किन आर्थिक रूपान्तरण ?

किन आर्थिक रूपान्तरण ?

नेपालका सहरीकरण प्रक्रियालाई ‘प्रोसेस अफ बानेश्वराइजेसन’ बाट सुविधासम्पन्न सेवा केन्द्र र गाउँलाई पनि निर्जनताबाट आधुनिक सुविधा भएका उत्पादन क्षेत्र बनाउन रूपान्तरणको एजेण्डा चाहिएको हो


राष्ट्रले उपलब्ध अवसरलाई ठीकसँग उपयोग गर्न सकेन भने त्यो सधैंका लागि गुम्न पुग्छ। अवसर सूचना वा संकेत दिएर आउने गर्दैनन्, परिवेश र प्रवृत्तिको सही आकलन र विश्लेषण गरेरै अवसरको पहिचान र उपयोग गर्न सक्नुपर्छ। कसैले उपयोग गर्न नसकेको अवसर अर्कोले उपयोग गरिदिन्छ, अवसरले कसैलाई पर्खेर बस्दैन। अवसर आफैंमा प्रतिस्पर्धी विषय हो। तर, एउटा अवसरलाई सही उपयोग गर्न सकियो भने अरू अवसर ठम्याउन र उपयोग गर्न सजिलो पर्छ। अवसर समय भएकाले गतिशील हुन्छ, भनिन्छ।

अवसर टोकियोबाट ओसाकाका लागि छुटेको सिन्कानसेन (बुलेट ट्रेन) जस्तै हो। छुट्यो त छुट्यो छुट्यो। घण्टौं नकुरी अर्को आउँदैन। चढ्नेहरू अरू ट्रेनमा निकै अगाडि नै हुन्छन्। छुटेकाले पछिसम्म पछ्याइरहने हो। नेपाली अर्थतन्त्रले विगत दशकहरू बित्थामा गुमाउन पुग्यो र ती लस्ट डिकेड मात्र बन्न गए। मानिसको जीवनजस्तै राष्ट्रको जीवनमा पनि अवसर गुम्न दिनु हुँदैन। अवसर लिन नसक्नु जिम्मेवारीमा रहेका पुस्ताको अपराध हो। यो नैतिक अपराधबाट मुक्त हुन पनि विकास, समृद्धि र रूपान्तरणको द्रूत मार्ग औंल्याउन आवश्यक छ।

एसिया अहिले आर्थिक रूपान्तरणको प्रक्रियामा तीव्रत्तर छ। सन् २०५० सम्ममा विश्वको कूल गार्हस्थ्य उत्पादनमा एसियाको हिस्सा आधा हुने अनुमान छ भने हाम्रा छिमेकी मुलुक चीन तथा भारत विश्वका दोस्रो तथा तेस्रो अर्थतन्त्र बन्ने महत्त्वाकांक्षी योजनामा छन्। यी दुईबाहेक जापान, सिंगापुर तथा दक्षिण कोरियाजस्ता विकसित मुलुकहरू एवम् मलेसिया, इन्डोनेसिया तथा थाइल्यान्डजस्ता उदीयमान अर्थतन्त्रहरू उत्पादन तथा उत्पादकत्व सुधारमार्फत विश्व अर्थतन्त्रमा आफ्नो स्पेसका लागि कुदिरहेका छन्। एसियाका सात अर्थतन्त्र यस शताब्दीका आधाआधी नपुग्दै यस शताब्दीलाई ‘एसियाको शताब्दी’ बनाउन तीव्र छन्। र, लाग्छ, यही प्रवृत्ति रहिरहेमा यो शताब्दी आर्थिक–औद्योगिक हिसाबमा एसियाको हुनेछ।

नेपालको राष्ट्रिय जीवनमा यस्ता कैयन् अवसर आए, तर गति र प्रवृत्ति पक्डिन नसक्दा पर्याप्त सम्भावनाबीच हामी आवश्यकता र अभावमा बाँचिरहेका छौं। पञ्चायतकालीन समयमा पञ्चहरू परिवेशले ल्याएका अवसरको पक्डिनभन्दा राजाको परिक्रमा गरेर आफ्नै स्वार्थमा रमाए। विश्वका सबैजसो विकासोन्मुख मुलुकहरू विकासको नयाँ ढाँचा आविष्कार गर्न केन्द्रित रहँदा पञ्चायती नेतृत्वले राष्ट्रिय जीवनको ३० वर्ष ख्यालख्यालमा गुमायो। समकालीन चीनका देङ, कोरियाका पार्क, इजिप्टका सादात, इन्डोनेसियाका सुकार्नो र सिंगापुरका यु सबैले पञ्चायतजस्तै निर्देशित व्यवस्थामा सत्ता चलाए। लोकतन्त्रका अवसर उनीहरूले पक्डिन नसके पनि विकासका अवसर भने कसिलो गरी पक्डिए। लोकतन्त्र र विकासमा कुन पहिला भन्नेमा विकासको मूल्य बढी देखे। सायद विकासको आधारशिलापछि लोकतन्त्र र मानवअधिकारलाई मजबुत बनाउन सकिन्छ भन्ने निष्कर्ष उनीहरूमा थियो। कतिपय अनुदार नेताहरू अनुदारताको क्षतिपूर्ति विकासमार्फत दिने गर्छन्।

