थुक पनि ननिलेर ३६ घण्टा ब्रत
जनकपुरधाम : सुन्दै अचम्म लाग्ने ब्रत हो, जितीया। यसमा आमाहरूले थुक पनि ननिलेर ३६ घण्टासम्म बिताउँछन्। थुकसम्म निल्न नहुने भएपछि अन्न, फलफूल र पानीको त संभावना नै भएन। निराहार बसेर उनीहरू मिथिलाञ्चलमा जितीया ब्रत लिइरहेका छन्।
छोराछोरीको दिर्घायुका लागि गरिने कठिन ब्रत जितीया शुक्रबारदेखि विधिवत रूपमा सुरु भएको हो। यस वर्ष शनिबारदेखि सुरु भई यो ब्रत आइतबार दिउँसो ३ बजेसम्म चल्नेछ। तिथिको हेरफेरका कारण ब्रतको समय लम्बिएको हो। आश्विन कृष्ण सप्तमीका दिन ब्रतालुले स्नान गरी चोखो हुने र अष्टमी तिथिको आरम्भसँगै उपवास थालेका हुन्। नवमी तिथिको आगमन भएपछि पूजापाठ गरेर यो पर्व समापन गरिन्छ।
सप्तमी तिथिको उत्तराद्र्धमा ब्रतालु महिलाले ओङ्गठन गरे। ब्रत बस्नुअघि रात्रिको समयमा दही, च्यूरा, मिठाइलगायतका सामग्री भोजन ग्रहण गरिन्छ। त्यसलाई ‘ओङ्गठन’ भनिएको हो। ओङ्गठनको समयमा परिवारका सम्पूर्ण सदस्यले भोजन गर्ने चलन छ। ओङ्गठनको सन्दर्भमा रहेको एउटा उखान मिथिलामा प्रसिद्ध छ, ‘जितीया पावैन बड भारी, धियापुताके ठोकी सुतेलौ अपने खेलौ भरी थारी’।
सन्तानलाई अकाल मृत्युबाट जोगाउन र दीघार्युका लागि माता जिर्मूतवाहन देउताको कठोर उपवास गर्ने चलन यो पर्वमा छ। भविष्य पुराणमा अराध्यदेव महादेवसमक्ष पार्वतीले यस्तो कुन ब्रत वा तपस्या गर्दा सन्तानको अकाल मृत्यु हुँदैन भनी राखेको जिज्ञासामा महादेवले जिर्मूतवाहनको नियम निष्ठाका साथ ब्रत बसेको खण्डमा सन्तानको अकाल मृत्यु नहुने भनी बताएको सन्दर्भ छ। यसका लागि कुशको जिर्मूतवाहनको मूर्ति बनाएर कलशमा स्थापना गर्नुपर्छ।
त्यसपछि आफ्नै आँगनमा सानो पोखरीको आकृति निर्माण गरेर सोको डिलमा पाकरी रुखको हाँगा गाडेर सो हाँगामा चिल र स्यालनीको आकृति बनाएर विधिपूर्वक पूजा गरेको खण्डमा सन्तानको बिग्रेको ग्रहगोचर निको हुने र अकाल मृत्युबाट जोगिने भनेर महादेवले पार्वतीलाई सुनाएका थिए।
उक्त पुराणमा उल्लेख गरेअनुसार राजा शालिवानका पुत्र जिर्मूतवाहनमाथि महादेवको असीम कृपा थियो। महादेवले नै जिर्मूतवाहनलाई वरदान दिएकाले सन्तानको अकाल मृत्युबाट बचाउन जितीया पर्वमा जिर्मूतवाहनको पूजा गरिन्छ।
महादेवले नै जिर्मूतवाहनलाई वरदान दिएकाले सन्तानको अकाल मृत्युबाट बचाउन जितीया पर्वमा जिर्मूतवाहनको पूजा गरिन्छ।
हिन्दूधर्ममा विभिन्न जनावार र चराको विशेष महत्व दिएर पूजापाठ गर्ने परम्परा छ। गाई, परेवा, काग, कुकुर, हाँस, बाघ र मुसो लगायतको पूजा गरिन्छ भने यस पर्वमा स्यालनी र चिलको पूजा गर्ने गरिएको छ। ब्रत बसेको दिनमा ब्रतालु महिला जलाशयमा स्नान गरी सूर्यदेवलाई अघ्र्य अर्पण गर्छन्। त्यसपछि घर पुगेर डाली (टोकरी) भर्ने नियम छ। सो डालीमा फलपूmल, मिठाइ र नरिवल राखेर नयाँ बस्त्रले छोपेर पूजास्थलमा राख्ने गरिन्छ।
पर्व सम्पन्न भएपछि नवमी तिथिमा पूजापाठ गरेर छोराछोरीबाट कपडा हटाएर प्रसाद ग्रहण गरिन्छ। उपवासको दिन ब्रतालुका साथै महिला एक ठाउँमा भेला भएर जितीया पर्वको कथा अनिवार्य सुन्ने गरिन्छ। कथा सुनेर घर फर्केपछि आँगनमा गाईको गोबरले लिपपोत गरी महादेवले पार्वतीलाई सुनाएको पूजाको विधिअनुरूप जिर्मूतवाहनको पूजा गर्छन्।