक्छ। यी दुई विकल्पमध्ये कुनै एकलाई छान्न नसक्ने हो भने यो देशमा सलहको हुलले एकैपटक सबै बाली सखाप गरे झैं नेपालीको गौरवमय पहिचानसमेत गुमाउनेछ।
टाढा बसेर मिहीन ढंगले राजनीतिको सूक्ष्म अध्ययन गर्दा दुई वर्षमै अहिलेको संविधानलाई धमिराले खाइसकेको प्रतीत हुन्छ। बालुवामाथि बनेको घरलाई कुनै पनि बेला आउन सक्ने मझौला किसिमको भूकम्पले भत्काइदिन सक्छ भन्ने मान्यताका साथ त्यस्तो धरापमा परेको घरलाई आफ्नै बलबुता र शक्तिले जोगाउने कि उक्त घर भत्काउन पहिलेजस्तै अब पनि बाह्य शक्तिसँग फेरि मुख ताक्ने ?
नेपालमा केही समय अघिदेखि बनाउन सुरु गरिएका बाटो, पुलजस्ता भौतिक संरचना निर्माणका काम कम गुणस्तरको हुने गरेको छ। कतिपय ठेकेदारले बनाएका पुलको जग निर्धारित गहिराइसम्म खन्दै नखनी माथिबाटै जग उठाएका कारण निर्माणको काम नै स्थगित गर्नुपरेका समाचार प्रायजसो आइरहन्छन्। कतिपय अवस्थामा मापदण्डविपरीत बनाइएका त्यस्ता पुल भत्काई निर्धारित मापदण्डबमोजिम बनाउन लगाउने निर्णय गरेको समाचार पनि आउने गरेको छ। प्रारम्भदेखि हुनुपर्ने निगरानी किन र कसको दबाब वा प्रभावमा गरिएन र समय भड्केपछि मात्र निगरानी वा निरीक्षणमा सरकार किन क्रियाशील हुँदै छ ? सत्ताको स्वादमा रमाउनेहरूकै स्वार्थका कारण यी सब काम भइरहेका हुन्छन् भन्ने जगजाहेर छ। प्रायः सबै दलले बदनाम ठेकेदार, दुई नम्बरी स्वनामधन्य व्यापारी, राजनीतिक कार्यकर्ताको आवरणमा पहिचान बनाएका बिचौलियाजस्ता व्यक्तिलाई राजनीतिमा प्रोत्साहित गरेर जनप्रतिनिधि बनाएकै कारण अहिले भ्रष्टाचार वृद्धिको रफ्तार व्यापक बढ्दै गएको हो।
राजनीति र भ्रष्टाचार एकअर्काको परिपूरकका रूपमा स्थापित गराइएको, राष्ट्र धर्मलाई विदेशीको प्रभावमा पारी पाखा लगाइएकै कारण नेपालको राजनीतिबाट नैतिकता र सद्विचार लोप भएर गएको हो। अहिलेको संविधान, राजनीतिक दलका केही नेता, मौजुदा निर्वाचन प्रणाली, धर्मनिरपेक्षता र संघीयताका कारण असफलताको भिरालोतर्फ चिप्लिन थालेको हो। राजनीतिबाट धर्मलाई वञ्चित गरिएकै कारण मुलुकमा चरित्रहीनका हातमा पार्टी वा मुलुकको सत्ता पुगेको छ। जनता, राजनीतिज्ञले गरेको दुष्कर्मका कारण त्राहिमाम हुन थालेका छन् भन्ने विगत १२/१३ वर्षको अनुभवले प्रमाणित गरिसकेको छ।
राजनीतिक हैसियतमा रहेर निर्णय गर्ने व्यक्ति, तिनलाई सहयोग गर्ने कर्मचारी, नेता र ठेकेदारका बीच रहेर सेतुका रूपमा दलाली गर्ने बिचौलिया र नेता सन्निकट ठेकेदारले बनाएका यस्ता भौतिक संरचनाको गति र अवस्था अहिले जस्तो छ, नेपालको संविधान निर्माणको इतिहास र कार्यान्वयनको स्थिति पनि त्यस्तै छ। संविधान र कानुनको आडमा गरिने कुनै पनि निर्णय पारदर्शी छैनन्, दूषित हुने गर्छन्। नेपाली मौलिकता पन्छाएर जनआन्दोलनको मुख्य जनादेशविपरीत विदेशीको साथ र सहयोगमा जारी गरिएको संविधान यति छिटै असफलताको बाटोतर्फ धकेलिन पुगेको हो भन्नेबारेमा अब धेरै घोत्लिन आवश्यक छैन।
नेपाली राजनीतिक वृत्तमा देखिएको घोर चरित्रहीन प्रवृत्तिका कारण मुलुक अन्तर्राष्ट्रिय द्वन्द्वमा फसिरहेको छ। नेपालको पहिचान जोगाउनेभन्दा पनि आफ्नो हैसियत जोगाउने र बढाउने तात्पर्यले ल्याइएको संविधानबाट नेपाली पहिचान गुमेको हुँदा संविधानमा नेपालको पहिचान सुनिश्चित गर्ने अभियानमा नेपाली जनता जुट्नुको विकल्प छैन।