राजा र पञ्चले प्रजातन्त्र खोसे पनि देशलाई आर्थिक रूपमा समृद्ध बनाउने अवसर पाएका थिए। तर, समयप्रति संवेदनशीलता देखाउन नसक्दा उनीहरूको समय राजतन्त्र र पञ्चायत संस्थागत गराउन बित्यो। आधुनिक नेपालको जग हाल्ने तीन दशकको समय बित्थामा खेर गयो। त्यो गुमेको अवसरका कारण समयले त्यतिबेलाको नेतृत्वलाई निर्मम वैता लगाइदियो। इतिहासमा उनीहरू सुरक्षित र सम्मानित रहेनन्। राष्ट्रिय अवसर गुमाउनेलाई इतिहासले दण्डित गरेको कैयन् उदाहरण छन्।

पञ्चायत आएपछि जन्मेका बालक चालीसको दशकमा जँुगामुठे बनिसक्दा पनि आशालाग्दो भविष्य नदेखेपछि सुरक्षित भविष्यको खोजीमा आन्दोलित बन्यो। पञ्चायत गयो र लोकतान्त्रिक र वामपन्थी शक्तिलाई तीनै युवाहरूको भविष्य सुरक्षित बनाउने अख्तियारी सुम्पियो। युगले तत्कालीन अवस्थामा त्यो अवसरलाई दोहन गर्न लोकतान्त्रिक शक्तिलाई नेतृत्व र वामशक्तिलाई पहरेदारीको जिम्मा दियो, ताकि ‘राजा–पञ्च–भारदार’ बीचको स्वार्थको नेक्ससजस्तै अर्को नेक्सस फेरि नबनोस्। ऐतिहासिक जिम्मेवारी पूरा गर्न बनेको गिरिजाप्रसाद कोइरालाले पहिलो पुस्ताको सुधार अभियान पनि थाल्यो, जसले थुप्रै उपलब्धि पनि दियो। गैरराज्य क्षेत्रको सम्भावना, सीप र क्षमताको उपयोग गरी राष्ट्रिय अर्थतन्त्र निर्माणको थालनी भयो। बाह्य र आन्तरिक लगानीमार्फत सेवा र उद्योग क्षेत्रले आशालाग्दो स्थिति देखायो। तर मुलुक पुनः राजनीतिक खिचातानीमा फस्यो। पुँजी र प्रविधि हच्किन–दच्किन थाल्योे। परिणामतः लोकतन्त्र प्राप्तिपछिका दशकहरू पनि हाम्रा लागि गुमेको अवसर नै भए।

आर्थिक विकास प्राकृतिक स्रोत, मानव साधन, पुँजी र प्रविधिको अन्तरक्रियाको नतिजा हो। पुँजी स्थिरतामा रमाउँछ, प्रविधि प्रतिस्पर्धामा अग्रसर हुन्छ र श्रम क्षणमै नाश हुने र संवेदनशील स्वभावको हुन्छ। द्वन्द्व, अस्थिरता र अविश्वासले पुँजी, प्रविधि र श्रमको अभ्यास हुन सकेन। पर्याप्त सम्भावनाबीच जलविद्युत्, उद्योग र पर्यटनलगायतका सेवा क्षेत्रको उपयोग गरी राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न सकिएन। मुलुकले राजनीतिक आन्दोलन र द्वन्द्व गर्न जति सिक्योे; विकास, अर्थतन्त्र निर्माण र सम्भावना उपयोगमा त्यति नै चुक्यो। एक दलले अर्कोलाई, एक व्यक्तिले अर्कोमाथि आलोचना र आरोपमा खर्चिंदा भविष्य निर्माणको अवसर भने गुम्दै गयो। अरुण बनेन, बरु नबनाउन देशव्यापी आन्दोलन नै भयो। अरुण बनाउन पो आन्दोलन हुनुपथ्र्यो। अन्य ठूला आयोजनामा पनि प्राविधिक होइन, सस्तो र क्षणिक तौरले विश्लेषण गरियो। कुनै पनि कुरामा गहिरो विश्लेषणबिना रौसिने, हौसिने र बतासिने अनि समय बितेपछि तड्पिने, प्रताडिने र प्रायश्चित गर्ने बानी नेपालीमा बसिसकेको छ। निराशा धेरै दिनसम्म रहन दिनु हुन्न, समाज विग्रहतिर जाने खतरा बढ्छ। यसर्थ समग्र रूपान्तरण अहिलेको आवश्यकता हो।

