समाज, सदाचार र जीवन
तिमीले सम्पत्ति गुमायौ भने खास केही गुम्दैन, स्वास्थ्य गुमायौ भने केही गुम्छ तर सदाचार गुमायौ भने सबैथोक गुम्छ। सम्पत्ति कमाउन सकिन्छ, स्वास्थ्योपचार गर्न सकिन्छ तर गएको आचरण कमाउन पनि सकिन्न। दूराचारले कारक मात्र प्रताडित हुँदैन, समाजलाई नै बिगार्छ। गीतामा भगवान् श्रीकृष्णले शास्त्र (नीति), कर्म (काम) र धर्म (आचरण) बाट मानव जीवनले सिद्धि प्राप्त गर्छ भनेका थिए। मानव समाज नीति, कर्म र आचरणबाट चल्ने हो।
सदाचार व्यक्तिको विवेक वा अन्तरात्मामा छिपेर रहने त्यस्तो शक्ति हो, जसले व्यक्तिलाई गलत काम नगर्न सचेत गराउँछ। सदाचारी मानिस अन्तरात्माको यही आवाजका कारण स्वार्थ, लोभ, लालसा, आग्रहजस्ता कमजोरीसँग सम्झौता गर्दैनन्। स्वार्थ, लोभ, लालसा, आसक्ति, आग्रह आदिलाई दबाउने सामथ्र्य वा अन्तरमूल्य नै सदाचारको जग हो। कसैले के भन्छ भन्दा पनि के गर्छ र उसप्रति के भनिन्छ भन्ने पक्ष महत्तम हुन्छ सदाचार संस्कृतिमा। कहिलेकाहीं सत्य र उचित कामका लागि परिवेश, समुदाय, समूहमा व्यक्ति एक्लै उभिने साहसमा रहन सक्नुपर्छ। किनकि, सदाचार सत्चरित्र हो, सत्चरित्रभन्दा दुष्चरित्रको फैलावट र क्षणिक शक्ति बढी देखिन्छ। सदाचारको संस्कृति नबसेकोको समाजमा पद, पैसा, प्रतिष्ठा र प्रेमको लोभमा व्यक्ति दुराचारी बन्ने गर्छ र सदाचार छायामा पर्छ।
महात्मा गान्धीले परि श्रमविनाको धन र चरित्रविनाको ज्ञानलाई पाप मानेका छन्। अनुशासन र इमानदारीको सीमा लालसा, लोभ र आग्रहले भत्काउँछ, यसको विपरीत इमानदारी, अनुशासनलाई सदाचारले ऊर्जा दिन्छ। असल बुझाइ, असल विचार र असल कार्यले नै असल चाहना प्राप्ति हुन्छ। यो नै समाजको विवेकशील पुनर्निर्माणको प्रक्रिया हो, मानव सभ्यताको इँटा यसैबाट थपिँदै जान्छ। वैयक्तिक स्वार्थ र लोभलाई सामूहिक फाइदामा समर्पण गर्ने शक्ति नै यही असल मानसिकता र असल आचरण हो, त्यो नै सदाचार हो। सार्वजनिक जीवनमा सदाचारको अपेक्षा औधि हुन्छ र जिम्मेवारीमा रहनेहरूबाटै सदाचारको अपेक्षा गरिन्छ। विद्वान् पिटर ड्रकरले भनेका छन्, ‘व्यवस्थापनले राम्रो गर्ने हो, नेतृत्वले असल कार्य मात्र गर्ने हो।’ मानिसहरू ठूलाले के भने भनेर वास्ता गर्दैनन्, केचाहिँ गरे भनेर सम्झिरहन्छन्। महान् व्यक्ति र असल समाज भनेर होइन, गरेर महान् वा असल बन्ने हो। महानता चाहेर पाइन्न, कर्म र समर्पणले निर्माण गर्छ।
बोली र व्यवहार, मूल्य र सिद्धान्तसँग मेल खाए मात्र सदाचारिता भेटिन्छ। अर्थात् सार्वजनिक जीवनमा रहनेहरू सर्वसाधारणका हित विमुख रहन सक्तैनन्। यसभन्दा बढी सदाचारको अर्थ बा बुझाइ रहँदैन। दूराचार सत्य (मूल्य) बाट टाढा रहन्छ। दूराचार गराइबाट मात्र होइन, सोचाइ, बुझाइ, हेराइ र देखाइमा पनि हुने गर्छ। कसैलाई ‘इमोसनल इन्जुरी’ पार्नु पनि बेइमानी हो। विश्वासिलो, नैतिक सदाचारी बन्नु नैतिक संस्थाको कर्तव्य हो, नैतिक संस्था नैतिक पात्रहरूको कर्तव्यको परिणाम हो। तर समाजमा सदाचारभन्दा दूराचारको संस्कृति छिटो निर्माण हुन्छ, विस्तार छिटो हुन्छ। दूराचार संस्कृति संस्थागत भएको समाजमा सदचार निर्माण गर्न धर्मयुद्ध नै गर्नुपर्छ।
