६० मुसहर परिवारलाई एउटा चापाकल
जनकपुरधाम : महोत्तरीको बलवा नगरपालिका—१० धमौराको मुसहरी टोल ६० घरपरिवार छन्। बस्तीमा लहरै मुसहर समुदायको बसोबास छ। तर उनीहरुलाई न बस्ने घर छ, न प्यास मेटाउने पर्याप्त चापाकल नै। तीन सय मुसहर एउटै चापाकलमा लाम लागेर पानी भर्न बाध्य छन्।
मुसहर बस्तीका ६० वर्षीय मुखिया राजेन्द्र सदाले भने, ‘म जन्मेदेखि हेर्दै आएको छु, गाउँमा पानी पिउने एउटा मात्रै चापाकल छ।’ त्यही पनि बिग्रीयो भने खोनपानीका लागि अर्को गाउँमा पुग्नुपर्छ। पिउने तथा नुहाउने पानीका लागि घण्टौं कुनुपर्ने समस्या रहेको मुखिया सदाको भनाइ छ।
मुसहर बस्तीका स्थानीय कहिल्यै नून–भात त कहिले रोटीसँग चोख्खा बनाएर छाक टार्दै आएका छन्। गरिबीले थलिएको यो बस्तीको विकासका नगरपालिकाले कुनै योजना बनाएको छैन। ‘६० घरपरिवारमा एउटा चापाकल छ, बिहान तीन बजेदेखि खानेपानी भर्ने, नुहाउने र वस्तुभाउलाई पानी खुवाउन लाइन लाग्छ’ मोहन सदाले भने, ‘चुनावका बेला खानेपानी पु¥याउने आश देखाउँदै भोट लिए, अहिले फर्केर गाउँसम्म पनि आउँदैनन्। कमसेकम पाँचवटासम्म चापाकल बनाए पनि हामीलाई राहत हुन्थ्यो।’
बस्तीका अधिकांश मुसहर विभिन्न रोगले ग्रसित छन्। ‘खानेपानीकै अभाव छ, सरसफाइका लागि पानी जुटाउन मुस्किलै पर्छ’ मरनीदेवस्ी सदायले भनिन्, ‘चापाकलमा पुरुषहरु नुहाउन आउँछन्, हामीले त्यहाँ नुहाउन सक्दैनौं।’ घरैघर खाँदिएका बस्तीभरी अधिकांश बालबालिका कुपोषित छन्।
आर्थिक अभावले बालबच्चाले पुरा शरिर ढाक्ने कपडासमेत पाउँदैनन्। ‘कहिले नुन–भात त कहिले माछा र आलुको चोख्खासँग छाक टार्छौ’ अर्की महिला शिवो सदायले भनिन्। जग्गा जमिन नहुँदा दिनभर काम गरी कमाएको रकमले दुईछाक टार्न पनि मुस्किल हुने विष्णु सदाय बताउँछन्। उनी भन्छन्, ‘आर्थिक अभावले साबुनले नुहाएको र कपडा धोएको महिना बितिसक्यो, राम्रो परिकार खाने कुरा त परै जाओस्।’
महोत्तरीमा करिब एक सय ४४ टोलमा ५० हजार जनसंख्या मुसहरको नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रिय सदस्य पच्चु माझिले बताए। उनले भने, ‘प्राय सबैको अवस्था उस्तै छ, अरुकै खेतमा काम गरेर गुजारा चलाउँछन्। जिल्लाभरीमा एक÷दुई जनाले एसएलसीसम्म पढे पनि अरुले पढ्ने अवसर नपाउँदा रोजगारीका लागि विदेशतिर छन्।’