अरू धेरै कारणले नेपाली समाज समग्र रूपान्तरणको पर्खाइमा छ। लोकतन्त्र स्थापना भयो, लोकतन्त्रका अवसर वितरण हुन सकेका छैनन्। सर्वसाधारण डिमान्डिङ छन्, माग र अपेक्षा चुलिँदो छ। लोकतान्त्रिक संस्थाहरूको क्रियाशील सक्रियता, जनस्तरमा आर्थिक संरचनाहरूको निर्माण र तिनीहरूलाई जनताका दैनिकीसँग आबद्ध गर्न नसकिएमा निराशा कुण्ठाले स्थान पाउने छ। आशाको दियो जगाउन पनि रूपान्तरण चाहिएको छ।

नेपाली समाज सहरोन्मुख बन्दै गएको छ। नेपालीहरू सहरवासी बन्न आतुर छन्। तर सहरहरू सुविधाका केन्द्र बनिसकेका छैनन्। गाउँमा उत्पादन सम्भावना र स्रोत छ, सहर उपभोगको केन्द्र हो। गाउँ र सहरबीच द्वैधताको स्थिति छ। गाउँ र सहरलाई अन्तरआबद्धतामा व्यवस्थित गरी परिपूरक सम्बन्ध स्थापना गर्न नसके सहरहरू असुरक्षित बस्तीको भीड र गाउँहरू निर्जन खण्डहर बन्नेछन्। नेपालको सहरीकरण प्रक्रियालाई ‘प्रोसेस अफ बानेश्वराइजेसन’ बाट सुविधासम्पन्न सेवा केन्द्र र गाउँलाई पनि निर्जनताबाट आधुनिक सुविधा भएका उत्पादन क्षेत्र बनाउन रूपान्तरणको एजेण्डा चाहिएको हो।

नेपाली मन लिएर ६० लाख परिश्रमी हातहरू विश्वका कुनाकन्दरामा पसिना बगाइरहेका छन् र नेपालको समृद्धिका लागि सद्भावना दूत बनेर कर्म गरिरहेका छन्। यी नेपाली डायस्पोरा अब हाम्रै विकासमा परिचालन गर्न जरुरी छ।

युवाहरू आकांक्षी बन्दै छन्। प्रविधि र परि श्रममा औधि रमाउने आदत उनीहरूमा छ। युवा उत्कण्ठा र उन्मेदले नै आविष्कार र अग्रगमनलाई पनि सहज पार्ने गरेको छ। प्रविधि अभ्यस्त युवाहरू प्रत्येक वर्ष नयाँ पुस्ताका रूपमा बदलिँदै गएका छन्। यो पुस्तान्तरण प्रक्रियालाई प्रविधिले औधि सघाएको छ। उसले पढ्ने, बोल्ने, मनोरञ्जन गर्ने, मेहनत गर्ने, व्यवहार शैली सबै बदलिएको छ। लबाई खवाई, रहनसहन र आशा–अपेक्षा फेरिएका छन्। ऊ समूहबाट व्यक्तिकेन्द्रित बन्दै छ। मानिसलाई आवश्यकता र अवसरले पनि आफू केन्द्रित हुन सिकाएको हो। तर निकै डरलाग्दो कुरा युवा समुदाय आफ्नो सुरक्षित भविष्य आफ्नै मुलुकमा देख्न छाडेको छ। युवाहरू सम्भावना, उत्साह र जोखिम मोल्ने जुझारुहरूको समूह हो, उपयोग गर्न नसके कुण्ठा, विद्रोह र विसर्जन पनि उसभित्रै लुकेको छ। रूपान्तरणका एजेण्डा यसकारण पनि ओजनदार छ।

संविधान निर्माणपछि मुलुक समृद्धिको यात्रामा छ। संविधानको अभीष्ट आर्थिक समृद्धि र सामाजिक रूपान्तरण हो। यो नै अनन्त समयसम्म राज्य प्रणालीलाई निर्देश गर्ने एजेण्डा हो। विकास र समृद्धिको यात्रा कसरी सुरु गर्ने र तीव्रता दिने भन्ने प्रतिस्पर्धामा राजनीतिक नेतृत्व छ। राजनेताका चाख र चाहना समृद्धितर्फ धकेलिएका छन्। परिवेशले ल्याएका थेग्नै नसक्ने चुनौती र दबाब सामनाका लागि पनि अब आर्थिक समृद्धि र सामाजिक रूपान्तरण जबर्जस्त एजेण्डा अपनाउनुको विकल्प छैन। यसर्थ रूपान्तरण बाध्यता र अभीष्ट दुवै हो नेपाली राजनीतिका लागि। राज्यको भूमिकामाथि बहस भइरहेको छ। शासकीय वैधता पुष्टिका लागि पनि अभाव, आवश्यकता, उत्पीडन, वञ्चितीबाट सामाजिक न्यायसहितको विकास यात्रा चाहिएको छ।