समाज व्यक्तिवादी सोचको हावी छ। व्यक्ति सेवा, श्रम, सीप, साधना र सत्कर्ममा भन्दा क्षणिक स्वार्थ र लालसमा दौडिइरहेको छ। प्रत्येक जिम्मेवारीलाई अवसरका रूपमा लिने प्रवृत्ति मौलाएको छ। अवसरका उछिनापछिनमा रिस, राग र द्वेष हुर्किएको छ। प्रत्येक पेसामा व्यावसायिक मूल्य होइन, प्रतिस्पर्धा र उछिनापछिन छ। प्रत्येक पेसामा पेसागत व्यावसायिकताका लागि प्रतिस्पर्धा हुन सके मात्र पेसा अब्बल हुन्छ, जिम्मेवारी निखारिन्छ र संस्थाहरू नैतिक बन्छन्। व्यावसायिक धर्म नभित्रिएको प्रतिस्पर्धाले कला, राजनीति, सार्वजनिक सेवा, समाज सेवा र अरू विधा सबै मूल्यबाट पर पुग्दैछन्।
प्रशासनिक सौदाबाजीले लोभको माखेसांग्लो नै गुथ्न सक्छ। लोभले पाप जन्माउँछ। यसर्थ संस्थाहरू आदर्श बनाउन लोभलालसा त्याग्न सक्ने शक्ति जरुरी छ।
सामाजिक प्रणालीको पहिलो तत्व व्यक्ति हो। व्यक्ति असल नभए परिवार असल बन्दैन। सत्कर्मी आमाबुवाबाटै सत्कर्मी सन्तानको निर्माण हुन्छ। परिवार सबैभन्दा शक्तिशाली सामाजिक संगठन हो। परिवारले व्यक्तिलाई दिएको शिक्षा, सामाजिकता, संस्कार र सिकाएका कुराबाटै समुदाय, समाज र संगठन समृद्ध बन्ने हो। सदाचार, अहिंसा, माया, संस्कार, व्यवहार सबै नै परिवारको पाठशालाबाट सिकिने विषय हुन्। व्यक्तिवादी सोच, स्वार्थ, आग्रह, ईर्ष्या, द्वेषजस्ता कुलतको हावी हुँदा समाजमा मानवीय मूल्य, असल सोच, सत्कर्म किनारा पर्छ। क्षणिक उपलब्धि र प्राप्तिका लागि आत्मिकता र शाश्वत पक्षलाई पाखामा पारिन्छ। जब व्यक्ति आत्मिक चेतबाट च्युत हुन्छ, पाप-धर्म, नैतिक-अनैतिक, उचित-अनुचित परिगेल्नेतर्फ लाग्दैन, फगत आफू केन्द्रित हुन्छ। मूल्य र मानकहरू भत्काउन थाल्छ।
उसका व्यवहार आफ्नै सुखसयलका लागि हुने गर्छन्। त्यसको प्रभाव समाज, समुदाय हँुदै सार्वजनिक संगठनसम्म फैलिन पुग्छ र प्रणालीहीन अवस्था सिर्जना हुन्छ। नकारात्मकताको हावी हुन्छ। प्रावधान मात्र हुने तर प्रणाली नहुने, जिम्मेवारी तोकिने तर अकर्मण्यता देखिने, क्षमता हुने तर उपयोग नहुने, संगठन हुने तर संस्थागत उदासीनता हुने, ज्ञान हुने तर आत्मिक चेतना नहुने स्थितिमा समाजले गुमाउने मात्र गर्छ। सर्वत्र मूल्य स्खलित भएपछि नीति, कानुन, दण्डविधानजस्ता औपचारिक पक्ष निर्वल हुन्छन् र समाजले विनिर्माणको माग गर्दछ, विवेकशील विनिर्माणको माग।
घरघरबाटै असल अभियान थाल्नुपर्छ। वैयक्तिक निर्णय वा व्यवहारलाई नैतिक मूल्य र मानकले प्रभाव पार्छ। व्यक्तिगत तहमा स्पष्ट आचार विधि निर्धारण भएपछि नै समाज र संस्था निर्माण गर्न सकिने हो। व्यक्ति खुला र इमानदार बन्ने हो, कुनै कुरा नलुकाउने र दृढ बन्ने हो, सदाचारी बन्ने हो। त्यसपछि व्यक्तिलाई नराम्रो सोच्न, गर्न र भन्न विवेकले इजाजत नै दिँदैन। सबै परिवेशमा व्यक्ति अनुशासित, आत्मसंयमी र इमानदार बन्छ। सकारात्मक बन्छ। मूल्य र आदर्शका अनुयायी नै सदाचारी हुन्। सदाचारीहरू भन्न होइन, गर्न रुचाउँछन्। वाहवाही र प्रचार कत्ति पनि रमाउँदैनन्। नोलान कमिसनले सार्वजनिक जीवनका सात सिद्धान्तहरूमा सदाचारलाई महत्वका साथ प्राथमिकतामा राखेको छ। उसले भनेको छ- सार्वजनिक पदाधिकारीले काम गर्दा वैयक्तिक लोभ, लालच र स्वार्थबाट अलग रहनुपर्छ। जसले व्यावसायिक जीवनमा यो मानक अपनाउन सक्दैन, उसले आफ्नो जिम्मेवारी र पदप्रति न्याय गर्दैन। सेवाग्राही र सर्वसाधारणको विश्वास जित्दैन। र अन्ततः आफ्नै विवेकप्रति पनि न्याय गर्दैन।
व्यक्तिलाई सदाचारबाट च्युत बनाउने कारकहरू छन्। लोभ नै त्यसको मूल जड हो, पैसाप्रतिको लोभ, पदप्रतिको लोभ, पावरप्रतिको लोभ र प्रेमप्रतिको लोभ। कानुनका छिद्र र तजविजी अधिकार प्रयोग गरेर ओहोदाधारीहरू लोभ पूरा गर्छन्। सार्वजनिक साधन र सम्पत्तिमाथि लोभ गर्न पुग्छन्। नाता र आफन्तको प्रभावमा परेर उनीहरूको लोभ पूरा गर्न पुग्छन्। प्रशासनिक जानकारी र सूचनाको चुहावट गरी संस्थालाई हानि गरी आफ्ना र आफन्तका लोभ पूरा गर्छन्। निष्पक्ष काम गर्नुपर्ने जिम्मेवारीका व्यक्तिहरू विचार, आस्था र आग्रहमा विभाजित भएर लोभ पूरा गर्छन्। निष्पक्षता नैतिकता पनि हो संस्थाको। त्यो नै भुलेपछि न्याय निष्पादन नै हँुदैन। कर्मनै निष्ठा र आचरण हो भन्नुपर्ने कर्मचारी अतिवृत्तिवादी प्रवृत्तिमा लिप्त भई वृत्ति लोभमा रमाउन पुग्छन्। प्रशासनिक सौदाबाजीले लोभको माखेसांग्लो नै गुथ्न सक्छ। लोभले पाप जन्माउँछ। यसर्थ संस्थाहरू आदर्श बनाउन लोभलालसा त्याग्न सक्ने शक्ति जरुरी छ।
सत्य, विवेक, कर्तव्य, स्वयं उत्साह, दृढताजस्ता सद्गुण भित्याउन नागरिक शिक्षा र सामाजिक अभिमुखीकरण नै आवश्यक भइसक्यो। सामाजिक भावनाप्रति समर्पित, सार्वजनिक भावनाप्रति समर्पित, राष्ट्रिय भावनाप्रति समर्पित संस्कृति निर्माण गर्न सामाजिक अभियान नै चाहिन्छ। प्रत्येक व्यक्तिको डीएनए नै परिवर्तन गर्न जरुरी छ। परिवार, विद्यालय, समुदाय जतासुकै मानव मूल्य, दर्शन, परम्परा र संस्कृति, नैतिक आचरणको अभियान नै चाल्नुपर्छ। यो काम आफूबाट थाल्ने प्रण गरे मात्र पनि मानव सभ्यताका लागि ठूलो योगदान हुन पुग्छ। अनि मात्र कर्ममा विश्वास गर्ने समाज, ज्ञान सीप र क्षमताको अति उत्तम उपयोग गर्ने कर्मचारी, नीति नेतृत्व दिने नेता, श्रम साधनामा आर्जन गर्ने व्यवसायी पाइन सकिन्छ। त्यसपछि गल्ती अरूको मात्र देख्ने होइन, आफंैबाट सुधार सुरु गर्ने संस्कृति निर्माण गर्न सकिन्छ।