छिमेकीहरू बाघ अर्थतन्त्र बनिसके। सन् २०१३ मा बजेट प्रस्तुत गर्दा भारतका तत्कालीन वित्तमन्त्री पी चिदाम्बरम्ले तीन दशकभित्र भारत विश्वको तेस्रो अर्थतन्त्र बनाउने सपनासहितको रणनीतिलाई मोदीको नेतृत्वले निकै आक्रामक बनाएको छ। सन् १९७८ मा देङले आर्थिक उदारीकरणको नीति लिएपछि चीन लगातारको दोहोरो आर्थिक वृद्धिपछि विश्वको दोस्रो अर्थतन्त्र बन्ने यात्रा पूरा ग¥यो। उदीयमान छिमेकी अर्थतन्त्रको फाइदा लिने अवसर पनि नेपाली अर्थतन्त्रसँगै छ। उनीहरूले छाडेको ‘स्पेस’ मात्र पूरा गर्न सके मलेसिया र इन्डोनेसियाबीचको सिंगापुरको स्थानमा नेपाल पुग्ने सम्भावना छ। औद्योगिक विकासका लागि ‘लेबर र लोकेसन’ पनि नेपालकै पक्षमा छन्। यी सम्भावनामा खिया लाग्न दिनुभएको छैन।

अहिले पनि मुलुकसँग आर्थिक विकासका थुप्रै सम्भावना छन्। सबैजसो मुलुकले प्राकृतिक स्रोतको अन्धाधुन्ध प्रयोग गरिसक्दा पनि हामीसँग भएका जलस्रोत, वन, भूमि र खानी भर्जिन छन्। जलविद्युत्को उपयोग गर्न सकिएमा नेपाल यस क्षेत्रकै रणनीतिक महत्त्वमा देखिने छ। सुशील कोइरालाको प्रधानमन्त्रीत्वमा भएका पीडीए र पीटीएले आशाको संकेत गरेको थियो। तर ढिला गरे छिमेकीहरू अर्को विकल्पतिर जानेछन्। सन् २०२० पछि जलविद्युत्भन्दा सौर्य ऊर्जा सस्तो बन्ने सम्भावना छ। त्यसो भएमा हाम्रा सम्भावना र स्रोतबाट फेरि पनि हामी ठगिने छौं।

विकास साझेदारका सहयोगी हातहरू पनि हाम्रा साथ छन्, तर हाम्रा प्राथमिकता र प्रणालीमा समेट्ने चुनौती हामीसँग छ। नेपाली मन लिएर ६० लाख परि श्रमी हातहरू विश्वका कुनाकन्दरामा पसिना बगाइरहेका छन् र नेपालको समृद्धिका लागि सद्भावना दूत बनेर कर्म गरिरहेका छन्। यी नेपाली डायस्पोरा हाम्रै विकासमा परिचालन गर्न सकिने सम्भावना छ। तर फेरि पनि भुल्नु हुन्न– विकासको सूत्र सजिलो हुन्छ, तर अनुशासनचाहिँ गाह्रो। त्यसैले रूपान्तरणको कठिन यात्रा तय गर्नुको हाम्रो विकल्प छैन।

रूपान्तरणको अभियान यसकारण कठिन यत्रा हो कि यसले विद्यमान सांगठनिक ढाँचा, उत्पादन संगठन, वितरण विधि, निर्णय विधान र कार्यसम्पादन शैलीमा आमूल परिवर्तनको माग गर्छ, आन्तरिक क्षमता निर्माणमार्फत उत्पादकत्व बढाउने माग गर्छ। यसले आर्थिक–सामाजिक व्यवस्थालाई उल्लेख्य परिवर्तन गरी निर्दिष्ट गन्तव्यमा पु¥याउँछ। यो ससानो प्रयास, सानातिना कार्यप्रक्रिया, मौजुदा सांगठनिक विधि र सीमान्त वृद्धि लक्ष्यभन्दा माथि उठेर परिवर्तनको राष्ट्रिय अभीष्ट सम्भव गराउँछ। जसको तीव्र पखाईमा मुलुक छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.